१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोरोना सङ्क्रमणबाट ६ जनाकाे मृत्यु



काठमाडौं : कार्तिक १६, कोरोना भाइरसको सङ्क्रमणबाट थप ६ जनाकाे मृत्यु भएकाे छ । झापा, बाँके र सुर्खेतमा गरी थप ३ संक्रमितकाे मृत्यु भएकाे हाे ।

आज बिहान झापामा थप तीन जनाको मृत्यु भएको छ । यसरी मृत्यु हुनेमा दमक नगरपालिका, कमल गाउँपालिका र गौरादह नगरपालिकाका एक/एकजना पुरुष रहेका छन् । दमक नगरपालिकाको स्वास्थ्य शाखाका अनुसार, दमक–७ का अन्दाजी ५० वर्षीय वस्ती थरका पुरुषको नोबेल शिक्षण अस्पताल विराटनगरमा आज बिहान उपचारका क्रममा मृत्यु भएको हो । शनिवार मात्रै उपचारका लागि नोबेल पु¥याइएका ती व्यक्तिको कोरोना परीक्षणको रिपोर्ट शनिबार नै सङ्क्रमण पुष्टि आएको थियो । योसँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १६ पुगेको छ ।

कमल गाउँपालिका–५ मङ्गलबारेका ७२ वर्षीय खरेल थरका एक वृद्धको घरमै आज बिहान मृत्यु भएको छ । मिर्गौलाका बिरामी ती वृद्धको विराटनगरस्थित विराट मेडिकल कलेज हस्पिटलमा सङ्क्रमण पुष्टि भएको थियो । केही दिनयता उहाँ होम आइसोलेसनमा बस्नुभएको थियो । योसँगै कमलमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन पुगेको गाउँपालिकाका अध्यक्ष मेनुका काफ्लेले बताउनुभयो ।

त्यस्तै, गौरादह–४ मिलन चोकका ७४ वर्षीय कृष्णबहादुर निरौलाको पनि गए राति घरैमा मृत्यु भएको छ । कात्तिक १३ गते सङ्क्रमण पुष्टि भएको उहाँको घरैमा उपचाररत हुनुहुन्थ्यो । योसँगै गौरादहमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ६ पुगेको गौरादह नगरपालिकाका स्वास्थ्य शाखाका गोविन्द श्रेष्ठले बताउनुभयो । शनिबार पनि झापामा तीन जनाको मृत्यु भएको थियो । योसँगै जिल्लामा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ४३ पुगेको छ ।

बाँकेमा २ सङ्क्रमितको मृत्यु

बाँकेको कोहलपुरस्थित शिक्षण अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित दुई जनाको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा निवासी ६० वर्षीया महिला र टीकापुर नगरपालिका–१ कैलाली निवासी ६० वर्षीय पुरुषको शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार, श्वासप्रश्वासमा समस्या भएपछि कात्तिक ८ गते अस्पताल भर्ना हुुनुभएका महिलामा परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । सङ्क्रमित महिलालाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने प्लाजामा थेरापीलगायत सबै प्रकारको उपचार दिँदै गर्दासमेत बिरामीको अवस्थामा सुधार नआएपछि शिक्षण अस्पतालको कोभिड आइसियुमा उपचारकै क्रममा गए राति मृत्यु भएको हो । योसँगै कोरोना भाइरसका कारण बाँकेमा मृत्यु हुने व्यक्तिको सङ्ख्या ३१ पुगेको छ ।

यसैगरी, स्वास्थ्यमा समस्या देखिएपछि कात्तिक १४ गते शिक्षण अस्पताल कोहलपुरमा उपचारका लागि आउनुभएका कैलालीका ६० वर्षीय पुरुषमा कात्तिक १५ गते कोरोना पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या भएका सङ्क्रमित पुरुषलाई रोगको प्रकृतिअनुसार गरिनुपर्ने सबै प्रकारका उपचार दिँदै गर्दासमेत बिरामीको अवस्थामा सुधार नआएपछि गए राति १ बजे शिक्षण अस्पताल कोहलपुरको कोभिड आइसियुमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति श्रेष्ठले जानकारी दिनुभयो ।

कोरोनाका कारण केही दिन यता बाँकेका अस्पतालमा दैनिकजसो बिरामीको मृत्यु हुन थालेको छ । बाहिरी जिल्लाबाट उपचार गराउन बाँकेमा आउँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको छ ।


प्रतिक्रिया दिनुहोस !