१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कुल जनसंख्याको दुई प्रतिशतलाई कोरोना भाइरस संक्रमण हुनसक्ने



काठमाडौँ– ‘कोभिड–१९ महामारी र जोखिममा प्रभावकारी सञ्चारका लागि सांसदहरुको भूमिका’ सम्बन्धमा शनिबार काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कुल जनसंख्याको दुई प्रतिशतलाई कोरोना संक्रमण हुन सक्ने बताएका छन् । उनले सुरुमा कुल जनसंख्याको २ प्रतिशतमा पीसीआर परीक्षण गर्ने नीति लिइए पनि संक्रमण नियन्त्रणमा आउन नसक्दा अहिलेसम्म १६ लाख ५० हजार जनाको परीक्षण भइसकेको बताए। कोरोना संक्रमण र यसको उपचारको सम्बन्धमा पछिल्लो समय नागरिकको बुझाइका कारण सरकारलाई काम गर्न सहज भएको पनि मन्त्री ढकालले बताए।

उनले अहिले पनि कुल सक्रिय संक्रमितहरु मध्ये ८० प्रतिशत होम आइसोलेसनमा रहनुले नागरिकको बुझाइमा परिवर्तन आएको स्पष्ट हुने बताए। सरकारले अस्पतालहरुमा अक्सिजनसहितका बेडहरुको व्यवस्थापन गर्ने, औषधिको आपूर्ति सहज बनाउने सम्बन्धमा युद्धस्तरमा काम गरिराखेको उनको भनाई छ ।

तर पछिल्लो परिस्थिति अनुसार कुल जनसंख्याको २ प्रतिशतसम्म संक्रमण हुने अनुमान सरकारले गरेको मन्त्री ढकालको भनाई थियो। अबको चार महिनामा करिब १ लाख ४८ हजार जनामा संक्रमण पुष्टि हुनसक्ने अनुमान पनि सरकारले गरेको उनले बताए। सरकारले मुलुकमा भएका स्वास्थ्य संरचनाहरुको यथार्थभित्र रहेर अधिकतम काम गरिराखेको मन्त्री ढकालले दावी गरे। सामर्थ्य अनुसार संक्रमण रोकथामका लागि सरकार युद्धस्तरमा लागिरहेको उनको भनाई छ।

यस्तै विश्वमा भ्याक्सिन उत्पादन भएर विश्व स्वास्थ्य संगठनबाट प्रमाणित भई प्रयोग गर्ने अवस्थामा आउँदा नेपाली नागरिकहरुलाई पनि भ्याक्सिन दिलाउन सकियोस भन्ने तर्फ सरकारले ध्यान केन्द्रीत गरी काम गरिरहेको पनि मन्त्री ढकालले बताए।


प्रतिक्रिया दिनुहोस !