२२ माघ २०७९, आईतवार
 |   Sun Feb 5 2023
Logo

ओझेलमा कालापानी र सीमावासीका पीडा: स्व. क. वीर बहादुर ठगुन्ना



सम्झनामा क. वीर बहादुर ठगुन्ना ।

कालापानी-लिपुलेक-लिम्पियाधुराका लागि राष्ट्रवादी नेता क. वीर ब. ठगुन्नाको योगदान अविस्मरणीय छ । २०४८ चैत्र ३० गते सु.प.भ्रमणको अन्तिमदिन दार्चुला खलंगाको आमसभा कार्यक्रम सम्पन्न गरेर जननेता क.मदन भण्डारी, क.विष्णु पौडेल, क. प्रेमसिंह धामी संग बेलुकी कालापानी समस्याको सम्बन्धमा छलफल भयो । मैले नापीशाखाकोे नक्सा पनि महासचिवलाई बुझाएँ र संसदमा कुरा उठाउन आग्रह गरे । उहाले ती सबै कुरा ग्रहण गर्दै भन्नुभयो,”त्यहांको स्थलगत भ्रमणगर्ने मौका नपाएकाले वास्तविकता केहो ? भन्ने बारे हामी सबै अनभिज्ञ छौ । सीमा बिवाद बारे गहन अध्ययन, बिस्लेशण गरेरमात्र पार्टीको धारणा सार्वजनिक गर्नु उचित हुन्छ । लामो समय सम्म यस्तो संवे्दनशील विषयमा हामीले मौनबस्नु पनि उचित हुदैन । यसर्थ सकेसम्म छिटो तपाईले त्यहांको स्थलगत भ्रमण गरी प्रतिवेदन सहित काठमाडौे आउनु पर्छ,” भन्ने निर्देशन दिनुभयो । २०४९ साल बैशाख देखिनै स्थनीय निर्वाचन लगायतमा हामी जुट्नु परेकोले मैले जि.वि.स. सदस्यमा निर्वाचित भैसकेपछि त्यस क्षेत्रको पहिलो स्थलगत भ्रमण गरेर नक्सा सहितको यथार्थ विबरण २०४९ मंसिरमा बागबजार पार्टी कार्यालयमा जननेता क.मदन भण्डारीलाई पेशगरे र उहांकै निर्देशनानुसार त्यसको फोटोकपि दृष्टि साप्ताहिकमा प्रकाशानार्थ बुझएको थिएँ । केही दिनपछि उक्त लेखलाई तोडमतोड़ गरी विनोद ढुंगेलले आफ्नो नामबाट प्रकाशित गरेको कुरा क.प्रेम सिंह धामीबाट थाहा पाएं । स्थानिय पार्टी काममै केन्द्रित रहनुपर्ने परिस्थिती को कारण तत्काल त्यसको खण्डन हुन सकेन ।

