१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सभामुखविरुद्धको मुद्दा हेर्न नभ्याइने !



काठमाडौं, पुष ३ । प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटाविरुद्ध परेको व्यक्ति हत्या मुद्दामा सर्वोच्च अदालतले पेशी चढाए पनि शुक्रबार सुनुवाई हुन सकेन ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा, मीरा खड्का, दीपककुमार कार्की, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठको संवैधानिक इजलासमा मुद्दा तोकिए पनि सुनुवाई हुन नसकेको हो ।

पेशी चढेपनि उक्त मुद्दामा ‘हेर्न नभ्याइने’ मा राखिएकाले सुनुवाई नभएको हो ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद उत्कर्षमा रहेकै बेला सापकोटाविरुद्ध मुद्दा पेशीमा पुगेको हो ।

खासगरी नेकपामा अध्यक्षद्वय ओली र पुष्पकमल दाहालबीच कुर्सीको खिंचातानीले सरकार अनिर्णयको बन्दी बनिरहेको छ ।

संवैधानिक निकायमा रिक्त रहेका पदपूर्ति गर्न बोलाइएको परिषद बैठकमा दाहालको इशारामा सापकोटा नगएको भन्दै ओलीले परिषदसम्बन्धि अध्यादेश नै ल्याउनुभएको छ ।

यस्तो पृष्ठभूमिमा २०६९ सालमा दायर गरिएको तर सर्वोच्चले सुनुवाई नगरी यत्तिकै राखिराखेको मुद्दामा पेशी तोकिएकामा अनेकन अर्थको खोजी हुँदैछ ।

काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटाको हात रहेको आरोप लगाउँदै उनकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते दायर रिटमा सर्वोच्चले अग्राधिकार दिएर हालसम्म सुनुवाई नै गरेको छैन ।

सर्वोच्चले लामा हत्या प्रकरणमा १५/१५ दिनमा प्रतिवेदन बुझाउन दिएको आदेशमा प्रहरीले पक्राउ गर्न अनुसन्धान गरिरहेको जवाफ दिँदै आएको छ ।

पूर्णीमायाले सापकोटा र सूर्यमान दोङसहित माओवादी कार्यकर्ता यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम, नोर्बु मोक्तानले हत्या गरेको किटानी जाहेरी दिएकी थिइन् ।

२०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझको कृष्ण मावि व्यवस्थापन समितिका अध्यक्ष रहेका लामालाई माओवादी लडाकुले अपहरण गरी बेपत्ता बनाई पछि हत्या गरेका थिए ।


प्रतिक्रिया दिनुहोस !