१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

बादललाई कार्यकारी अध्यक्ष बनाउने ओली समुहको आश्वासन !



काठमाडौं : पौष ९, प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेपछि भएको राजनीतिक उथलपुुथलसँगै कम्युनिस्ट पार्टी (नेकपा) दुई समुहमा विभाजित भएको छ ।

अहिलेसम्म पार्टी विभाजनको घोषणा नभएपनि दुबै पक्षको गतिविधिले पार्टी विभाजनमा गइसकेको र अब निर्वाचन आयोगबाट कसले आधिकारिकता पाउने र निर्वाचन चिन्ह कसले पाउने भन्नेमै केन्द्रीत रहेको छ । तर प्रचण्ड–नेपाल समुहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट बर्खास्त गरिसकेको छ भने प्रतिनिधिसभा पुनर्स्थापना समेत गरेर नयाँ सरकार बनाउने दावी गरेको छ । त्यस्तै, प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ भने सो रिट अदालतमा विचाराधीन अवस्थामा रहेको छ । 

पार्टी फुटमा गएकै बेला उपाध्यक्ष वामदेव गौतम र सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा अहिलेसम्म दुबै पक्षको भेला तथा बैठकमा सहभागी भएका छैनन् । अन्तिममा गौतम प्रचण्ड–नेपाल समूहतिर र बादल ओली पक्षतिरै ढल्किएको उनी निकट स्रोत बताउँछ ।

संसद विघटन भएसँगै प्रधानमन्त्री ओली र बादलबीच पटक–पटक भेटवार्ता भएको छ भने सो भेटका क्रममा आफू प्रचण्ड–माधव पक्षतिर नरहेका बादलले ओलीलाई बताउँदै आएका छन् । स्रोतका अनुसार ओलीले बादललाई आकर्षक अफर गरेका छन् । स्रोतले त्यो आकर्षक अफर के हो भन्नेबारे स्पष्ट नखुलाएपनि ओली पक्षमा बादललाई कार्यकारी अध्यक्षसम्म बनाउनेसम्मको अफर गरिएको छ । 

विगतमा प्रचण्डसँग विभाजन भएर वैद्यसमूहतिर लागि पुनः माओवादी केन्द्रमै बिलिन भएका बादल अहिले पनि प्रचण्डसँग बस्नुभन्दा ओलीतिर लाग्नु हितकर हुने निष्कर्षमा पुगेको उनी निकट स्रोतको भनाइ छ । बादल समूहबाट मणि थापा यसअघि नै ओली समूहतिर गइसकेका छन् । उनको समूहबाट प्रतिनिधित्व गर्ने अन्य नेताहरु भने प्रचण्ड–नेपाल समूहतिर लागेका छन् । उसो त प्रचण्डले पनि बादललाई आफूतिर तान्न पहल गर्दै आएका छन् । तर उनले त्यति चासो नदिएको बताइएको छ । 


प्रतिक्रिया दिनुहोस !