त्यसपछि २०५३ मा महाकाली संधी अनुमोदनको बिषयमा पार्टी भित्र विवाद उतपन्नभै पार्टीका जिम्मेवार नेताहरु र सांसदहरु लगायत हाम्रो जिल्लाबाट निर्वाचित सांसद प्रेमसिह धामीले समेत संसदमा दिएको अभिब्यक्ति “तिंकरको शैनिक पोष्ट हटाउनु पर्छ” ,भनेको सुन्ने बितिक्कै धामी कमरेड लाई त्यस्तो नबोल्नुस, किनभने तिंकरमा रहेको चेकपोष्ट भनेको त हाम्रो सीमा प्रहरीको थाना हो । भारतीय सुरक्षा शेना रहेको (आइ.टी.बि.पी.) क्याम्प तिंकरबाट २३/२४ की.मि.पश्चिम कालापानी भनिएको तुलसी न्युराङको शैनिक क्याम्प हटाउनु पर्छ भन्नुस, भनी फोनबाटै बताउदा पनि धामी कमरेडले वेवास्तागर्दै – “यहां सब चल्छ, केही फरक पर्दैन । तपाई चुप लाग्नुस” भन्नुभो । तर मैले चित्त बुझाउनै सकेन र उर्वा कमरेडसंग पनि त्यो कुरा राखेपछि उहांले तपाइको स्थलगत बिवरण उपलब्ध गर्न भन्नुभो । त्यसको दुई तीन दिनपछि दार्चुला बजारमा केही ब्यापारी साथीहरु संग बसेर भलाकुसारी गरिरहेको बेला एकजना भारतीय सर्बसाधारण स्थानीय जस्तो मान्छे आएर ब्यापारीहरु संग हाथ मिलाउदै त्यसमा मिसिए । मैले कुनै ग्राहक ठानेर वास्तै गरिन, तर त्यो मान्छेले मसंग हात मिलाउदै भन्न थाल्यो “देखिए, आप यहांके एमाले पार्टीके नेताजी है, मै आपको जानता हुँ” । म छक्क परे, मैले नचिनेको, नकहिले भेटेको मान्छेले मेरो नाम, ठेगाना समेत थाहापाएको भनेपछि मैले तपाईको घरकाहां हो ? भनेर सोधेको मात्रै केथिएं उ सरासर भन्नथाल्यो “मेरा घर पार धारचूला बाजारके बगलमे है । मै आपको अच्छी तरह जानताहूं । और आपके यम.पी. धामीजीको भी जानता हूं, जो परसो पार्लियामेण्टमे आपका तिंकर स्थित ताक्लाकोट बोर्डर का चेकपोष्ट हटानेकी माग कर रहेथे । खैर जो कुछभि हो, आप एमाले कम्युनिष्ट पार्टीवाले जो चाइनाके कम्युनिष्ट सरकारके साथ अच्छा संबन्ध बनाने हेतु अपनी उत्तरवर्ति सीमा चौकियां हटानेका कार्य जो करना चाहते हो । यह कार्य आप लोगौके राष्ट्रियहितमे कतई ठीक नहीं होगा । ऐसा होगया तो नुकसान आपकोहि ज्यादा होगा।” यस्तै धेरै कुरा सुनेर त्यहां बसेका सबै जिल्लपरे। मलाई त्यो सुनेर छांगाबाट खसेझै लाग्यो । हामीले सोच्दै नसोचेको र उत्तरी सीमा चौकी हटाउने कल्पनै नगरेको कुरा सुनेर मलाई असह्य भए पनि धेरै साचेर जवाफ दिएं । तपाईले सुनेको कुरा तिंकरको चेकपाष्ट हटाउनु पर्छ भनेको ठिकै हो, तर तपाईले आधा कुरा मात्रै सुन्नुभो बांकी कुरा पनि सुन्नुस । “त्यो चेकपोष्ट लाई वास्तविक कालापानीमा राख्नु पर्छ र कालापानी भएिको तुलसीन्यूराबाट भारतीय आई.टि.बि.पी. क्याम्प हटाउनु पर्छ भन्ने कुरा पनि उठेकोछ।” मैले थपे । योसुनेर उसले एकछिन सोच्दै भन्यो, “क्या ऐसाभी हो सकता है ?” जवाफमा किन हुन सक्तैन ? वास्तविक महाकालीको मुहान त्यहीं होईन ? अनि सीमानामा भएको अतिक्रमण सम्बन्धमा संसदमाकुरै उठाउन सकिदैन ? त्यसपछि उसले प्रतिवाद गरेन । केहीवेर अरुनै गफ गाफ पछि आगन्तुक बिदा भएर हिड्यो । उ गएपछि ब्यापारी साथीहरुले मलाई धन्यबाद दिदै भने, वास्तवमा तपाईले त्यसलाई मुहतोड जवाब दिनुभयो ।

