१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेकपा अध्यक्षद्वय प्रचण्ड र माधव नेपालद्वारा केन्द्रीय सदस्यहरुलाई ‘हाइअलर्ट’ रहन निर्देशन



काठमाडौं- नेकपा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई ‘हाइअलर्ट’ रहन निर्देशन दिएका छन् । शुक्रबार पेरिसडाँडामा भएको केन्द्रीय समितिको आकस्मिक बैठकमा अध्यक्षद्वय प्रचण्ड–नेपालले जुनसुकै परिस्थितिमा पनि उपस्थित हुनुपर्ने अवस्थामा रहने भएकाले तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

केन्द्रीय सदस्य यज्ञराज सुनुवारका अनुसार, पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा पेश गर्ने सबै डकुमेन्ट तयार पारिएको र भौतिक रुपमा पनि उपस्थित हुनुपर्ने अवस्थामा केन्द्रीय सदस्यहरुलाई अध्यक्षद्वयले ‘हाइअलर्ट’ रहन निर्देशन दिएका हुन् ।

करिब दुई घण्टासम्म चलेको बैठकमा प्रतिनिधिसभा पुनस्र्थापना हुन्छ भन्नेमा पार्टी विश्वस्त रहेको भन्दै अध्यक्षद्वयले केन्द्रीय सदस्यलाई तयारी अवस्थामा रहन निर्देशन दिए । बैठकमा कानुन मरेको देश भएकाले जुनसुकै स्थितिमा बैठक बस्नुपर्ने, विभिन्न निकायमा पुग्नुपर्ने परिस्थिति आउने भएकाले तयारी अवस्थामा रहन अध्यक्षद्वयको निर्देशन थियो ।

पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा बुझाउन नागरिकता र परिचयपत्र संकलन गर्न शुक्रबार सबै केन्द्रीय सदस्यहरुलाई पार्टी कार्यालयमा बोलाइएको थियो । केन्द्रीय सदस्यहरुको उपस्थिति रहेको अवस्थामा आकस्मिक रुपमा बैठक बसेको थियो ।

बैठकमा अध्यक्षद्वय प्रचण्ड–नेपाल सहित केन्द्रीय संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठले बोलेका थिए । प्रतिनिधिसभा विघटनपछि प्रचण्ड–नेपाल समूहले शुक्रबार तेस्रो पटक केन्द्रीय समिति बैठक बोलाएको हो ।


प्रतिक्रिया दिनुहोस !