१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपाली सेनाद्वारा गोरखा-काठमाडौं एकीकरण मार्गको पदयात्राको शुरुआत



काठमाडौं : पुस २१, पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको सन्दर्भ पारेर गोरखा-काठमाडौं एकीकरण मार्गमा नेपाली सेनाले पदयात्रा सुरु गरेको छ । मंगलबार गोरखा दरबारको हनुमान भञ्ज्याङबाट यात्रा सुरु भएको हो । सहसेनानी दल बहादुर थापाको नेतृत्वमा ४० जनाको टोली पदयात्रामा सहभागी छन् ।

राष्ट्रिय झण्डा, सेनाको आफ्नै झण्डा, टर्च बोकेर फूलको माला लगाएर नेपाली सेनाको टोली हनुमान भञ्ज्याङबाट हिँडेको छ । पृथ्वीनारायण शाहले नेपाली एकीकरण गर्दा गोरखादेखि काठमाडौंसम्म हिँडेको बाटो भएर यात्रा गर्दै यात्रामा सहभागीहरु पुस २६ गते काठमाडौं पुग्नेछन् र २७ गते हनुमान ढोकामा आयोजित राष्ट्रिय एकता दिवस तथा पृथ्वी जयन्तीको कार्यक्रममा सहभागी हुनेछन् ।

यात्रामा सहभागीलाई बिदाइ गर्दै पश्चिम पृतनापति, उपरथी बिनय विक्रम राणाले इतिहासको संरक्षण गर्न एकीकरण मार्गको पदयात्राले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘सेनाको जिम्मेवारी राष्ट्रिय एकता कायम गर्ने पनि हो, इतिहास जोगाउन यस्तो अभियान देशब्यापी चलिरहेको छ।’

नेपाल एकीकरण सुरु भएको जिल्ला गोरखाबाट पदमार्ग र पदयात्रा सुरु हुनु नेपालको पहिचान समेत रहेको उहाँले बताउनुभयाे । पृथ्वी नारायण शाहलाई साथ दिने तत्कालिन सेनाका गणमा गोर्खालीहरुको योगदान रहेको बताउँदै पृतनापति राणाले एकीकरणमा पनि गोरखाले ठूलो योगदान गरेको चर्चा गर्नुभयाे ।

यात्रामा रणसिंह दल गण, शार्दुलजंग गुल्मसँगै नेपाली सेनाको पाँच प्रथम कम्पनी श्रीनाथ, कालिबक्स, पुरानो गोरखा, बर्दबहादुर र सबुजको टोली सहभागी रहेको रणसिंह दल गण गोरखाका गणपति उज्वल केसीले बताउनुभयाे । गोरखा दरबार–जोर चौतारी–ताप्ले–अश्राङ–बोर्लाङ–बोर्लाङघाट (घाटबेसी) सम्म गोरखाबाट हिँडेको सेना पुग्नेछ । राष्ट्रिय झण्डा, टर्च लाईट, ब्याण्ड बाजासहित टोली यात्रामा सहभागी छ।

गोरखबाट हिँडेको टोलीले धादीङको सल्यान्टारमा देविदत्त गणको टोलीलाई झण्डा, टर्च हस्तान्तरण गर्नेछ । धादीङको टोलीले नुवाकोटको जवरजंग गणको टोलीलाई हस्तान्तरण गरेपछि उक्त टोली काठमाडौं पुग्ने रणसिंह दल गणका गणपति उज्वल केसीले बताउनुभयाे ।

पछिल्लो समयमा पृथ्वीनारायण शाहले पुर्‍याएको योगदानको महत्वलाई कमजोर बनाउँदै आइरहेको समयम नेपाली सेनाको नेतृत्वमा सञ्चालन गरिएको ‘एकीकरण टर्च’ र्‍यालीलाई अर्थपूर्ण रुपमा हेरिएको छ । गोर्खाली फौजले विसं १८०१ असोज १५ मा नुवाकोटमाथी विजयी गरेर उपत्यका प्रवेश गर्दै नेपाल एकीकरणको थप सफलताले विशाल नेपाललाई एउटै मालामा गास्न सफल भएको सन्देशलाई ‘एकीकरण टर्च’ र्‍यालीमार्फत सकारात्मक सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ ।

गोरखाबाट धादिङ–नुवाकोट हुँदै काठमाडौँसम्मको पदमार्ग ‘रुमाले’ २६ कोषको रहेको छ । र्‍याली सञ्चालनले पदमार्ग, कोट, गण र किल्ला संवर्द्धन, संरक्षण तथा प्रवर्द्धन गर्न सहयोग पुग्ने विश्वास गरिएको छ ।


प्रतिक्रिया दिनुहोस !