१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई कोरोना संक्रमण



काठमाडौं- नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने कोरोना सङ्क्रमित हुनुभएको छ । यसअघि गत् मंगलबार १६ खेलाडीको कोरोना परीक्षण गरिएकोमा कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरीसहित तीन खेलाडी र एकजना कर्मचारीमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।

सन्दीपले सामाजिक सञ्जाल फेसबुकमा आफू कोभिड–१९ बाट सङ्क्रमित भएको उल्लेख गर्दै सङ्क्रमणको पुष्टि गर्नुभएको छ । बिहीबार स्वाब संकलन गरिएकोमा शुक्रबार अबेर उहाँमा सङ्क्रमणको पुष्टि भएको हो । सन्दीपले सामाजिक सञ्जालमा लेख्नुभएको छ, “गत् बुधबारदेखि शरीरमा दुखाइ महसुस गरेकोमा नियमित परीक्षणको क्रममा कोरोना पोजेटिभ भएको छ ।” उहाँले हाल सुधारको क्रममा रहेको बताउनुभएको छ ।

सन्दीप हाल आइसोलेशनमा बस्नुभएको छ । सबै ठीकठाक रहे आफू फेरि फिल्डमा फर्किने सन्दीपले बताउनुभएको छ । नेपाल क्रिकेट संघले आगामी अन्तर्राष्ट्रिय स्पर्धाको तयारीस्वरुप बिहीबारबाट खेलाडीहरुको बन्द प्रशिक्षण सुरु गरेको छ । सुरुको दुई दिन बन्द प्रशिक्षणमा सङ्क्रमित तीनै जना खेलाडी सहभागी भएका छैनन् । लक्षण नदेखिएकोले तीनै जना खेलाडीको पुनः परीक्षण गरिएकोमा सङ्क्रमण नदेखिएको क्यान स्रोतले जनाएको छ ।

छोटो अवधिका लागि बन्द प्रशिक्षणमा सहभागी भएर सन्दीप अष्ट्रेलियामा आयोजना हुन बिग बैश लिग खेल्न दुई सातापछि अष्ट्रेलिया प्रस्थान गर्ने तयारीमा हुनुहुन्छ । डिसेम्बर १० बाट सुरु हुने बिग बैश लिगमा उहाँ होबर्ट हुरिकेन्सको प्रतिनिधित्व गर्नुहुनेछ । यसअघि बीबीएलको दुई संस्करणमा उहाँ मेलबर्न स्टार्सको प्रतिनिधित्ग गर्नुभएको थियो ।


प्रतिक्रिया दिनुहोस !