मलाई भने त्यो कुराले निकै आघात पर्यो । चार बर्ष पुरानो लेख संझेर तयार गरे । स्थलगत भ्रमणको नक्सा पनि तयार पारेर पुरानो एक्सरे सिटभित्र बेरेर सुटकेशभित्र राखे । अनि तुरन्तै काठमाण्डौ जाने तयारी गरे । पर्सि पल्ट एकजना भाई साथमा लिएर सांझ भारतको धारचूला स्थित यास होटलमा बासबस्न कोठा लियौ । बेलुका छिट्टै खाना खाएर बिहान ४ बजेको बसमा जानु पर्ने हुदा करिब ९ बजेतिर सुत्ने तरखरमा लागेका मात्र के थियौ ढोकामा नक गरेर होटलको मेनेजर जोशीजीले भने तपाईको कोठा चेकिड.मा साबहरु आएकाछन् । मैले ढोका खोल्दा त्यहां वर्दिमा ईन्सपेक्टर सहित ५/७ जना पुलिस र सादा पोषाकमा यस.डि.यम. लगायत ४/५ जना अरु थिए । उनीहरुले कोठामा पस्ने अनुमती मागे । मैले पनि सर्च वारण्ट मागे । सर्चवारण्ट नभएपछि मैलेपनि भन्ने मौका पाएं । केहिबेरको डिस्कस पछि मलाई पनि सुटकेश देखाएर यिनीहरुबाट छुटकारा पाउनुनै उचित लाग्यो । उनीहरु मध्ये एकजनाले सुटकेश खोल्यो र अरुकेहि नहेरी नक्सा बेरेको एक्सरे खोलेर नक्सा मात्र हातमाल्याएर यो केहो ?कहाको हो ?,किन बोकेको? यो नोटिफाईड एरियाको नक्सा गैरकानूनी भएकोले तपाईले हामी संग थानामा जानुपर्छ । भन्ने जस्ता अनेकौ प्रश्न गरे । त्यसको जवाफमा मैले पनि आफ्नो जिल्लाको नक्सा बोक्न तपाईको कुनै कानूनले रोक्दैन ।अनि यदि तपाईसंग मेरो एरेष्ट वारण्ट छभने म तपाईहरु संग जान तयार छु, अन्यथा बलजफ्ति गर्न पाउनु हुन्न भने पछि मेरो परिचय पत्र मागे । मसंग परिचय पत्र र नागरिकता समेत केहि थिएन । जि.वि.स.महासंघको बैठकमा भागलिन जाने भन्ने जि.वि.स. दार्चुलाको पत्र को आधारमा मलाई त्यहां पुलिसको पहरामा राखे । नक्सा लिएर फोटो कपि गरेर फिर्ता बुझाउने सर्तमा मलाई त्यहां नजरबन्दीमा राखे । करिब तीन घंण्टा पछि मेरो भरपाई लिएर उक्त नक्सा फिर्ता गरियो । तर मलाई भने यस घटनाले निकै चिन्तित बनायो । मेरो सुटकेश भित्रको पनि भित्री पानामा एक्सरे सिटसंगेै बेरेर राखेको नक्सा निकाल्दा उसले आफैले राखेको जस्तो गरि निकालेको थियो । यस घटनाले हाम्रो गोपनीयता र सुरक्षा संबन्धमा गम्भिर प्रश्न चिन्ह खडाभयो । तीन दिन पहिले बजारमा भएको सम्बाद र आजको खानतलासी बिचको तादम्यताढकेछ ? हामी सीमा बाशी जिल्लाका नेताको यो हविगतछ भने दिनहूँ महाकाली नदीमा तुईन र ट्यूब तरेर सीमानापारी मजदुरी गर्नेहरुको त्यसमा पनि महीलाहरुको कस्तो बिजोग हुन्छ होला? अनि केहिदिन पहिले सधैजसो मजदुरीगर्न इण्डियाजानेभध्येका एकजना मोहन सिंहले भन्नुभएको कुरा सम्झे “भोको पेटलाई राष्ट्र्यिता होइन रोटी चाहिने रहेछ” । यस्तै धेरै जनताको विजोग हुदा समेत सम्वेदनहीन सरकारी रवैया सम्झदै रात बित्यो ।

अर्को बिहानै त्यहांबाट प्रस्थान गरेर चौथो दिन राति काठमाण्डौ पुगेर माउण्ट भ्याली भ्यूं हाटेलमा बसेकोमा बिहान बाथरुमबाट फर्किदा सुटकेशको लक तोडेर कालापानीको लेख र नक्सा गायब थियो । सोहीदिन जि.बि.स. महासंघको बैठकमा कुरा उठाउदा महासंघका साथीहरुले यो बिषय राष्ट्र्यिता संग गाँसिएकोले तपाईले तुरन्त पत्रकार सम्मेलन गर्नुपर्छ भन्ने सल्लाह अनुसार बेलुकी पुनः नक्सा र विवरण तयार गरें । २०५३।६।२४ गते हाम्रो पार्टीको संसदिय दलको कार्यालयमै पत्रकार सम्मेलन गरियो । त्यसको एक कपि क.उर्वादत्त पन्त लाई दिएं । उहांले सोही दिन संसदमा कुरा उठाउनु भयो । भोली पल्ट प्रकाशित जन धारणा लगायत धेरै पत्रिका हरुले प्राथमिकतासाथ उक्त खोसिएको नक्सा सहित खवर छापे । केही दिन सम्म संसदमा पनि बहसको बिषय भयो । तर त्यसको परिणाम केहिपनि निस्केन । त्यस पछि धेरै वर्ष सम्मपनि कंही कतै त्यसको चर्चा समेत नहुदा निकै चिन्ताको विषय भएका अवस्थामा भारत चीन सन्धि पछि पुनः निकै चर्चा भएकोछ तर बिगतमा जस्तै भविष्यमापनि सेलाएर नजाला भन्न सकिदैन। हाम्रो राष्ट्रिय अखण्डता र सार्वभौमिकताको विषय भएकोले अहिले पनि यो बिषय उत्तिकै महत्वपूर्ण ठानेर संक्षिप्तमा उल्लेखगर्ने प्रयासगरेको छु ।

स्थलगत भ्रमाणमा जे देखियोे

स्थानिय निर्वाचन २०४९ पछि बसेको जि.वि.स.को पहिलो बैठकमा पंचायत कालमा निर्मित विकास आयोजनाहरु निरीक्षणगर्न हाम्रो टोली २०४९भाद्र २५ गते दूहूं र ब्यांसको भ्रमणमा निस्कियौ । महाकालीको किनारमा निर्मित घोडेटोमा उकाली ओराली, खोला नाला पारगर्दै चौथो दिन छांगुरु नजिकैको गागामा खाना खाएर सीमा प्रशासनका फकिरसिंह धामीको कोठामा सुत्न गयौ । धामीजींकोभनाई यस्तो थियो …यो वास्तबमा धेरै पुरानो समस्याहो । हामीले हरेकबर्ष मंत्रालयमा रिपोर्ट पठाउदै आएकाछौ, तर सुनुवाई केहि हुदैन ।

अर्को दिन हामी तिंकर भंसार र तिंकर (छ्यालेक) स्थित हाम्रो सीमा प्रहरीथानाको अवलोकन मा पुग्दा त्यहाका स.ई.चन्दजी लगायत संग बस्दैगर्दा त्यसमाथिको कैलाश मानसरोवर जाने नागबेली परेको घोडेटो अनि लिपु भञ्ज्याड( तिंकर भन्ज्याङ) प्रष्ट नजिकै जस्तो देखिन्थ्यो । तर त्यहाँ पुग्न लेक लाग्ने हुदा ३।४ घंण्टा लाग्ने रहेछ । त्यतैबाट ताक्लाकोट (कैलाश मानसरोबर) पुग्ने तीब्र चाहना भएपनि समयाभावले कालापानी छुट्ने भएकोले बासबस्न तिंकर फर्कियौ । अर्कोदिन फर्केर गागामा पहिलेकै ठाउँमा बास बस्यौ। भोली पल्ट बिहानै हामीले त्यहां सीमा प्रशासन कार्यालयबाट परमिट बनाएर सीमा प्रहरी चौकी सीतापुलबाट चारजना सुरक्षाटीम सहित दिउसोको खाजा चिया समेत बोकेर महाकाली नदीको किनारै किनार उत्तर पश्चिम लाग्यौं। बगरको घना सल्लाघारीमा बाटो छिचोल्दै कावा मैदानमा पुग्दा केहि फराकिलो फाँंटमा देखियो । त्यही दोभानमाथि बसेर चारैतिर नियाल्यौ । धेरै फडानी भएको जंगल माथिको न्याहुर को बथान, घोरल, कस्तुरी नाचेको मनोरम दृष्य अझ त्यसको ठीक पारी दोभानको बिचमा स्थित गुन्जि गाउंमा केहि बाक्लो बस्तीको छेउमा शैनिक क्याम्प । त्यसको उत्तर पश्चिमबाट आएको ठूलो नदीं संग उत्तर पूर्वबाट आएको सानो खोला मिसिएको, जुन अर्को भन्दा दशौ भाग सानो छ ,लाईनै महाकाली नदी भनेर नामाकरण गरिएको रहेछ । त्यसै खोलामा काठको कच्चीपुलबाट वारीको जंगलकाकाठहरु ओसार्दै गरेको देखिन्थ्यो । त्यसको माथि ओम पर्वत र छोटे कैलाश लगायतको फोटो खिच्यौ । केहिवेर पछि हामीहरु त्यसै खोलाको किनारै किनार उत्तर तर्फ लाग्यौ ।

