१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भारतीय सेना प्रमुख नरवणे काठमाडौं आइपुगे, भोली जंगीअड्डामा रात्री भोज



काठमाडौं कात्तिक १९, भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे तीन दिने नेपाल भ्रमणका लागि भारतीय वायु सेनाको विमानमार्फत बुधबार दिउँसो काठमाडौं आइपुगेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार नरवणेको भ्रमण टोली दुईवटा विमानमा काठमाडौं आएको छ । नरवणेको भ्रमणमा चार सदस्यीय टोली रहेको नेपाली सेनाको जंगीअड्डा स्रोतले बताएको छ ।

विमानस्थलमा नरवणेको स्वागतका लागि नेपाली सेनाको दोस्रो वरीयताका बलाधिकृत रथी प्रभुराम शर्मासहितका सैन्य अधिकृतहरु पुगेका छन् । विशेष सुरक्षा व्यवस्थाका साथ उनलाई सोल्टी होटलमा लगिनेछ । नरवणेको गाडीको अगाडि(पछाडि जंगीअड्डाको सैनिक प्रहरी गणको टोलीले स्कर्टिङ गर्नेछ । सुरक्षा चुनौतीका कारण पछाडि नेपाल प्रहरीको एउटा टोली पनि रहनेछ ।

नेपाल र भारतको बीचमा सीमा विवाद चर्किएका नरवणेले नेपालले चीनको इसारामा लिपुलेकको मुद्दा उचालेको हावादारी टिप्पणी गरेकाले उनलाई कालो झण्डा देखाउने, विरोध प्रदर्शन गर्ने, कफन बाँधेर बस्ने जस्ता गतिविधि हुनसक्ने सुरक्षा अधिकृतहरुले विश्लेषण गरेका छन् । त्यसैले उनको भ्रमणको पूर्वसन्ध्यामा चेकजाँचमा कडाइ गरिएको थियो भने अहिले उपत्यकामा व्यापक रुपमा सादा पोशाकमा प्रहरी टोली परिचालित गरिएको छ । भ्रमणको महत्वपूर्ण कार्यक्रम भोलि राखिएको छ । उनले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाउने कार्यक्रम शीतल निवासले बिहीबार राखेको छ ।

नेपाल भारतको सम्बन्धमा ज्यादै विवादित मुद्दा मानिने एकअर्काको देशका प्रधान सेनापतिलाई मानार्थ सेनापतिको सम्मान दिने चलन रहेको छ । जसअनुसार नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले २८ पुस २०७५ मा भारतका राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको दर्ज्यानी चिह्न लगाइसकेका छन् । जंगीअड्डाका उच्च सैन्य अधिकृतहरुसँग उनले छलफल समेत गर्नेछन् । नरवणेको सम्मानमा जंगीअड्डाले बिहीबार साँझ रात्रि भोजको समेत आयोजना गरेको छ ।


प्रतिक्रिया दिनुहोस !