१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

पुर्ब राजपाको ७ जिल्लामा नेतृत्व सहित जसपा नेपाल यसरी एकीकरण हुँदै



काठमाडौं : माघ २२, तत्कालीन समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपालबीच एकीकरण भइ बनेको जनता समाजवादी पार्टी नेपालमा समायोजनको काम सुरु भएको छ । समायोजनका लागि बनाइएको मापदण्डलाई आधार मान्ने हो भने तत्कालीन समाजवादी पार्टीको तुलनामा तत्कालीन राजपा नेपालले निकै कम जिल्लामा नेतृत्व पाउने भएको छ । माघ १९ गते समायोजनका लागि पठाएको सर्कुलर अनुसार जिल्ला, पालिका तथा वडा तहमा समायोजन गर्दा सहमतिको आधारमा गर्ने र सहमतिका आधारमा हुन नसकेका पालिका तथा वडाका लागि स्थानीय तहको चुनाव र जिल्ला कमिटीका लागि प्रतिनिधिसभामा प्रत्यक्ष र समानुपातिकमा पाएको मतलाई आधार मान्ने उल्लेख छ ।

यसरी जिल्लामा प्रतिनिधिसभाको चुनावमा प्राप्त मतको आधारमा समायोजन गर्ने हो भने राजपा नेपालले ७७ जिल्लामध्ये ७ वटा जिल्लामा मात्र नेतृत्व पाउने देखिएको छ । राजपा नेपालले स्थानीय तहको चुनाव प्रदेश २ मा मात्र लडेको थियो भने प्रतिनिधिसभा चुनावमा देशैभर भाग लिएको थियो ।राजपा नेपालले प्रतिनिधिसभा चुनावमा समाजवादी पार्टीको जति मत ल्याउन सकेको छैन । राजपा नेपालको खास पकड भनेको प्रदेश २ मात्र हो । तर समाजवादी पार्टीमा बाबुराम भट्टराई, अशोक राई लगायत पहाडी क्षेत्रमा पकड भएका पार्टी तथा नेतासहितको संगठन समाहित भएका कारण पहाड तथा हिमाली क्षेत्रमा समेत पकड देखिन्छ ।

यस आधारमा राजपा नेपालले ७७ जिल्लामध्ये सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासी (पश्चिम), कैलाली र कञ्चनपुरमा मात्र नेतृत्व पाउने भएको छ । पूर्व राजपा नेपालले सप्तरी जिल्लामा प्रत्यक्ष र समानुपातिक गरी ८५ हजार ६९ मत ल्याएको थियो भने पूर्व समाजवादी पार्टी र नयाँ शक्ति मिलेर ८० हजार ७३१ मत ल्याएका थिए । त्यही भएर त्यो जिल्लामा राजपा नेपालले नेतृत्व पाउने भएको छ ।

त्यस्तै महोत्तरीमा पूर्व राजपा नेपालले एकलाख १७ हजार ७६८ मत ल्याएको थियो भने समाजवादीले ७० हजार ७२ मतमात्र ल्याएको थियो । सर्लाहीमा राजपा नेपालले एकलाख ५१ हजार ९४८ र समाजवादी पार्टीले ३१ हजार ७४१, रौतहटमा राजपा नेपालले ८५ हजार १४ र समाजवादी पार्टीले ४२ हजार ६९२, नवलपरासीमा (पश्चिम) मा राजपा नेपालले ३१ हजार ४३४ र समाजवादी पार्टीले पाँच हजार २३७ मत ल्याएको थियो ।

त्यस्तै, कैलालीमा राजपा नेपालले ५५ हजार ४०६ र समाजवादी पार्टीले १२ हजार ४९४ मत ल्याएको थियो भने कञ्चनपुरमा राजपा नेपालले दुईहजार ३७९ र समाजवादी पार्टी एकहजार २६३ मत ल्याएको थियो । त्यही भएर राजपा नेपालले सप्तरी, महोत्तरी, सर्लाही, रौतहट, नवलपरासी (पश्चिम), कैलाली र कञ्चनपुरमा मात्र नेतृत्व पाउने भएको छ । बाँकी ७० वटा जिल्लामा समाजवादी पार्टीले नेतृत्व पाउने निश्चित देखिन्छ ।

पालिका, वडास्तरमा पूर्व राजपा र पूर्व समाजवादीका समितिहरु बीच आपसी सहमति गरी सोही बमोजिम ती समितिहरुलाई समायोजन गर्नुपर्ने सर्कुलरमा उल्लेख छ । तर आपसी सहमतिका आधारमा समायोजन हुन नसके पछिल्लो स्थानीय तहको निर्वाचनमा पालिका, वडामा प्राप्त गरेको मत परिणामको आधारमा जुन पूर्वपार्टीले बढी मत प्राप्त गरेको छ, त्यसले नै पालिका, वडा समितिको अध्यक्ष पद प्राप्त गर्ने उल्लेख छ । अन्य पदहरु आपसी सहमतिमा बाँडफाँट गरिने जनाइएको छ ।

पछिल्लो स्थानीय चुनावमा एउटामात्र पक्षले भाग लिएको स्थानमा आपसी सहमतिको आधारमा समायोजन सम्बन्धी निर्देशिका २०७७ अनुसार समायोजन गर्ने भनिएको छ ।त्यस्तै, प्रत्येक जिल्लामा दुवै पूर्वपार्टीका जिल्लास्तरीय समितिका तर्फबाट समान संख्यामा पदाधिकारीहरु बसी आपसमा सहमति एवं समझदारीका आधारमा समायोजन गरी जिल्ला समिति गठन गरिने सर्कुलरमा उल्लेख छ । तर त्यसमा सहमति हुन सकेन भने प्रत्येक जिल्लामा पछिल्लो प्रतिनिधिसभाको निर्वाचनमा दुवैले सम्बन्धित जिल्लाबाट प्राप्त गरेको प्रत्यक्ष र समानुपातिक मतलाई जोडेर प्राप्त हुने मत संख्यामा बढी मत प्राप्त गरेको पूर्व पार्टीले अध्यक्ष पद पाउने सर्कुलरमा उल्लेख छ । अन्य पदहरु आपसी सहमतिमा बाँडफाँट गरिने जनाइएको छ ।

तर जसपा नेपालका कार्यकारिणी सदस्य रहेका पूर्व राजपाका एक नेताले भने, ‘यो सर्कुलर सहमति विपरित आएको हो, यसलाई सबै ठाउँमा स्वीकार गर्न सकिँदैन ।’ समानताका आधारमा समायोजन हुने भनेर पार्टी एकीकरणको बेलामै सम्झौतामा भएको उनको दावी छ । उनले भने, ‘अहिले आएर चुनावमा प्राप्त मतलाई आधार मनेर समायोजन गर्ने भनिएको छ, त्यो सम्झौता विपरीत छ ।


प्रतिक्रिया दिनुहोस !