१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

धमलाको शतक, पुलिस क्लबद्वारा लुम्बिनी प्रदेशलाई ३ सय ११ रनको लक्ष्य



काठमाडौं : माघ ८, विभागीय टोली नेपाल पुलिस क्लबले काठमाडौंमा जारी प्रधानमन्त्री(पिएम) कप क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशलाई ३ सय ११ रनको लक्ष्य दिएको छ । त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको पुलिसले निर्धारित ५० ओभरमा ४ विकेट गुमाएर ३ सय १० रन बनायो ।

पुलिसका लागि सुनिल धमलाले शतकीय पारी खेले । उनले १ सय ४५ बलको सामना गर्दै ७ चौका र १ छक्काको मद्दतले १ सय ४ रन बनाए । दीपेन्द्रसिंह ऐरी र पवन सराफले अर्धशतकीय पारी खेले । दीपेन्द्रले ८५ रन बनाउँदा पवनले नटआउट ५० रन बनाए । यस्तै पुलिसका आरिफ शेखले २९ र अमित श्रेष्ठले २८ रन बनाए ।

बलिङतर्फ लुम्बिनी प्रदेशका कृष्ण कार्की, अनिल खरेल, दिपेन्द्र रावत र सौरभ खनालले १–१ विकेट लिए ।

यस्तै, मुलपानी क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले विभागीय टीम सशस्त्र प्रहरी बललाई १ सय ७ रनको सामान्य लक्ष्य दिएको छ ।

टस हारेर पहिला ब्याटिङमा तानिएको गण्डकी प्रदेशले ४६ ओभरमा सबै विकेट गुमाएर १ सय ६ रन जोड्न सक्यो । उसका लागि समीर कँडेलले सर्वाधिक ३६ रन बनाए भने दीपेश खत्री र विष्णु पाण्डेले समान १५–१५ रन जोडे । दिनेश बुढामगरले १२ रन बनाए ।

गण्डकी प्रदेशलाई सस्तैमा समेट्न सशस्त्रका किशोर महतो एक्लैले ४ विकेट लिए । यस्तै कमल ऐरीले ३ तथा अभिनास बोहोरा र भुवन कार्कीले समान २–२ विकेट लिए । अहिले सशस्त्र प्रहरी बल र लुम्बिनी प्रदेशको टोलीले जवाफी ब्याटिङ गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस !