१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

ज्ञानेन्द्रले कू गरेको १६ बर्ष, राजा प्रवृति बोकेका सयौँ छोटे राजाहरु



काठमाडौं : माघ १९, तत्कालीन राजा ज्ञानेन्द्र शाहले २०६१ सालमा आजकै दिन शासनसत्ता हातमा लिएका थिए । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद विघटन गरी आफ्नै अध्यक्षतामा मन्त्रीमण्डल गठन गरेको र राजकीय तथा शासकीय सत्ता अब आफ्नो हातमा रहेको घोषणा गरेका थिए । ज्ञानेन्द्र शाहले मुलुकमा जारी युद्धलाई देखाएर संविधान नै कब्जा गरेका थिए । नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कांग्रेस प्रजातन्त्रलगायतका राजनीतिक दलका नेताहरुलाई पक्राउ गरी नजरबन्दमा राखिएको थियो ।

ज्ञानेन्द्र शाहले संसदमा रहेका सबै राजनीतिक दलमाथि नजरबन्द लगाएपछि माओवादीलाई आतंककारी घोषणा गरेका तत्कालीन एमाले र कांग्रेस लगायतका दलहरु लामो शसस्त्र युद्ध गरिरहेको माओवादीसँग सहकार्य गर्न तयार भएका थिए । माओवादी बिना सडक आन्दोलन थालेका तत्कालीन संसदवादी राजनीतिक दलहरु सडकमा मानिस उतार्न नसकेर निराश बनेको बेला तत्कालीन विद्रोही माओवादीसहित प्रमुख सात राजनीतिक दलहरुबीच १२ बुँदे सहमति भएअनुसार दोस्रो जनआन्दोलनको थालनी भएको थियो ।

त्यसपछि २०६२ चैत २४ गते सुरु भएर २०६३ वैशाख ११ सम्म चलेको १९ दिने जनआन्दोलनले संसद पुनःस्थापना गरेको थियो । यही बीचमा माओवादी शान्ति प्रक्रियामा आएको थियो । जनआन्दोलनको जगमा पुनःस्थापित संसदले मुलुकबाट राजतन्त्र समाप्त गरी गणतन्त्र घोषणा गरेको थियो । त्यसपछि राजा ज्ञानेन्द्र नारायणहिटी दरबार छाडेर नागार्जुन गएका थिए । ज्ञानेन्द्रले टेलिभिजन सम्बोधनमार्फत् ‘जनताको नासो जनतालाई नै फिर्ता गरिदिएको’ घोषणा गरेका थिए ।

राजसंस्था फालेर लोकतान्त्रिक गणतन्त्र बहाली भएको १६ वर्ष पुगिसक्दा पनि जनचाहनाअनुसारको विकास र समृद्धि हुन सकेको छैन । नयाँ संविधान बन्यो । त्यसको कार्यान्वयनका लागि चुनाव भयो तर जनताले दिएको ५ बर्षे म्यान्डेट पूरा गर्न नसकेर ओलीले करिब पौने तीन बर्षमै संसद भंग गरेका छन् । जनयुद्ध र जनआन्दोलनमा महत्वपूर्ण भूमिका खेलेको राजनीतिक शक्ति अहिलेको सम्पूर्ण प्रक्रिया भन्दा बाहिर रहेको छ । त्यस्तै अहिलेको व्यवस्था ल्याउन महत्वपूर्ण भूमिका खेलेका विप्लव नेतृत्वको नेकपामाथि ओली सरकारले असंबैधानिक रुपमा राजनीतिक प्रतिबन्ध लगाएको छ । भने अर्कातर्फ संसदमा रहेका राजनीतिक दलहरुका नेताहरु भ्रष्टाचारको आहालमा चुर्लुम्म डुबेका छन् ।

स्थानीय सरकारहरु भ्रष्टाचारका केन्द्र बनेका छन् । ओली सरकारका मन्त्रीहरु एकपछि अर्को गरी भ्रष्टाचारका अरबौँका काण्डमा मुछिएका छन् । स्थानीय तहले कार्यकर्ता भर्ती गरेर राज्यको सम्पति दोहन गरिरहेका छन् । पहिले एक राजाले राज्यको सम्पतिको दोहन गर्दथ्यो भने अहिले सयौँ नयाँ राजाहरु उत्पादन भएका छन् । ओली सरकारका खानेपानी मन्त्रीले श्री ५ को सरकार भन्दै खुलामञ्च मै भाषण गरिसकेका छन् । ओलीको स्वेच्छाचारी कदमलाई ज्ञानेन्द्रले गरेको माघ १९ गतेको कदमसँग जनताले दाज्न थालेका छन् । आज नयाँ व्यवस्था भनिए पनि अर्थतन्त्र झन् कमजोर बनेको छ । राष्ट्रिय स्वाधीनता, जनजीविका, जनतन्त्र हिजोभन्दा नाजुक अवस्थामा पुगेको छ । भ्रष्टाचार, कमिसनखोरी र सामाजिक विकृति झन् बढेको छ । हिजो एउटा राजा थिए तर आज उनको ठाँउमा राजा प्रवृति बोकेका हजारौँ राजनीतिक दलका कार्यकर्ताको राईदाई चलिरहेको जनताको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !