१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मोरङमा एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु



विराटनगर : कात्तिक २५, मोरङमा एकैदिन ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको विराटनगरमा आठ जना र सुन्दरहरैंचा नगरपालिकामा एकजना कोरोना संक्रमितको मृत्यु भएको हो । विराटनगरमा मृत्यु भएका आठजना अस्पतालमा थिए भने सुन्दरहरैंचाका संक्रमितको घरमै मृत्यु भएको हो । संक्रमणका कारण विराटनगरको नोबेल शिक्षण अस्पतालमा पाँच कोरोना संक्रमितको मृत्यु भएको अस्पतालका प्रबन्धक नारायण दाहालले जानकारी दिए । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा दुईजना र न्यूरो अस्पतालमा एकजनाको मृत्यु भएको हो ।

झापा गौरादह–५ का ६५ वर्षीय वृद्धको नोबेल अस्पतालमा मंगलबार बिहान ८ः२५ बजे मृत्यु भएको छ । पीसीआर परीक्षण रिपोर्ट पोजिटिभ आएपछि उनलाई कात्तिक १३ गते अस्पताल भर्ना गरिएको गरिएको थियो । मृतकमा श्वासप्रश्वासको समस्या थियो । यसैगरी तेह्रथुमको म्याङ्लुङ–१० का ५७ वर्षीय संक्रमित पुरुषको पनि मंगलबार बिहान करिब ८ः२० बजे नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि पुरुषलाई उपचारका लागि कात्तिक २२ गते आइसोलेसनमा भर्ना गरिएको थियो । झापाको हल्दिबारी–४ का ७० वर्षीय वृद्ध पुरुषको पनि नोबेल अस्पतालमै मृत्यु भएको छ । कोरोना पुष्टि भएपछि १५ कात्तिकमा भर्ना भएका उनको मंगलबार बिहान मृत्यु भएको हो ।

यस्तै उदयपुरको त्रियुगा–३ का २१ वर्षीय युवकको पनि नोबेलमा मृत्यु भएको छ । कोरोना रिपोर्ट पोजिटिभ आएपछि उनी २२ कात्तिकमा अस्पताल भर्ना भएका थिए । उपचारका क्रममा मंगलबार बिहान करिब ५ः३० बजे उनको मृत्यु भएको जानकारी अस्पतालका प्रबन्धक नारायण दाहालले दिए । मोरङको रतुवामाई नगरपालिका–९ का ७७ वर्षीय वृद्धको पनि नोबेलमै मृत्यु भएको छ । २२ कात्तिकमा भर्ना भएका उनको मंगलबार बिहान ६ः३० बजे मृत्यु भएको हो । श्वासप्रश्वासमा समस्या देखिएपछि २२ गते अस्पताल भर्ना गरिएका उनको सोही दिन रिपोर्ट पोजिटिभ आएको थियो ।

यसैगरी सुनसरीको इटहरी–५ की ६९ वर्षीय वृद्धाको विराटनगरको कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा मृत्यु भएको छ । उनको मंगलबार बिहान ८ बजेतिर मृत्यु भएको उपचार केन्द्रका व्यवस्थापक ज्ञानबहादुर बस्नेतले जानकारी दिए । कात्तिक १३ गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि उनलाई उपचारका लागि कोशीमा भर्ना गरिएको थियो । कोशीमै विराटनगर–३ का ७७ वर्षीय वृद्धको पनि मृत्यु भएको छ । २२ कात्तिकमा भर्ना भएका उनको मंगलबार बिहान ७ बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

मोरङको कटहरी–२ का ५० वर्षीय पुरुषको विराटनगरको न्युरो अस्पतालमा मृत्यु भएको छ । उनको सोमबार राति ९ः५० बजे मृत्यु भएको हो । निमोनियाको समस्या रहेका ती पुरुषलाई उपचारका लागि कात्तिक २१ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई सोही दिन कोरोना पोजेटिभ देखिएको थियो । निमोनियाको संक्रमण रहेका पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ ।

मोरङकै सुन्दरहरैँचा–७ की ७७ वर्षीया वृद्धा महिलाको भने आफ्नै घरमा ज्यान गएको छ । स्वास्थ्यमा समस्या देखिएपछि पीसीआर परीक्षण गराउँदा सोमबार उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना पुष्टि भएको २४ घण्टा पनि बित्न नपाउँदै उनको मंगलबार बिहान ७ः३० बजेतिर मृत्यु भएको हो । उनमा ज्वरो, निमोनिया र श्वासप्रश्वासको समस्या थियो । यसैगरी रुपन्देहीमा एकजना अनमीसहित तीनजना संक्रमितको मृत्यु भएको छ ।


प्रतिक्रिया दिनुहोस !