१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

सभामुख कीर्ते र झगडिया, उपराष्ट्रपति निर्वाचन विरोधी : प्रम ओली



विराटनगर- प्रधानमन्त्रीसमेत रहेका नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले उपराष्ट्रपतिको अभिव्यक्ति र सभामुखले सर्वोच्च अदालतमा हालेको मुद्दाप्रति आक्रोश व्यक्त गरेका छन्। नेकपा प्रदेश-१ स्तरीय कमिटीले विराटनगरबाट आयोजना गरेको विशाल जनसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले उपराष्ट्रपति नन्दकिशोर पुन ‘निर्वाचनविरोधी’ तथा सभामुख अग्निप्रसाद सापकोटालाई ‘कीर्ते गर्ने’ भन्दै टिप्पणी गरेका छन्।

“सरकारविरुद्ध सर्वोच्च अदालतमा सभामुख मुद्दा हाल्न जानुभएको छ, झगडा गरून् भनेर सभामुख बनाइदिएको हो र? सभामुखले झगडिया हुन सुहाउँछ? तर के गर्नु? उहाँ झगडिया हुनुभएको छ,” प्रधानमन्त्री ओलीले भने, “मेराविरुद्धको अविश्वासका प्रस्ताव दर्ता गराउँदा उहाँले कीर्ते सनाखत गर्नुभएको छ, ४:३० मा आएको अविश्वासको प्रस्तावलाई १०:३० बनाएर सभामुखजस्तो मान्छेले कीर्ते गर्नुभएको छ।”

त्यसो त प्रधानमन्त्री ओलीले उपराष्ट्रपति पुनले गरेको राजनीतिक टिप्पणीप्रति पनि आपत्ति जनाएका छन्। “उपराष्ट्रपतिजी सरकारविरुद्ध भाषण गर्दै हिँड्नु भएको छ, संविधान मिचियो, प्रतिनिधिसभा विघटन गलत भयो, त्यसैले निर्वाचन गराउन पाउँदैन भनेर हिँडिरहनुभएको छ,” प्रधानमन्त्री ओलीले विराटनगरको सभामा भने, “हुन त उहाँ चुनावको पक्षमा त होइन, तै पनि मेरो आग्रह छ– अब त चुनावमा आउनुहोस्।”

प्रधानमन्त्री ओलीले संविधानअनुसार नै प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा जाने निर्णय भएकाले तोकिएकै मिति २०७८ बैशाख १७ र २७ गते निर्वाचन हुनेमा विश्वस्त हुन पनि आग्रह गरेका छन्।


प्रतिक्रिया दिनुहोस !