१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कञ्चनपुरको प्यारा ताल भारतको कब्जामा, नेपालीलाई प्रवेश निषेध



काठमाडौं : पौष ३, कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका वडा नं. ९ मा रहेको प्यारा ताल पछिल्लो समय भारतले कब्जा गरेको छ । कालापानीमा जस्तै प्यारा तालमा पनि भारतीय सुरक्षाकर्मीले नेपालीलाई प्रवेशमा रोक लगाएका छन् ।

५ किलोमिटर लम्बाई र ६० मिटर चौडाई भएको उक्त ताल २०६१/०६२ मा खटिएको संयुक्त सीमा सर्वे टोलीको लापरवाहीका कारण भारतको कब्जामा पुगेको हो ।

दुवै देशबाट खटिएको संयुक्त टोलीले सर्भे गर्दा नेपालका तर्फबाट सर्वेक्षकमा मधुकर मास्के थिए । सर्भे गर्ने संयुक्त टोलीले नेपालमा सशस्त्र जनयुद्ध उत्कर्षमा पुगेको भन्दै सुरक्षा समस्या देखाएर त्यतिबेला भारतमै डेरा बनाएर बसेर स्थलगत अध्ययन बेगर नै सीमा निर्धारण गरेको स्थानीयवासीको भनाइ छ । एक्कासी पिल्लर गाड्दामात्र आफूहरुले थाहा पाएको उनीहरुको गुनासो छ ।

स्थानीयवासीका अनुसार पुरानो पिल्लर प्यारा तालदेखि ६०० मिटरको दुरीमा भारततिर थियो, जो अहिले पनि ढलेको अवस्थामा छ । सो क्षेत्रमा अहिले भारतीय सुरक्षाकर्मीले नेपालीहरुलाई जान दिएका छैनन् । अहिलेको नयाँ पिल्लर प्यारा तालदेखि ५०० मिटर नेपाली भू–भागतर्फ राखिएको छ ।

भारतीय पक्षले पिल्लर नं. १९४ र अहिलेको नयाँ गाडिएको १९५ पिल्लरको बीचमा १ किलोमिटर नेपाली भू–भाग कब्जा गरेको छ । जसमा नेपाली नागरिकको २ बिघा जग्गासमेत भारतको कब्जामा परेको छ । आफूसँग लालपुर्जा भएपनि भोगचलन गर्न नपाएको स्थानीयवासीको गुनासो छ ।

पुनर्वास नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नारायणप्रसाद जैशीका अनुसार भारतीयले गुगल म्यापमा समेत नेपाली भूमिलाई आफ्नो देखाएको छ ।


प्रतिक्रिया दिनुहोस !