दिउसो एक बजेतिर हामी कालापानी भनिने तुलसीन्यूराड देखिने ढिस्कोमा पुग्यौ । त्यहांबाट सिधै तलतिर खोलामा फलामे पूल को नजिकै हेलीप्याड छेउबाट बनाईएको बाटोको ३०/४० मिटर उत्तर पट्टी बगरमा सानो नालीकोे डिलमापुगेर त्यस बगरका शैनिक बंकरहरुतर्फ निर्मित प्रवेशव्दार तिर जान खोज्दा परबाट आवाज आयो “रुको आगे मत बडो, नहीतो गोली चलेगी” हामी त्यही अडियौ । एकजना शैनिक आएर हाम्रो परिचय,त्यहां आउनुको उद्देश्य आदि सोधेर भित्रबाट अनुमति नआउदा सम्म कतै नजानु भनेर गयो । धेरै वेर सम्म कोही नआकोले हामी त्यस नालीको वारीको डिलको किनारै किनार हिडेर थोरै माथि निर्मित सानो १०/१२ फिटको पोखरी,तुरतुरे पनीको धारा छेउमा बनेको सानो मंदिरमा पुगेर घंटी बजाएको मात्र केथियौ, त्यहां एकजना सिभिल कर्मचारी आएर हामी लाई नानाभति प्रश्न गर्न थाल्नुभयो, “आपलोग कहांसे आए, क्युँ आए, क्या काम है, क्या करना चाहते हो ?” आदि । त्यसको जवाफमा मैले भने-हामीहरु जिल्ला विकास समितिका प्रतिनिधि, कर्मचारी र सीमा प्रहरी सहितकोटीम आफ्नो सीमाको बाटो घांटोको अवस्था र सीमा समस्याको यथार्थता बुझ्न आएका हौ भन्नेकुराबाट सुरु गर्दै उनको परिचय मागे । उनी पिथौरागढ सिमलगैर निवाशी बसेडा थरका त्यो नाकाको अध्यागमन अधिकारी रहेछन् ।सबैको परिचयदिएर आफ्नो परिचयमा नेकपा एमालेको जिल्ला सचिव र डि.डि.सि. मेम्बरभनेर दिएकोमा उसले जि.क.सचिवको वास्तै गरेन,बरु डि.डि.सि.मेम्बरको निकैसम्मान गरेर हात मिलाउदै मंदिर छेउको पेटीमा बस्न आग्रह गर्यो । हामी केहीबेर त्यही बसेर कुराकानीको क्रममा सोध्यौ, हाम्रो दुबै देशको सीमानदी महाकाली हो? उसले भन्यो हो । महाकालीको उद्गमस्थल कालापानी हो? उसले सहमति जनायो । अनि कालापानी कुटी नजिकै रहेको ठूलो ताल होइन ? उ अकमकियो । फेरी महाकाली त्यही ठूलो नदी होइन जुन कालापानीबाट निस्केर कुटी, नावि हुदै गुन्जीमा यहांबाट बगेर गएको यो तुलसी खोलामा मिसिएर जान्छ ? उ कुनै चोर पक्रीएझै हडबडाउदै भन्नथाल्यो “होनेको तोहै मगर हमको उपरसेही इसीको कालापानी, कालीमंदिर और इसी नालीको महाकाली नदी बताया गयाहै एबं इसके उप्पर धार होतेहुए इसीकी चोटी तक नेपाल इण्डियाकी सीमा चाइनाकेसाथ मिलतिहै । बस हमको इससे ज्यादा बोलनेकी अनुमती नहीहै” । फेरि केकेन सोध्नेहुन भनेर सटपटाएर भन्न थाल्यो, माफ किजिए, अन्दर गेष्ट आएहै, मै आपको अन्दर लेके एक कप चायभि नही पिला सकता, मै बहुत जल्दिबाजीमे हूं । भन्दै हिडन लाग्दा मैले संगै बसेर मंदिर र पोखरीछेउको फोटो खिच्ने प्रस्ताव गरेकोमा उनले स्वीकार गरेकोले संयुक्त फोटो खिच्यौ । संगसंगै त्यो नाली, गेट, र क्याम्पका पनि फोटो खिचियो । उ एकदमै हतारिएको थियो, बिदाईका हात मिलाउदै गर्दा हामीले फर्किदा पारिवट्टीको सजिलो बाटो भएर सीतापुल सम्मजाने भन्यौ, उसले आपकी मर्जि भनेर स्वीकृति दियो । अनि नाली किनार हुदै हेलिप्याड भएर फलामे पुल तरेर पारिपट्टीको घोडेटो बाटो भएर फर्कियौ । तल आएर सीतापुल तरेर गागा पुग्दा साँझ परिसकेको थियो ।

कालापानी

यो नै महाकाली नदीको उद्गम स्थल हो । स्थानीय सौका समुदाय को भाषामा महाकाली नदीलाई कुटी याङती भनिन्छ । कुटी नामगरेको गाउंको याङ= ठूलो; ती=पानी। ठूलो पानी जुन कालोछ, त्यसैलाई महाकाली भनिएको हो । भारत सरकारको व्रिटिस कालीन बिभिन्न नक्साहरुमा सुगौली सन्धिाकै आधारमा महाकाली को मुहान कुटी छेउको ठूलो तालबाट निस्केको दे्िखएकोछ भने नेपाल भारत सीमाना त्यसको पनि उत्तर डावै मैदानहुदै लिम्पिया धुरासम्म देखाएको छ । यसको ऐतिहासिक प्रमाणको रुपमा राणा शासनकालमा नेपाल सरकारबाट ब्यासंका मुखिया –जिम्मावाल लाई दिईएको सनद पत्रमा कुटी,नावी,गुन्जी,छांगुरु र तिंकर समेत पांचवटै गाउंको सिर्दो (मालपोत) उठाउने भनी लालमोहर लगेको पत्र देख्ने मानिसहरु अझै जीवित छन । त्यहाँका जनतासंग जग्गाको प्रमाण र मालपोत तिरेको रशिद अहिले पनि सुरक्षित छ । हाम्रो गाउंका बुढापाकाहरु उहिले (सन् १९६० भन्दा पूर्व) ताक्लाकोट ब्यापारमा जांदा, गुन्जी, नावी र कुटीको बाटोहुदै त्यस उत्तरको डाबै मैदान –(खरकौं)बाट लिम्पिया धुरा पार गरेर ताक्लाकोट (केैलाश मानसरोवर छेउ)सम्म जाने गरेको तथा कुनेै बर्ष ब्यापार खुल्न ढिलाइभएमा कुटी गाउंको छेउमा टेन्ट गाडेर कालापानी तालको आसपासमा हप्तौ भेडा बाख्रा चराउने गरेकोमा सन् १९६१ पछि हामीलाई उक्त कुटी कालापानीको बाटो बन्द गरिएपछि २/३ चोटी तुलसीन्यूराड. (हालको कालापानी) भएर ताक्लाकोट गएको र धरैपछि मात्र हाम्रोबाटो छांगुरु, तिंकर हुदै लिपु लेक भएर जाने गरेको हो, भन्नेहरु अहिले पनि जीवितै छन् ।

सन् १९६०/६१ को भारत चीन युद्धको समयमा भारतीय सेनाको ब्यारेक राख्ने खालीठाउँ नेपालको ब्यांस गा.बि.स. वडा नं.१ मा रहेको तुलसी न्यूराङ बगर भएको र पछि त्यसै बगरछेउमा नक्कली कालापानी र काली मंदिर समेत बनाएर त्यस उत्तर पश्चिमको हजारौ हेक्टर जमीन भारत तर्फ विलय गर्ने कार्यमा नेपालको तत्कालीन पंचे सरकारले सार्वजनिक रुपमा एक शब्द बोलेको सुनिएन । त्यसवेला निर्जन ठाउँ भएको र उत्तर तर्फका हाम्रा सीमा चौकीमा समेत नेपालीहरु संगै भारतिय सुरक्षा अधिकारी रहने व्यवस्था र अतिक्रमित क्षेत्रका जनतालाई भारत सरकारबाट सामाजिक, आर्थिक सम्बृद्धिका कार्यक्रम लागुगरेर बिभिन्न किसिमका सुबिधा एबं आरक्षण दिएको कारण यो समस्या ओझेलमा परेको थियो । यता नेपाल तर्फका जनताहरु भने महंगी, अभाव, र गरीविको चपेटामा परेर कष्टसाध्य जीवन जीउने बाध्यताका कारण अतिक्रमणको बिरोध हुन सकेन । २०४१।०४२ सालमा गोस्वरा नापी टोलीले नक्सांकनमा कुटी छेउको (कालापानी)को सट्टा तुलसी न्यूराङलाई कालापानी भनि उल्लेख गरिएको विषय २०४८ पछिमात्र बाहिर आएपछि जनताको कडा बिरोध एबं आपत्ति रहेको थियो । त्यसबेला देखिनै हाम्रो पार्टीको आन्दोलन र बिरोध जारी छ ।

बिरोधको परिणाम कस्तो रह्यो ?

कालापानी समस्या पाँच दशकभन्दा बढी पुरानो हो । त्यहाँको अतिक्रमण सम्बन्धमा स्थानिय सरकारी संयन्त्रको नाउँमा उत्तरी सीमामा नेपाल भारत संयुक्त टोली रहने ब्यवस्थाले पनि भारतको बिपक्षमा कुरा उठने सम्भावना रहेन । जिल्ला सदरमुकामबाट असी किमि भन्दा बढी दुरीहुनु अनि नेपालभएर त्यहाँसम्मपुग्ने पैदल बाटो समेत नभएकोकारण भारतकोबाटो भएरमात्र त्यहाँ आवत जावत गर्नुपर्ने बाध्यताले गर्दा देख्नेहरु मौनरहे । त्यसको २५।३० बर्ष पछि ब्याँस घोडेटो बनेपछिमात्र सीमा प्रशासन र सीमा प्रहरी चौकीहरु छ महीना सम्म त्यहाँ बस्ने थाले देखि केहि रिपोर्टिड हुनेगरेको थियो । त्यसबेला सम्म तीठाउँहरुमा प्रवेश निषेध गरी जौलजिवी उत्तर नोटिफाइड एरिया घोषणा गरेर उसकोे परमिट बिना छिर्ने नेपालीहरुलाई थुनछेक गरी मुद्दा लगाउने समेतगरेकोले त्यसको बिरोधमा बोल्ने कसैले आँटै गरेनन्।

२०४६ को राजनीतिकपरिवर्तन पछि हामीले विशेष महत्व दिएर त्यसको स्थलगत भ्रमण र नक्सांकन गरी पठाएको प्रतिवेदन कै आधारमा संसदमा समेतआवाज उठेको थियो । हाम्रो पार्टीको तर्फबाट सरकारलाई दिएको सुझावको वेवास्ता गरीनु र त्यस क्षेत्रको नक्सा बोके बाफत यो लेखकलाइ यास होटेलमा गरेको अभद्र ब्यवहार (माथि उल्लेखित) मात्र नपुगेर २०५६ को आम निर्वाचनको पूर्व संध्यामा भारतको सरकारी पत्रिका नव भारत टाइम्सको हवाला दिदै कान्तिपुरमा समाचार छापियोः “आम निर्वाचनमा उमेदवार बिभिन्न पार्टीका बिभिन्न ब्यक्तिहरुका साथै नेकपा(एमाले) चितवनका जागृत प्रसाद भेटवाल र दार्चुलाका वीर बहादुर ठगुन्ना आइ. यस.का एजेन्ट हुन्।” त्यसको तत्कालै पार्टीबाट र व्यक्तिगत समेत खण्डन भयो तर निर्वाचनमा हराउन दिल्लीदेखिको स्रोत साधन र बल प्रयोग गरियो । पार्टी बिभाजनको र सम्पूर्ण बिपक्षिहरुको एमाले हराउमोर्चाका बाबजुद २०५१सालको भन्दा दुई हजार बेसी मत पाएर पनि देशी बिदेशी सम्पुर्ण शक्तिका सामु जनताको ब्यापक जनमत निरीह जस्तो हुनपुग्यो । राष्ट्र्रियताको झण्डा उठाए बाफत बिदेशीको एजेण्टको झुट्टा र निराधार आरोप लगाउदैचरित्रहत्या हुदा समेत सरकार मौन रहनु गम्भिर चिन्ताको विषय भएको छ । त्यस्तै पछिल्लो समयमा सांसद प्रेमसिंह धामीले संसद र बिभिन्न संचार माध्यमाबाट चर्को आवाज उठाउदा पनि सरकारले ध्यान नदिएको अवस्थामा २०५४भदौमा नुवाकोट जीप दुर्घटनामा रहश्यमय निधन भयो । २०५५ सालको जेठमा नेकपा (माले) ले कालापानी मार्च कार्यक्रम संचालन गरिरहदा भारतीय पक्षबाट थप ३०० मीटर पूर्व पट्टी काडे तारबार लगाएर थप सिमा अतिक्रमण गरि त्यस मार्चका स्थानीय नेता एबं जिबिस सभापति क.गणेश सिंह ठगुन्ना समेत जनप्रतिनिधिको टोलीलाई २०५५ असारमा दीपायलको निर्वाचनमा जाने बेर्ला परमिट नभएको भन्ने निहूँमा भारत प्रवेषमा रोकेर धारचूला चेक पोष्टबाटै फिर्ता गरियो । स्थानिय जनताले पटक पटक चलाएका आन्दोलन हरुमा सरकारी हस्तक्षेप र दमन गरिनु र भारतबाट हामीमाथि भैरहेका ज्यादतिको कुनै सुनवाइ नहुनाको साथै सीमावर्ती जनतालाई हाम्रो सरकारबाट सामाजिक, आर्थिक विकासमा समेत वेवास्ता गरिएकोले स्थानी जनतामा सरकार प्रति ब्यापक आक्रोश ब्याप्तभएकोछ।सीमावर्ती क्षेत्रमा जनताको पहरेदारीले मात्र अहिले सम्म सार्वभौमसत्ताको रक्षा हुन सकेकोछ।

समाधान कसरी गर्ने

यसरी सरकार गम्भिर एबं जिम्मेवार नहुदा सम्म गरिने विपक्षी पार्टीका आन्दोलन, चर्का नाराबाजी, आमहड्ताल र खुकुरी जुलुसबाट समस्याको समाधान संभव हुदैन । सरकार जिम्मेवार भएर जनताका बिद्यमान समस्या समाधान गर्नुपर्छ । राष्ट्र्को रार्वभौमिकताको रक्षाकालागि पक्ष विपक्ष नभनि सम्पूण राष्ट्र् एक ढिक्का भएर राष्ट्र्यि एकता कायम गर्नु पर्दछ । परराष्ट्र् नीति र सम्बन्ध यसरी नै पञ्चशीलको आधारमामात्र निक्र्यौल गर्नुपर्छ । सत्ता र दलगत स्वार्थ भन्दा राष्ट्र्रिय अखण्डता र सार्वभौमिकता महत्वपूर्ण हुनुपर्छ । राष्ट्रिय सहमतिको आधारमा सरकारले पनि पुराना नक्सा, दस्तावेज र प्रमाणका आधारमा कुटनीतिक माध्यमबाट समस्याको समाधान गर्नु पर्दछ । यसकोलागि भोलि नभनी अहिलेको समय उपयुक्त देखिएको छ ।

लेखक स्व. क. वीर बहादुर ठगुन्ना प्रति सच्चा श्रदान्जली व्यक्त गर्दै साभार गरिएको ।


प्रतिक्रिया दिनुहोस !


ताजा

लोकप्रिय