१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सामुदायिक वन उपभोक्ता महासंघद्धारा नगरपालिको ध्यानाकर्षण



थम्मन थापा

बागलुङ- सामुदायिक वन उपभोक्ता महासंघ नेपाल गलकोट बागलुङले गलकोट नगरपालिकालाई ज्ञापन पत्र बुझाएको छ । महासंघले रुख कटान तथा बिक्रि वितरण गर्न लागइएको रुख फुकुवा गर्दै उच्च स्तरिय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न माग गर्दै नगरपालिकालाई ज्ञापन पत्र बुझाएको महासंघका गलकोट नगर समितिका अध्यक्ष घनश्याम गौतमले जानकारी दिनुभयो । नेपाल सरकार मन्त्रीपरिषदबाट नै जेठ ५ गते वन क्षेत्रबाट काठ कटान ओसार पोसार तथा विक्रि वितरणमा लगाईको प्रतिवन्द महासंघकै पहलमा खोल्न सहमति भएको भएपनि साल बाहेका काठ मात्र खुलाई सालमा निरन्तर प्रतिवन्द रहेकोले देशभरका २२ हजार २ सय ६६ सामुदायिक वन व्यवस्थापन गरिरहेका २९ लाख घरधुरी १ करोड ४० लाख उपभोक्ताले आफ्ना दैनिक कामहरु गर्न बञ्चित भएका छन् ।

सालका काठ रोक्का हुँदा समुदायका उपभोक्ताहरुले घर गोठ बनाउन वञ्चित भएका छन । अर्कोतिर सामुदायिक वनले स्थानिय गरिब विपन्न वर्गलाई गर्दै आएको सहयोग रोकिदा चाडपर्व समेत मनाउन नपाएर दुखदायी अवस्था भोग्न बाध्य भईरहेका छन । त्यस विषम परिस्थितीमा सरकार जनताको सेवक हुनुपर्नेमा उल्टै समुदायले उपभोग गरिरहेको अधिकार समेत कटौती गर्नु लोकतान्त्रिक गणतन्त्रमाथिको प्रहार भएको भन्दै ज्ञापन पत्र बुझाएको महासंघका सचिव डम्मर बहादुर खत्रीले जानकारी दिनुभयो । ज्ञापनपत्रमा गत असोज ११ मा निर्णय भए अनुसार उक्त मान्यताले छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका क्रममा विभिन्न कार्यहरु सुरु गरेको भन्ने व्यहोरा अवगत भएतापनि सामुदायिक वन उपभोक्ता समुहले सामुदायिक वनबाट सालका काठहरुको सदुपयोग तथा बिक्रि वितरणका विषयमा हाल सम्म पनि कुनै निर्णय नभई अवरोध सिर्जना भएकोले सो विषयमा यस महासंघको ध्यानाकर्षण भएको उल्लेख गरिएको छ ।

महासंघले रोकिएको वनपैदावर खुलाउन र उच्च स्तरिय छानबिन समितिको प्रतिवेदनमा सामुदायिक वनको सन्दर्भमा दिईएका सुझावहरु तत्काल कार्यान्वयन गर्न अनुरोध गर्दै सामुदायिक वन उपभोक्ता समुहले लामो समयदेखि आफ्नो वनबाट संकलित सालको काठ लगायतका वन पैदावारको सदुपयोग एवं बिक्री वितरण गर्नबाट वञ्चित हुदै आएको छ । यसबाट सामुदायिक वन उपभोक्ता समुहहरु शशक्त आन्दोलमा जानुपर्ने अवस्था सृजना भएकोले यस्तो अवस्था सिर्जना हुन नदिनका लागि उच्च स्तरिय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्नको लागि माग गरिएको महासंघका अध्यक्ष घनश्याम शर्मा र सचिव डम्मर बहादुर खत्रीद्वारा हस्ताक्षरित ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापन पत्र ग्रहण गर्दै गलकोट नगरपालिकाका नगरप्रमुख भरत शर्मा गैरेले यसको लागि गलकोट नगरपालिकाले आवश्यक सहजिकरण गर्ने बताउनु भयो । उपभोक्ताको हितमा गलकोट नगर सदैव प्रतिबद्ध रहने नगर प्रमुख गैरेले उल्लेख गर्नुभयो । त्यस्तै गलकोट नगरपालिकाका नगर उपप्रमुख रेणुका काउचा मगरले स्थानीय तह मार्फत हुने सबै सहयोग गर्न आफुहरु सकारात्मक रहेको बताउनु भयो ।


प्रतिक्रिया दिनुहोस !