१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बेलायतमा देखिएको नयाँ कोरोना पुरानो भन्दा ७० प्रतिशत बढी खतरनाक



काठमाडौं : पुष ९, बेलायतमा तीब्र रुपमा फैलिएरहेको नयाँ कोरोना भाइरसले विश्वलाई पुनः चिन्तित बनाएको छ । नेपालसहित विश्वका ५० भन्दा बढी देशले बेलायतबाट जाने उडानमा र बेलायतबाट एवं बेलायत हुँदै आउने यात्रुमा रोक लगाएका छन् ।

कोरोनाको नयाँ भाइरसको इन्फेक्सनबाट बेलायतमा मंगलबार मात्रै ७ सय जनाको मृत्यु भएको छ भने एकैदिन ३६ हजार भन्दा बढी संक्रमित भएका छन् । नयाँ रूपको कोरोना भाइरस भेटिएपछि मंगलबार मात्र नेपालले बेलायतबाट आउने यात्रुलाई नेपाल प्रवेशमा रोकसमेत लगाएको छ ।

हालसम्मको अध्ययनअनुसार पुरानो रूपको कोरोना भाइरस भन्दा नयाँ रूपको कोरोना भाइरस ७० प्रतिशत बढी संक्रामक रहेको बेलायतको युनिभर्सिटी अफ हर्डस्फिल्डका ग्लोबल पब्लिक हेल्थका प्राध्यापक डा. पदम सिम्खडा बताउँछन् ।

बेलायतका ६० भन्दा बढी स्थानीय तहमा नयाँ स्वरुपको कोरोना भाइरस फैलिएको र कोभिड–१९ भन्दा बढी हानिकारक रहेको अध्ययनहरूले देखाएका छन् । अहिले निर्माण भएर अनुमति पाएका कोरोना बिरुद्रको खोपहरुले नयां स्वरूप देखिएको भाइरसलाई काम गर्छ कि गर्दैन भन्ने चासो सर्वत्र पाइएको छ ।

सामान्यतया जति पनि खोप बनिरहेका छन् वा अन्तिम परीक्षणमा छन्, तिनले नयाँ स्वरुपको कोरोना भाइरसविरुद्ध पनि काम गर्ने सम्भावना रहेको चिकित्सक बताउछन् ।

नयाँ स्वरूपको कोरोना भाइरस संक्रमण हुँदा पनि पुरानै लक्षण देखिएको पाइएको छ । सामान्यतया पुरानो कोरोना भाइरस संक्रमित व्यक्ति र नयाँ रूपको कोरोना भाइरस संक्रमित व्यक्तिमा देखिने लक्षणमा खासै फरक पाइएको छैन । रुघाखोकी, छाती दुखाई, ज्वरो, गन्ध र स्वाद थाहा नपाउने, जिउ दुख्ने र शरीर चिलाउनेजस्ता लक्षण पुरानो तथा नयाँ रूपको कोरोना भाइरसमा देखिएका छन्।


प्रतिक्रिया दिनुहोस !