१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

एआइजीको दरबन्दी थप्ने निर्णय फिर्ता लिन सरकारलाई संसदको राज्य व्यवस्था समितिको निर्देशन



काठमाडौँ- संसदको राज्य व्यवस्था समितिले एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय तत्काल फिर्ता लिन निर्देशन दिएको छ। राज्य व्यवस्था समितिको बुधबार बसेको बैठकले एआइजीको दरबन्दी थप्ने सरकारको निर्णय फिर्ता गर्न सरकारलाई निर्देशन दिएको हो।

मन्त्रिपरिषद्‌ले केही दिनअघि एक जना एआइजी र तीन जना डिआइजी थप्ने निर्णय गरेको थियो। यसको केही दिनपछि डिआइजी विश्वराज पोखरेललाई आकस्मिक रुपमा एआइजीमा बढुवा गरिएको थियो। पोखरेललाई एआइजी बनाउनेबित्तिकै उनी निर्विवाद रुपमा आइजी बन्नेछन्। सरकारले पोखरेललाई निर्विवाद आइजी बनाउन दरबन्दी थपेको भन्दै आलोचना भइरहेको छ।

समितिको बैठकमा सभापति शशि श्रेष्ठले सम्बन्धित मन्त्रालयको प्रस्तावबिनै एआइजीको दरबन्दी थप्ने मन्त्रिपरिषद्को निर्णय फिर्ता दिन निर्देशन दिएकी थिइन्। गृहको प्रस्तावबिनै मन्त्रिपरिषद्ले दरबन्दी थपेको हो। समिति बैठकमा उपस्थित गृहमन्त्री रामबहादुर थापा बादलले यसबारे कुनै स्पष्ट प्रतिक्रिया नदिए पनि यसबारे आफूले बुझ्ने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !