१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बालुवाटार बैठक : प्रचण्डले प्रधानमन्त्री पद मागे, ओलीले अलग पार्टी बनाउन सल्लाह दिए



काठमाडौं : कात्तिक १६, प्रधानमन्त्री केपी ओलीले अर्का अध्यक्ष प्रचण्डलाई अलग पार्टी बनाएर जान प्रस्ताव गरेको खुलासा भएको छ । हिजो (शनिबार) प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेको प्रचण्डले बताएका छन् । आफ्नै निवास खुमलटारमा बसेको बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले सो कुरा गरेका हुन् । वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा बादललगायतका नेताहरु सहभागी भएका थिए । ९ सदस्यीय सचिवालयमा ६ जना खुमलटारको भेलामा सहभागी भएका थिए । मन्त्रिपरिषद पुनर्गठनमा असन्तुष्ट भएसँगै गौतम प्रचण्डसँग नजिकिएका छन्। खुमलटारको भेलामा प्रचण्डले प्रधानमन्त्रीले पार्टी फुटाउन चाहेको ब्रिफिङ गरेको खुमलटार भेलामा सहभागी एक नेताले जानकारी दिएको सेतोाटीले जनाएको छ ।

हिजोदेखि प्रधानमन्त्रीले अलगअलग जाऊँ भन्न थाल्नु भएछ। उहाँले नै अब पार्टी अलगअलग जाऊँ भन्नुभयो। प्रधानमन्त्रीले पार्टी र स्थायी कमिटी बैठकको निर्णय म मान्दिनँ भन्नुभयो। अब के गर्ने भनेर प्रचण्डले भन्नु भयो ती नेताले भने । यता प्रधानमन्त्री निकट स्रोतले भने प्रचण्डले सरकारको नेतृत्व मागेको दावी गरेको बताएको छ। दुई अध्यक्षबीच हिजो कुरा भएको थियो। तर खासै अर्थपूर्ण भएन। उहाँहरू परपर पुगिरहनुभएको छ। दुई जनाको कुरा मिलिरहेको छैन, ती स्थायी कमिटी सदस्यले भने, अहिले जति पनि कारणहरू देखाइएको छ, ती सबै सतही हुन्। उहाँले मन्त्रिपरिषदकै नेतृत्व दाबी गर्नुभएको छ तीनेताले भने ।

कर्णाली प्रकरण, रअ प्रमुखसँगको भेटघाट, मन्त्रिपरिषद् पुनर्गठन, पर्सा घटना लगायतका विषय सतहमा आएको भए पनि मुख्य कुरा मन्त्रिपरिषद्को नेतृत्व नै रहेको ती स्थायी कमिटी सदस्यले बताए। २०७५ साल जेठ २ गते तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकता गर्दा प्रधानमन्त्रीको कार्यकाल समानताको आधारमा बाँडफाँट गर्ने सहमति भएको थियो। त्यसपछि दुबै दलका अध्यक्ष समेतले हस्ताक्षर गरेर सात बुँदे सहमति भएको थियो।

२०७६ मंसिरमा त्यो सहमतिलाई खारेज गर्दै नेकपा सचिवालय बैठकले प्रधानमन्त्री ओलीले नै पूरै कार्यकाल सरकारको नेतृत्व गर्ने सहमति भएको थियो। त्यस्तै कार्यकारी अध्यक्षको भूमिका प्रचण्डलाई दिइएको थियो। तर कार्यकारी भूमिकामा समेत हस्तक्षेप गरेको भन्दै प्रचण्ड असन्तुष्ट बन्दै गएपछि पार्टी फुटको संघारमा समेत पुगेको थियो । त्यस्तै पार्टी महासचिव एवम् अर्थमन्त्री विष्णु पौडेलले नेकपामा गम्भीर संकट उत्पन्न भएको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा आफ्ना धारणा राख्दै महासचिव पौडेलले नेकपाको एकीकृत र अविभाज्य अस्तित्वका सामु गम्भीर संकट उत्पन्न भएको बताएका छन्।


प्रतिक्रिया दिनुहोस !