१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सुधीर बस्नेतले हजारौँलाई ठगे, बैंकलाई पनि गुमराहमा पार्दै



काठमाडौं : मंसिर ९, चर्चित घरजग्गा कारोबारी सुधीर बस्नेतमाथि दश हजार जनाभन्दा बढीलाई ठगी गरेको आरोप छ । बस्नेतले सञ्चालन गरेको ओरियन्टल सहकारीमा निक्षेपकर्ताको ४ अर्बभन्दा बढी डुबेको थियो । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी डेपुटी गभर्नर भएका बेला गठित छानविन समितिका एक सदस्यका अनुसार बस्नेतले हाउजिङ र अपार्टमेन्टको नाममा पनि ४ अर्ब हाराहारी रकम ठगी गरेका थिए । उनले एउटा अपार्टमेन्ट तीन जनासम्मलाई बेचेको त्यतिबेला छानबिन समेतले पत्ता लगाएको थियो ।

ओरियन्टल बिल्डर्स एण्ड डेभलपर्सको नाममा २२ परियोजना सञ्चालन गर्न सर्वसाधारण, सहकारी र बैंक तथा वित्तीय संस्थाबाट रकम लिइएको थियो । अपार्टमेन्ट पाउने आशामा लगानी गरेका ७०० भन्दा बढीको रकम बस्नेतले झ्वाम पारेका थिए । ओरियन्टल बिल्डर्सको अपार्टमेन्ट किन्न खोज्दा रकम डुबाउनेको सूचिमा पूर्व सचिव, पत्रकारदेखि सरकारी कर्मचारीको समेत नाम छ । उनीहरूलाई मात्रै होइन ओरियन्टल बिल्डर्सका ऋण दिने बैंक तथा वित्तीय संस्थालाई समेत बस्नेतले गुमराहमा पारेका छन् । धापासीस्थित जग्गा धितो राखेर ओरियन्टलले एउटा वाणिज्य बैंकबाट ऋण निकालेको थियो । कर्जा सम्झौता अनुसार ऋण तिर्न नसकेपछि बैंकले बस्नेतको धापासीस्थित धितो राखेको जग्गा लिलामीमा राख्यो । लिलामीको सूचना निकाल्दा पनि धापासीको जग्गा बिक्री नभएपछि बैंक आफैंले सकारेको देखिन्छ ।

बस्नेतले लिलामी कार्य बदरको माग राखेर अदालतमा मुद्दा दायर गरेको नेपाल बैंकर्स संघका एक सदस्यले जानकारी दिए । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐनको दफा ५७ ले कर्जा सम्झौता अनुसार ऋण नतिर्ने ऋणको धितोबाट आफ्नो रकम असुल उपर गर्ने अधिकार सम्बन्धित बैंकलाई दिएको उनको भनाइ छ । उनलाई पीडितहरुले महाठग भन्ने गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !