१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सचिवालय बैठक अघि ओलीले पठाए पाँच पन्नाको लिखित जवाफ



काठमाडौं : कात्तिक २८, सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्नु अघि प्रधानमन्त्री केपी शर्मा ओलीले आफु इतर समुहका बहुमत सचिवालय सदस्यहरुलाइ पाँच पन्नाको लिखित जवाफ दिएका छन् । शुक्रबार अपराह्न ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बताइएको छ । सचिवालयको बैठकमा पार्टीभित्र उत्पन्न पछिल्लो परिस्थितिका बारेमा छलफल हुने बताइएको छ ।ओली र प्रचण्ड-नेपाल दुवै पक्षले आ–आफ्नो तयारी गरेका छन् ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार बहुमत सचिवालय सदस्यहरू (वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठ)लाई आफ्नो निवास खुमलटार बोलाएर एक्लाएक्लै र सामूहिक पनि छलफल गरेका छन् ।  त्यस्तै, प्रचण्डले स्थायी कमिटी सदस्यहरूलाई पनि छलफलका लागि खुमलटार बोलाएका थिए । प्रधानमन्त्री असोज २६ को स्थायी समितिको निर्णयको उलङ्घन गरेको भन्दै पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी कमिटीको बैठकको माग गर्दै कात्तिक १ गते र ९ गते अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई लिखित पत्र बुझाएका थिए ।

तर, ओलीले बैठक नबोलाएपछि अघिल्लो शुक्रबार र शनिबार बैठक बसेर कात्तिक २२ गते बिहान प्रधानमन्त्री ओलीलाई बैठक बोलाउन सहमति दिन माग गरेका थिए । पत्रमा प्रधानमन्त्रीबाट स्थायी कमिटी बैठकको निर्णयको रक्षा हुन नसकेको, सरकारले पार्टीको नीतिगत निर्देशन बेवास्ता गरेको एकाङ्की ढङ्गले चलेको, कोभिड–१९ न्यूनीकरण, नियन्त्रण, उपचारमा प्रभावकारिता देखाउन नसकेकोजस्ता आरोप लगाइएको छ ।

प्रधानमन्त्रीले दुई पाने आरोपपत्रको प्रत्युत्तरमा पाँच पानामा जवाफ फर्काएको उनको सचिवालयले जनाएको छ । “प्रधानमन्त्रीले कात्तिक २२ गते बुझाएको पत्रको लिखित जवाफ दिनुभएको छ । सबै सदस्यहरूलाई दिई पनि सक्नुभएको छ,” प्रधानमन्त्री निकट स्रोतले बाह्रखरीसँग भन्यो, “आज मूलतः तिनै विषयवस्तुमा केन्द्रित भएर छलफल हुनेछ ।”

प्रधानमन्त्रीको जवाफमा पार्टी अध्यक्ष प्रचण्डमाथि दर्जन आरोप लगाइएको छ । स्थायी कमिटीको म्यान्डेट पूरा गर्नतिर नलागेर गुटबन्दी गर्दै हिँडेको, पार्टी आन्दोलनलाई क्षयीकरण र क्रमशः विघटनको दिशातिर धकेलेको, कार्यकारी जिम्मेवारी पाएपछि सिन्को पनि नभाँचेको, एकता, एकीकरणका काम अलपत्र छाडेको, अध्यक्षको अभिभारा पूरा नगरेको र सरकारमाथि निरन्तर आक्रमण जारी राखेकोजस्ता आरोप लगाइएको छ ।


प्रतिक्रिया दिनुहोस !