१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भतिजाको हत्या गर्न २५ लाख सुपारी दिने यादवसहित ६ जना पक्राउ



बुटवल : माघ १४, रुपन्देहीको मायादेवी गाउँपालिकामा एक हप्ता अघि गैरगट्टी दानव नदी नजिकै खेतमा ३४ वर्षीय राजेन्द्र यादवको जलाएर हत्यामा संलग्न भएको आरोपमा ६ जना पक्राउ परेका छन् ।

घटनामा संलग्न ८ जनामध्ये आरोपित ६ जनालाई रुपन्देही प्रहरीले पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो । यादवलाई उनकै भाइ, काका र काकाको सम्धीले सम्पत्तिका लागि हत्या गरेको अनुसन्धानबाट पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख प्रहरी उपरीक्षक प्रविण पोखरेलले बताए ।

पक्राउ पर्नेमा हत्याका मुख्य योजनाकार रुपन्देहीको सियारी गाउँपालिका– २ बस्ने रामबेलाश यादव, बुद्धिराम कोहार, मृतकको भाइ विरेन्द्र यादव, काकाको सम्धी सन्त कुमार यादव तथा सिद्धार्थनगर–११ का राकेश यादव र अफताव मुसलमान रहेका छन् । घटनामा संलग्न मध्यस्तकर्ता लङ्गारे भनिने ईन्द्रजित यादव र सोनु मुराउ फरार रहेका छन् ।

मृतकका काकाले भतिज राजेन्द्रको हत्या गराउने मध्यस्तकर्तालाई २५ लाख रुपैयाँ वा एक कठ्ठा जग्गा दिने शर्तमा हत्या गराएको अनुसन्धानबाट खुलेको प्रहरी उपरीक्षक पोखरेलले बताए । घटना गराउने मुख्य योजनाकार बुद्धिराम कोहारले नगद २० हजार र ५० हजार गरी २ पटकमा ७० हजार मृतकको काकाबाट लगिसकेका थिए ।

जितेन्द्रलाई स्थानीय भट्टी पसलमा मदिरामा निद्रा लाग्ने औषधी मिसाएर खुवाई बेहोस बनाएपछि पाइपले घाँटी थिचेर हत्या गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । हत्यापछि राजेन्द्रको मृत शरीरलाई घटनास्थलबाट घिसारेर केही तल पुर्‍याई पेट्रोल छर्केर आगो लगाइएको थियो ।


प्रतिक्रिया दिनुहोस !