१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

दार्चुला, सिद्धटोपीमा ओम पर्वतदेखि तराईको चुरे पर्वतसम्म देखिने भ्यु टावर निर्माण



नयाँ नेपाल समाचार,

दार्चुला- दुहूँ गाउँपालिकामा रहेको सिद्धटोपीमा जिल्लाको अपी हिमाल देखि तराईको चुरे पर्वतसम्म देखिने भ्यु टावर निर्माण गरिएको छ । संघीय सरकारको ५० प्रतिशत र दुहूँ गाउँपालिकाको ५० प्रतिशत सम्पूरक अनुदानमा भ्यु टावर निर्माण गरिएको दुहूँ गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो ।

संघीय सरकार र स्थानीय सरकारको संयुक्त लगानीमा निर्माण गरिएको भ्यु टावरको लागत बढेको छ । सुरुमा करिब ४२ लाखमा ठेक्का मार्फत् निर्माणको टुंगो लागेपनि अहिले केही डिजाइन स्टिमेट थप गरिएकाले बजेट पनि बढेको गाउँपालिका अध्यक्ष कार्कीको भनाई छ । ‘४२ लाखमा ठेक्का मार्फत् गर्ने भनिएको हो, पछि हामीले केही डिजाइन स्टिमेट थप ग¥यौ, बजेट पनि थप हुन गयो’ अध्यक्ष कार्कीले भन्नु भयो । अध्यक्ष कार्कीका अनुसार ५÷७ लाख थप गरेर ४७÷४८ लाख भुक्तानी गरिनेछ । अन्तिम भुक्तानी गर्न बाँकी रहेको छ । भ्यु टावर निर्माणको जिम्मेवारी ठेकेदार जमन बडालले पाएका थिए । ४०÷४५ लाखमा पाँच तले भ्यु टावर निर्माण गर्नु चुनौती रहेको कामदारहरुले बताएका छन् । ‘४०÷४५ लाखमा भ्यु टावर गरिनु निकै चुनौती थियो, निकै टाढा रहेको सामग्री ढुवानीमा पनि निकै कठिनाइ थियो’ एक कामदारले भन्नु भयो ।

४३ लाख ९४ हजार लागतमा निर्माण गरिएको र थप भएको औपचारिक रुपमा जानकारी नआएको ठेकेदार जमन सिंह बडालले बताउनु भयो । गत वर्षको भाद्र महिनाको अन्तिमतिर अख्तियारी पाएको र हिमपातका कारण करिब दुई÷तीन महिना मात्रै काम भएको थियो । त्यसपश्चात् मंसिर महिनामा हिउँ परेकाले गत वर्ष काम गर्न नपाइएको ठेकेदार बडालको भनाई छ । यो वर्ष पनि जेठ २४ गतेसम्म हिउ रहेकाले त्यसपश्चात् मात्रै काम सुरु गरेर काम सम्पन्न गरिएको छ । जिल्ला सदरमुकाम खलंगाबाट ३६ किलोमिटर टाढा रहेको स्थानमा संरचना बनाउन निकै चुनौतीको विषय रहेको ठेकेदार बडालले बताउनु भयो ।

पासा दह अर्थात पार्वती कुण्ड र ब्रह्म दह भन्दा माथिल्लो क्षेत्र समुन्द्रि सतहबाट करिब चार हजार मिरटको उचाईमा रहेको सिद्धटोपीमा निर्मित भ्यु टावरबाट जिल्ला र जिल्ला बाहिरको सुन्दर दृश्यहरु अवलोकन गर्न सकिने छ । भ्यु टावरबाट जिल्लाको ओम पर्वत, अपी हिमाल, नाम्पा हिमाल, ब्याँस हिमालदेखि तराईको चुरे पर्वतसमेत देखिने गाउँपालिका अध्यक्ष कार्कीले बताउनु भयो । कात्र्तिक पहिलो हप्ता नै भ्यु टावरको निर्माण कार्य सम्पन्न भएको र गुणस्तरीय संरचना बनेको उहाँको भनाई छ ।

स्थानीयहरुलाई रोजगारी र आम्दानीको स्रोत बनाइने दुहूँ गाउँपालिकाले पर्यटकीय स्थलहरुको अवलोकन गर्न आउनेहरुको सुविधा प्रदान गरि स्थानीयलाई रोजगारी र आम्दानीकोे स्रोत बनाउने योजना लिएको छ । भ्यु टावर निर्माण गरेर मात्रै नहुने भएकाले यसलाई स्थानीय रोजगारी र आम्दानीसंग जोड्ने योजना अनुसार गाउँपालिकाले आगामी योजनाहरुको तयारी गरिरहेको गाउँपालिका अध्यक्ष पुलेन्द्र बहादुर कार्कीले बताउनु भयो । ‘अब हामीले भ्यु टावर त बनायौँ, यसलाई हामीले रोजगारी र आम्दानीसंग जोड्ने भन्ने हो’ अध्यक्ष कार्कीले भन्नु भयो ।

गाइडर देखि भरियाको व्यवस्थापन गर्ने र अवलोकन गर्न आउने आन्तरिक पर्यटक तथा बाह्य पर्यटकहरुका लागि आबश्यक व्यवस्था र सुविधा उपलब्ध गराउने तयारी रहेको छ । भ्यु टावर निर्माण भएयता सय बढी जनाले त्यस क्षेत्रको भ्रमण गरेको जानकारी प्राप्त भएको उहाँको भनाई छ । साथै अहिले पनि ४५ जनाको समूह उक्त क्षेत्रको अवलोकन, भ्रमणका लागि गएको छ ।

बाह्य तथा आन्तरिक पर्यटकहरु बढ्ने भएकाले फोहोर व्यवस्थापन लगायतका अन्य चुनौती रहेकाले त्यसको पनि व्यवस्थापनको आबश्यकता रहेको छ । पर्यटकको संख्या बढेसंगै पर्यावरणमा पनि असर पर्ने भएकाले फोहोर व्यवस्थापन गरिने अध्यक्ष कार्कीले बताउनु भयो । अवलोकन गर्न आउनेहरुका झोला बोक्ने र ती क्षेत्रको ऐतिहासिक जानकारी गराउने र पदप्रदर्शकको व्यवस्थापन गर्ने तयारी गाउँपालिकाको छ ।


प्रतिक्रिया दिनुहोस !