१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

लमजुङमा जीप दुर्घटनामा परि एकको मृत्यु, एघार घाइते, चार जना गम्भीर



लमजुङ- लमजुङको दोर्दी गाउँपालिका ४ सिख्रभिर नजिकै बोलेरो जीप दुर्घटना हुँदा एक बृद्धाको मृत्यु हुनाको साथै एघार जना घाइते भएका छन् । बेंसीसहरबाट दोर्दी गाउँपालिका ५ पाचोक गाउँ जाँदै गरेको ग १ ज ७१२७ नम्बरको बोलेरो मंगलबार साँझ दुर्घटना हुँदा दोर्दी गाउँपालिका ५ छतीगाउँका ७० बर्षीया सुनी गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी गम्भीर घाइते भएकी उनको स्थानीय मेडिकलमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार चार जनाको टाउकोमा गम्भीर चोट लागेको छ । दोर्दी गाउँपालिका ५ का २० बर्षीय प्रकाश गुरुङ, दोर्दी गाउँपालिका ४ का ४८ बर्षीय पञ्चबहादुर तामाङ, दोर्दी गाउँपालिका ५ फोर्जुङका १५ बर्षीय निराजन गुरुङ र फोर्जुङमै १७ बर्षीय सुरेश गुरुङको टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनका अनसार दुर्घटनामा परी अन्य सात जना घाइते छन् । घाइते हुनेमा दोर्दी गाउँपालिका ५ का ३५ बर्षीय दुखित गुरुङ, दोर्दी गाउँपालिका ५ का ५ बर्षीय दिपशन गुरुङ, दोर्दी गाउँपालिका ५ पाचोकका ३७ बर्षीय चालक मक्कनसिंह गुरुङ, दोर्दी गाउँपालिका ५ फोर्जुङका १० बर्षीया आशिका गुरुङ, फोर्जुङकै ४२ बर्षीया मनिशा गुरुङ, दोर्दी गाउँपालिका ५ का १६ बर्षीय निरञ्जन गुरुङ र ८ बर्षीया निर्जला गुरुङ रहेका छन् । उनीहरुको लमजुङ जिल्ला सामुदायिक अस्पताल बेंसीसहरमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार उक्त घटना मंगलबार साँझ भएको हो । उक्त जीप करिव १० मिटर तल रहेको किसेदी खोलामा खसेको थियो । जीप सडकको कुनाबाट जानुपर्नेमा सडकको डिलबाट तल खसेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !