१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

मोदीले भेट्न नमानेपछि निराश भएर स्वदेश फर्किए ज्ञवाली



काठमाडौं : माघ ३, नेपालको पछिल्लो राजनीतिक अवस्थाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको सन्देश लिएर परराष्ट्रमन्त्री स्तरीय नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन दिल्ली गएका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेट नगरी स्वदेश फर्किएका छन् ।

मन्त्री ज्ञवाली स्वदेश फर्कनुअघिसम्म प्रधानमन्त्री मोदीसँग भेटका लागि समय मिलाउन प्रयासरत थिए । तर, मोदीले समय नदिएपछि भेट नगरेरै फर्किएका हुन् । पालैपालो दुई देशमा हुँदै आएको नेपाल–भारत परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकका बेला परराष्ट्र मन्त्रीले सरकार प्रमुखसँग भेट्ने परम्परा रहेको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीसँग भारतिय प्रधानमन्त्रीले भेट गर्ने समय नदिएपछि नेपालको पछिल्लो राजनीतिक घटनाक्रमलाई भारतले कुन रूपमा लिएको छ भन्ने स्पष्ट हुन सकेन । मन्त्री ज्ञवालीले शनिबार बिहान भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भने भेट गरेका थिए ।

स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री ज्ञवालीले भारतका विदेशमन्त्री एस जयशंकरसँग भएको वार्ताका क्रममा नेपाललाई आवश्यक कोभिड भ्याक्सिनको तत्कालको आवश्यकता भारतले पूर्ति गरिदिने सहमति भएको जानकारी दिए ।

सन् १९५० को सुगौली सन्धीको पुनरावलोकन, प्रबुद्ध समूहले तयार पारेको प्रतिवेदन, सीमासम्बन्धी कार्यहरू टुंग्याउनेलगायतका विषयमा गहन छलफल भइ सकारात्मक निष्कर्ष निकालेको उनले बताए ।


प्रतिक्रिया दिनुहोस !