१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आन्दोलनकै कारण नेपाल – भारत उच्चस्तरीय भ्रमण अन्यौलमा



काठमाडौं :माघ २६, प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा विघटन गर्ने ‘अप्रत्यासित’ कदमसँगै नेपाल–भारतबीचको उच्चस्तरीय भ्रमण प्रभावित बन्न पुगेको छ । प्रधानमन्त्री ओलीको कदमसँगै विभिन्न पक्षले सडक आन्दोलन चर्काइरहेका छन् भने यही कारण दुबै पक्षको भ्रमण रोकिएको हो । विशेषगरी भारतीय पक्ष अहिलेको अवस्थामा भ्रमण ‘उचित’ नहुने निष्कर्षका साथ ‘पर्ख र हेर’ को अवस्थामा रहेको बुझिएको छ । 

नेपालले लिम्पियाधुरासहितको भूभाग समेटेर नक्सा जारी गरेपछि नेपाल–भारतबीचको सम्बन्धमा चिसोपन देखिएकै बेला गत साउन ३१ गते प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच फोन संवाद भएसँगै सम्बन्ध सुधारको पहल सुरु भएको थियो । त्यसपछि कात्तिक ६ गते भारतीय गुप्तचर संस्था ‘रअ’का प्रमुख सामन्त गोयलले  नेपाल भ्रमण गरेका थिए भने गोयलपछि पनि भारतीय सेना प्रमुख मनोज मुकुन्द नरवणे, भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गला नेपाल आएका थिए । 

 त्यसलगत्तै भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा.विजय चौथाइवालाले पनि नेपाल भ्रमण गरे । त्यतिबेला भारतीय पक्षको बाक्लिएको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको थियो भने दुई देशबीच जारी समस्या समाधान हुने विश्वास लिइएको थियो । भारतको उच्चस्तरीय भ्रमण सकिएपछि ‘अब नेपालको पालो’ भन्दै भारतले आफ्नो भ्रमण रोकेको थियो । त्यसैबीचमा प्रधानमन्त्री केपी शर्माको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरिन् । संसद् विघटनपछि देशमा आन्दोलन शुरु भयो । नागरिक समाज, राजनीतिक दल सबै आन्दोलनमा होमिए । नेपालमा भारतको उच्चस्तरीय भ्रमणहरु भएका कारणले संसद विघटन भएको भनि टिप्पणीरु भएपनि त्यसको आधिकारिक पुष्टि हुन सकेको छैन । 

तर, संसद विघटनलगायतका निर्णयहरू नेपालको आन्तरिक मामिला भएकाले लोकतान्त्रिक र संवैधानिक विधिअनुसार निर्णय गर्ने अधिकार नेपालकै रहेको प्रवक्ता श्रीवास्तवको भनाइ थियो । उसो त विघटनविरुद्धको आन्दोलन चलिरहेकै बीचमा काम चलाउ सरकारका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली माघ १ गते तीनदिने भ्रमणका लागि भारत पुगेका थिए । नेपाल–भारतबीच भइरहेको उच्चस्तरीय भ्रमणको निरन्तरता स्वरुप नै परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमण भएको बताइन्छ । यद्यपी परराष्ट्रमन्त्रालयले त्यसलाई नियमित भ्रमण भनेको छ । नेपाल–भारत संयुक्त आयोगको कार्यक्रममा ज्ञवाली भारत गएको भनिएको छ ।

परराष्ट्रमन्त्री ज्ञवालीको भ्रमणपछि रक्षामन्त्री राजनाथ सिंह अथवा गृहमन्त्री अमित शाहको नेपाल भ्रमण गर्ने तयारी थियो । त्यसको लागि तयारी पनि थालिएको थियो । तर नेपालमा आन्दोलन भइरहेको कारण ती भ्रमणहरु हाललाई स्थागित गरिएको नेपालस्थित भारतीय दूतावास स्रोतले जनाएको छ । 

भारतबाट रक्षामन्त्री वा गृहमन्त्रीको नेपाल भ्रमणपछि प्रधानमन्त्री ओलीको समेत भारत भ्रमण हुने तयारी थियो । तर ती सबै तयारी आन्दोलनका प्रभावित बनेको दूतावास स्रोतको भनाइ छ । दूतावासका एक पदाधिकारीले भने, ‘भारतबाट नेपाल भ्रमणमा आउने तयारी छ, तर यहाँको सडक तातिएको अवस्था छ, यस्तै आन्दोलन भइरह्यो भने भ्रमण नहुन पनि सक्छ । माहोल मिलेमा छिट्टै एउटा उच्चस्तरीय भ्रमण गर्ने तयारी भारतको रहेको छ ।’ यस्तै प्रधानमन्त्री पनि यसअघि चर्चा भएजस्तो भारत भ्रमणमा जाने मनस्थितिमा नरहेको बालुवाटार स्रोतको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !