१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ओली र प्रचण्ड मध्ये कसको राजनीति बढी धरापमा ?



काठमाडौं : मंसिर २, सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा करिब एक वर्षदेखि चल्दै आएको विवाद चरम उत्कर्षमा पुगेको छ । पार्टी अध्यक्ष प्रचण्ड र ओलीको बीचको लडाईँले एउटाको राजनीतिलाई ओरालोतर्फ धकेल्ने निश्चित भएको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टी दुवै पदको आड लिएर आफ्ना प्रतिस्पर्धिलाई दपेट्न थालेपछि पार्टी भित्रको विवाद फुट अवस्थामा पुगेको छ । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेको सत्तारुढ नेकपाको हरेक संगठन संरचना सहमतिका आधारमा तय गर्ने निर्णय भएको थियो। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाललाई सहअध्यक्षको भूमिका सीमित गरेपछि विवाद चुलिँदै गएको थियो ।

सरकार गठनका बेला दुवै अध्यक्ष (ओली र दाहाल) ले सरकारको पाँच वर्षे कार्यकालमा आधा–आधा समय सरकारको नेतृत्व गर्ने लिखिति सहमति भएको थियो। उक्त सहमति अनुसार ओलीले ६ महिनाअघि नै सत्ता दाहाललाई हस्तान्तण गर्नु पर्ने थियो। तर, दाहालले पूरै कार्यकाल ओलीलाई प्रधानमन्त्रीमा निरन्तरता दिन तयार भएपनि ओलीले भने प्रचण्डलाई कार्यकारी अधिकारसमेत नदिएपछि प्रचण्ड, नेपाल, गौतम, खनाल र श्रेष्ठको समुह मिलेर ओलीलाई बहुमतका आधारमा कारबाही गर्ने तयारीमा छन् । ओली र प्रचण्डको पार्टीलाई जनताले झण्डै दुई तिहाइको बहुमत दिए। तर, त्यो अनुसार न सरकार चल्न सक्यो न पार्टी नै । जनताका बीचमा पार्टीलाई ओलीले बदनाम गराए । बरु ओलीलाई कारबाही गरेर अगाडी बढ्दा जनताको सहानुभुति प्राप्त होला । ओलीले नेकपालाई नै बदनाम गरे । नेपालको कम्युनिस्ट आन्दोलनलाई बचाउने हो भने ओलीको बर्हिगमन अनिवार्य छ, अन्यथा हाम्रो पतन निश्चित छ । तसर्थ हामी अब ओलीको सती जान आवश्यक छैन सत्तारुढ नेकपाका ओली इतर समुहका नेताले भने ।

ओलीले यसअघि पनि पार्टी फुटाउन संवैधानिक परिषद् सम्बन्धी दुई अध्यादेश पार्टीभित्र सल्लाह नै नगरी जारी गरेका थिए । पछित्यसको चर्को आलोचना भए पछि फिर्ता लिएका थिए । ओली नेतृत्वको सरकारले गरेका कूकामको आफुहरुले बचाउ गर्दा कम्युनिस्ट आन्दोलन नै धरापमा पर्छ । ओलीलाई आन्दोलनको माया छैन तर हामीलाई बचेको आन्दोलन पनि बचाउ भन्ने लागेको छ । त्यसका लागि ओलीजस्ता दक्षिणपन्थी जत्थाको बहिर्गमन अनिवार्य छ ती नेताले भने ।

राजनीतिक पतन कसको ?

अघिल्लो हप्ता बालुवाटारमा बसेको सत्तारुढ नेकपा सचिवालय बैठकमा दाहालले पेश गरेको प्रतिवेदनमा सरकारप्रति तीब्र आलोचना गरिएको छ। उक्त प्रतिवेदनपछि ओली समुह निक्कै शसंकित बनेको छ । उक्त प्रतिवेदनपछि ओलीले आफु निकटका नेताहरुलाई बालुवाटारमै बोलाएर घनिभूत छलफल गरिसकेका छन् । पछिल्लो समय सचिवालय, स्थायी समिति, केन्द्रीय समिति र संसदीय दलमा समेत अल्पमतमा देखिएको प्रधानमन्त्री ओलीले बैठक बोलाउन अटेर गरिरहेका छन् । पार्टीका सबै केन्द्रीय संरचनामा अल्पमतमा भएपछि ओली ‘सरकार नछोड्नलाई जे पनि गर्ने’ मनस्थितिमा पुगेको सत्तारुढ नेकपाका नेताहरु बताउँछन् । सत्तासीन नेकपाभित्र देखिएको यो विवादले पार्टी जुटाउने भन्दा फुटाउनेतर्फ ढल्किसकेको र त्यसले प्रचण्ड वा ओलीमध्ये एक नेताको राजनीति धरापमा पर्ने आँकलन गरिएको छ ।

प्रतिवेदनले आत्तिएका ओलीले लक्ष्मी पूजाको दिन वरिष्ठ नेता नेपाल र उपाध्यक्ष गौतमसँग छुट्टा–छुट्टै वार्ता गरेका थिए। तर, त्यो वार्ता निष्कर्षविहीन बनेको थियो । आजमात्रै ओलीले आफ्ना विश्वासपात्र पार्टी महासचिव तथा अर्थमन्त्री विष्णु पौडेललाई दूतको रुपमा दाहाल निवास खुमलटार पठाएका थिए। तर, दाहालले ओलीमा विश्वास गर्ने झिनो आशा पनि नभएकाले प्रधानमन्त्रीबाट राजीनामा गरेमात्रै सहमतिको वातावरण बन्न सक्ने अडान राखेको स्रोतको दाबी छ ।

सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पगेपछि प्रधानमन्त्री ओलीले राष्ट्रपति विद्यादेबी भण्डारीसँग भेटघाट गरेका थिए भने आजै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति भेट्न शीतल निवास पुगेका थिए । ओलीले अप्रिय कदम चाल्न सक्ने ठानिएको छ । पार्टी फुट रोक्न ओलीले अनिवार्य राजीनामा दिनु पर्ने ओली इतर समुहको अडान छ । भने ओलीले पनि कडा कदम चाल्ने संकेत गरिसकेको छन् तसर्थ यो लडाईँले ओली वा प्रचण्ड एकजनाको राजनीति ओरालो लाग्ने जानकारहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !