१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान



काठमाडौं : कात्तिक २०, नेपाली फुटबल टोली बिहीबार बंगलादेश प्रस्थान गरेको छ । नेपाली टोलीले बंगलादेशको एक साता बसाईमा घरेलु टोलीसँग दुई मैत्रीपूर्ण खेल खेलेर फर्किने छ । गोलकिपर किरण चेम्जोङलाई कप्तानी जिम्मा दिइएको छ । लामो समयपछि मैदान फर्किएको नेपाली राष्ट्रिय फुटबल टोली मैत्रीपूर्ण खेलका लागि बंगलादेश जाँदैगर्दा निकै उत्साहित देखिएको छ । बुधबार सार्वजनिक गरिएको राष्ट्रिय टोलीमा ८ नयाँ अनुहारले स्थान बनाउँदा अभ्यासको क्रममा चोट भोगेका रोहित चन्द भने टोली बाहिर रहेका छन् । यस्तै अन्य ७ खेलाडीमा कोरोना देखिएपछि ती खेलाडीको भ्रमण स्थगित भएको छ र उनीहरु आइसोलेसनमा छन् ।

नयाँ जर्सी पाउनेमा दिलेन लोक्ताम, पुजन उपरकोटी, सेसेहाङ आङदेम्बे, विकास खवास, एरिक विष्ट, दर्शन गुरुङ, दीप कार्की र इलामका छिरिङ गुरुङ पहिलो पटक सिनियर टोलीमा अटाएका हुन् । मैत्रीपूर्ण खेलका लागि बुधबार गरिएको सामान्य बिदाई कार्यक्रमपछि मुख्य प्रशिक्षक बाल गोपाल महर्जनले एक साताको अभ्यासले खेलाडीको फिटनेसमा सुधार आएको र एक साताको बंगलादेश बसाई थप फलदायी हुने अपेक्षा व्यक्त गरे ।

नेपालले कात्तिक २८ र मंसिर २ गते बंगलादेशसँग दुई मैत्रीपूर्ण खेल खेल्नेछ । कोरोनाको महामारी छि फुटबलमा फर्किन पाउँदा खेलाडीमा उत्साह थपिएको कप्तान किरण चेम्जोङले बताए । तर महामारीका बीच सुरु भएको छोटो अभ्यासले मैत्रीपूर्ण खेल निकै चुनौतीपूर्ण भएको प्रतिक्रिया व्यक्त गरेका छन् ।

यस्तै टोलीका फरवार्ड भरत खवासले फुटबलमा फर्किन पाउँदा निकै खुसी लागेको बताए । साथै बंगलादेशसँगको मैत्रीपूर्ण खेलले टोलीलाई अनुभव र नयाँ अनुहारलाई मैत्रीपूर्ण खेलले अनुभव दिने पनि उनले बताए । नयाँ खेलाडीमा सम्भावना भएको भन्दै टोलीले मैत्रीपूर्ण खेलमा सुखद नतिजा निक्लिने खवास विश्वस्त देखिन्छन् ।


प्रतिक्रिया दिनुहोस !