१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोरोनाभन्दा बढी खतरनाक काठमाडौंको वायु प्रदुषण



काठमाडौं : पुस २३, कोरोना भाइरसको महामारीभन्दा वायु प्रदूषण काठमाडौँ उपत्यकाका लागि खतरनाक रहेको बैज्ञानिकहरु बताउँछन् । गणेशमानसिंह अध्ययन प्रतिष्ठानले आयोजना गरेको छलफलमा सहभागी विज्ञले समयमै सरकारले वायु प्रदूषण कम गर्न स्पष्ट नीति र योजना नल्याए काठमाडौँ उपत्यकाको स्थिति भयावह हुने बताएका थिए ।

कार्यक्रममा सहभागी श्वासप्रश्वास्सम्बन्धी रोगका विज्ञ डा. अषेश ढुङ्गानाले उपत्यकामा बर्सेनी वायु प्रदूषण बढ्दै गएको बताए । वायु प्रदूषणका कारण मधुमेह, उच्च रक्तचाप, क्यान्सर, मुटुका रोगीको सङ्ख्या बढ्दै गएको उनले उल्लेख गरे ।

काठमाडौँमा दिनहुँ सवारीसाधन थपिँदै गएका, कलकारखाना सञ्चालन हुनेक्रम बढ्दै गएको, विकास निर्माणले गति लिँदा वायु प्रदूषण बढ्दै गएको छ । समयमै वायु प्रदूषण कम गर्न सरकारले कदम चाल्नुपर्नेमा डा. ढुङ्गानाले जोड दिए ।

धुम्रपानका कारण मात्र फोक्सोको रोग लाग्ने जानकारी मात्र राख्ने गरेको प्रसङ्ग उल्लेख गर्दै उनले पछिल्लो समय वायु प्रदूषणका कारण बढीजसो फोक्सोको रोग लाग्ने गरेको बताए । वायु प्रदूषणकै कारण मुटुका रोगीको सङ्ख्या बढ्दै गएको र यसकै कारण पछिल्लो समय हृदयघातबाट ज्यान गुमाउनेको सङ्ख्यामा वृद्धि भइरहेको डा. ढुङ्गानाले बताए ।

नेपालमा बर्सेनी वायु प्रदूषणका कारण ४० हजार व्यक्तिले ज्यान गुमाउने गरेको उनले बताए । शहरलाई हरियाली बनाउनुपर्ने, फोहर बिसर्जन उचित ढङ्गले गर्नुपर्ने, दाउराको प्रयोग घटाउनुपर्ने, इन्धनबाट चल्ने सवारीसाधनको सङ्ख्या घटाउनुपर्नेलगायत कुरामा उनले जोड दिए ।


प्रतिक्रिया दिनुहोस !