१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दशैंमा काठमाडौं भित्रिने बाहिरिने यात्रु घटे



काठमाडौं– कोभिड–१९ महामारीको त्रासका कारण यसपटकको दशैँमा उपत्यका भित्रिने र बाहिरिने यात्रु उल्लेख्य रुपमा घटेका छन् । विगतका वर्षमा उपत्यका छाड्ने र भित्रिने यात्रुको सङ्ख्या दशौँ लाख हुन्थ्यो । यसपाली भने त्यो संख्या घटेर केहि लाख हाराहारीमा सिमित भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल विगतका वर्षमा आवतजावतको तथ्याङ्क जोड(घटाउमा उपत्यका छाड्ने खुद व्यक्ति झण्डै १० देखि १२ लाखसम्म हुने गरेकोमा यो दशैंमा भने एक लाखको हाराहारीमा रहेको बताउनुहुन्छ । गत वर्ष कूल ३० लाखले उपत्यका छाडेका थिए भने १८ लाख भित्रिएका थिए ।

यसपाली दशैँमा भने तीन लाखले उपत्यका छाडे भने झण्डै दुई लाख भित्रिएका छन् । यसपाली दशैँको समय कात्तिक १३ गतेसम्मको विवरणमा ५१ हजार ५९४ सवारी साधान यात्रुबोकेर काठमाडौँ भित्रिएका छन् । काठमाडौँबाट भने ५८ हजार सवारी साधानमा झण्डै तीन लाख यात्रु बाहिरिए । यो विगत वर्षको भन्दा अत्यन्तै न्यून आवागमन हो । कोभिड–१९ को महामारीका कारण यसरी यात्रु आवागमनमा प्रत्यक्ष प्रभावित भएको ट्राफिक प्रहरीको भनाइ छ । दशैँ सकिएपछि पनि उपत्यका भित्रिने यात्रुको सङ्ख्या बढ्न सकेको छैन । यही १३ गते २४ हजार यात्रु भित्रिएका छन् भने २० हजार बाहिरिएको विवरणले पनि उक्त कुराको पुष्टि गर्छ ।

पछिल्लो समयमा उपत्यकामा कोरोना सङ्क्रमणको उच्च जोखिम छ । मुलुकभर देखिएको कूल सङ्क्रमितमध्ये आधाभन्दा बढी उपत्यकामा रहेकाले पनि मानिस राजधानी आउन डराइरहेका जनस्वास्थ्य विज्ञको भनाइ छ । यसपाली दशैंमा अन्य बर्षको भन्दा काठमाडौंमै पनि मानिसहरुको चहलपहल निकै कम देखिएको थियो । प्रहरी प्रवक्ता कुबेर कडायत यसपालीको दशैँको बेलामा सवारीसाधन र यात्रुको आवातजावत कम हुँदा ठूला दुर्घटनासमेत नभएको बताउनुहुन्छ । बजारमासमेत चहलपहल कम हुँदा आपाराधिक घटनामा समेत कमि देखिएको उहाँको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !