१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

अमेरिकी राष्ट्रपति चुनाव : बाइडन जीत नजिक, ट्रम्प अदालत जाने



एजेन्सी कात्तिक २०, अमेरिकी राष्ट्रपति पदका लागि मंगलबार सम्पन्न चुनावको मतगणना अधिकांश राज्यको सकिएको छ । यो समाचार तयार पार्दासम्म ५० वटा राज्यमध्ये ४३ वटा राज्यको परिणाम सकिएको छ । हालसम्मको नतिजाका आधारमा बाइडनले वर्तमान राष्ट्रपति समेत रहेका ट्रम्पलाई पछि पारेका छन् । बाइडनले २६४ इलेक्टोरल मत पाउँदा ट्रम्पको पक्षमा २१४ मत परेको छ । अब बाइडनलाई जितको लागि ६ इलेक्टोरल मत भए पुग्छ । अमेरिकी राष्ट्रपति चुनिन ५३८ इलेक्टोरल प्रतिनिधिमध्ये २७० सिट आवश्यक पर्छ। जितका लागि निकै महत्वपूर्ण मानिएका राज्यहरुको मत गणना जारी छ । यद्यपि बाइडनले आफ्नो जित स्पष्ट भइसकेको बताएका छन् । तर ट्रम्पले भने केही स्थानमा धाँधली भएको भन्दै अदालत जाने बताएका छन् ।

कसैले सत्ता हत्याउन नसक्ने बरु जनताले सुम्पिने उल्लेख गर्दै बाइडनले भने “हाम्रो लोकतन्त्रलाई हामीबाट कसैले खोस्न सक्ने छैन।” उनले सबै अमेरिकीको एकतामा पनि जोड दिएका छन् । ‘हामीले जितेमा राता र नीला राज्यहरु हुने छैनन्, संयुक्त राज्य अमेरिका मात्र हुनेछ,’ उनले भने ।

अमेरिकाको राष्ट्रपतिसमेत रहेका डोनाल्ड ट्रम्पले भने पेन्सल्भेनियामा धाँधली भएको दाबी गर्दै मतगणना रोक्न माग गरेका छन् । यद्यपि उनले धाँधली भएको स्पष्ट प्रमाण पेश गरेका छैनन् । उनले मतगणना रोक्न माग गर्दै सर्वोच्च अदालत जाने चेतावनीसमेत दिएका छन् । चुनावमा हरेक राज्यको कम्तिमा दुई जना इलेक्टोरल प्रतिनिधि छानिन्छन् । तर जनसंख्याका आधारमा यस्तो प्रतिनिधि छानिने हुनाले हरेक राज्य अनुसार प्रतिनिधि संख्या फरक रहेको छ । सबभन्दा बढी इलेक्टोरल प्रतिनिधि रहेको क्यालिफोर्नियामा ५५ जना प्रतिनिधि रहेका छन् ।

जसमा बाइडनले बाजी मारेका छन्। त्यस्तै बढी प्रतिनिधि रहेका टेक्सस र फ्लोरिडामा भने ट्रम्पले जित हात पारेका छन्। टेक्ससमा ३८ इलेक्टोरल कलेज प्रतिनिधि सिट रहेको छ भने फ्लोरिडामा २९ प्रतिनिधि सिट रहेको छ।


प्रतिक्रिया दिनुहोस !