१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मेयर र प्रशासकीय अधिकृतको विवाद चुलिएपछि सेवाग्राही मारमा



भक्तपुर : मंसिर ८, भक्तपुरको मध्यपुर थिमि नगरपालिकाका मेयर मदनसुन्दर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत उद्धवप्रसाद रिजालबीचको विवाद नसुल्झिँदा अझै डेडलककै अवस्थामा रहेको छ । वडा दसै‌को सप्तमी अर्थात् कार्तिक ७ गतेदेखि सुरु भएको डेडलक एक महिना पूरा हुँदा पनि खुल्न सकेको छैन । मेयर श्रेष्ठले एकलौटी ढंगले प्रमुख प्रशासकीय अधिकृत रिजाल मन्त्रालय फिर्ता पठाएको सार्वजनिक गरेपछि नगरपालिका भित्रको विवाद सतहमा आएको थियो ।

नपासँग सम्झौता नै नभई काम थालेका ‘नक्कली’ उपभोक्ता समितिलाई दसैंको मुखमा पेश्की तथा निकाशा दिन मेयर श्रेष्ठले प्रमुख प्रशासकीय अधिकृत रिजाललाई दबाब दिएपछि दुईजनाबीच विवाद सुरु भएको थियो । प्रमुख प्रशासकीय अधिकृत रिजालले कार्यपालिकाले निर्णय नगरी आफूले नक्कली उपभोक्ता समितिलाई पेश्की तथा भुक्तानी दिन नसकिने अडान लिएका थिए । मेयर श्रेष्ठले आफूखुसी करिब सात करोडका योजना आफ्नो खल्तीको उपभोक्ता समितिमार्फत काम गराएका थिए ।

उनले लगत इस्टिमेटविनै नक्कली उपभोक्ता समिति खडा गरी धमाधम काम गराएका थिए । काम सुरु भएपछि मात्रै नेगर पालिकाका प्राविधिकलाई इस्टिमेट गराउने र उक्त इस्टिमेटको आधारमा बजेट निर्धारण गर्ने गरिएको थियो । तैपनि नपासँग योजना कार्यान्वयन गर्नेबारे कुनै सम्झौता नगरी ती नक्कली उपभोक्ता समितिलाई सीधै पेश्की रकम दिन दबाब दिएपछि प्रमुख प्रशासकीय अधिकृत र मेयर श्रेष्ठबीच विवाद चुलिएको थियो ।

अनधिकृत योजनाका नक्कली उपभोक्ता समितिलाई पेश्की दिन लगाउन विभिन्न तहबाट दबाब दिन लगाउँदा पनि प्रमुख प्रशासकीय अधिकृत रिजाल आफ्नो अडानबाट तसमस नभएपछि आक्रोशित मेयर श्रेष्ठले रिजाललाई कारबाही गरी मन्त्रालय फिर्ता गर्ने उद्देश्यले कार्तिक ६ गते आफैले पत्र काटेर नगर कार्यपालिकाको बैठक आह्वान गरेका थिए । स्थानीय तह सञ्चालनसम्बन्धी ऐन २०७४ ले भने मेयरको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले कार्यपालिकाको बैठक बोलाउने व्यवस्था गरेको छ । उक्त व्यवस्थाको बर्खिलाप हुने गरी मेयर आफैले पत्र काटेर बोलाएको बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित १५ जना कार्यपालिका सदस्य उपस्थित भएनन् । जसले गर्दा बैठकमा कोरम पुगेन र आफ्नो कुरा नमान्ने तथा नसुन्ने प्रमुख प्रशासकीय अधिकृतलाई कारबाही गरेर मन्त्रालय फिर्ता पठाउने मेयर श्रेष्ठको उद्देश्य पूरा भएन ।

प्रमुख प्रशासकीय अधिकृत रिजालले पनि आफू फिर्ता नभएको बताउँदै आएा छन् । प्रमुख प्रशासकीय अधिकृतको युजर नेम र पासवर्ड हटाउन लगाएका मेयर श्रेष्ठले नक्सापासमा आफै हस्ताक्षर गर्न खोजेका थिए तर ऐननियमले मेयरले नक्सापास गर्न नसकिने भन्दै सचेत गरेपछि उनी हच्किएका थिए । प्रमुख प्रशासकीय अधिकृत रिजालसँग व्यक्तिगत रिसइबी बढेपछि मेयर श्रेष्ठले रिजाललाई नपामा आएर काम गर्न नसकिने वातावरण तयार गरे । जसको कारण नगर क्षेत्रका ज्येष्ठ नागरिक, एकल महिला तथा अपांगता भएका व्यक्तिहरुले सामाजिक सुरक्षा भत्ता पाएका छैनन् । ज्येष्ठ नागरिक, एकल महिला र अपांगता भएकाहरुले दसैंमा नपाएको भए पनि तिहारमा सामाजिक सुरक्षा भत्ता मेयर श्रेष्ठ र प्रमुख प्रशासकीय अधिकृत रिजालबीचको विवाद साम्य नहुँदा प्राप्त गर्न सकेका छैनन् ।

अहिले आएर नपाका कर्मचारीहरुको तलबसमेत रोकिएको छ । त्यस्तै नक्सापास र नपाको नियमित प्रक्रियामा हुने विकास निर्माणका कार्यसमेत रोकिएको नपाका प्रवक्ता एवं वडा अध्यक्ष थापामगरले बताए । बहालवाला प्रमुख प्रशासकीय अधिकृत रिजालले वातावरण तयार गरिदिए काम गर्न आफू तयार रहेको बताउँदै आएका छन् ।


प्रतिक्रिया दिनुहोस !