१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बैंकहरुले २५ वर्षदेखि पाउँदै आएको सेवा शूल्क कटौती



काठमाडौं : मंसिर ५, सरकारी संचित कोषबाट निवृत्तिभरण पाइरहेका पूर्वकर्मचारीलाई सरकारी बैंक खातामा सोझै रकम पठाउन थालेसँगै २५ वर्षपछि बैंकहरुले पाउँदै आएको सेवा शूल्क कटौती भएको छ । २०५२ सालबाट सेवानिवृत राष्ट्र सेवकलाई निवृत्तिभरण वापत रकम उपलब्ध गराएवापत सरकारले बैंकलाई १ प्रतिशत सेवा शुल्क दिँदै आएको थियो । तर, चालु आर्थिक वर्षदेखि सरकारले सेवानिवृत्त कर्मचारीलाई बैंक खातामा रकम भुक्तानी अनिवार्य गरेको छ । सोहीकारण बैंकहरुले पाउने १ प्रतिशत सेवा शुल्क खारेज गरिएको महालेखा नियन्त्रक कार्यालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार नेपाल सरकारबाट शोधभर्ना प्राप्त गर्ने, शैक्षिक तथा सन्तति वृत्ति र अन्य भुक्तानीमा बैंकबाट नै अग्रिम भुक्तानी दिई शोधभर्ना गर्नुपर्ने रकममा भने एक प्रतिशत सेवा शूल्क कायम नै रहनेछ । निवृत्तिभरण प्राप्त गरिरहेको व्यक्ति वा निजको हकवालाको मृत्यु भएमा निवृत्तिभरण वापत निजको बैंक खातामा जम्मा भएको रकम मृत्यु दर्ता भएसँगै सम्बन्धित पन्जिकाधिकारीको कार्यालयले बैंक र कोष तथा लेखा नियन्त्रक कार्यालयमा जानकारी गराउनुपर्नेछ ।

मृत्युपछि खातामा जम्मा भएको रकम संचित कोषमा फिर्ता हुनेछ । प्रवक्ता पौडेलकाअनुसार नेपालमा अहिले २ लाख ८४ हजार सेवा निवृत्त कर्मचारीले सरकारी संचित कोषबाट पेन्सन बुझ्छन् । सरकारले पेन्सनका लागि मात्र हरेक वर्ष ५५ अर्ब रुपैयाँ औसत खर्च गर्दै आएको छ ।


प्रतिक्रिया दिनुहोस !