१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

भतिजा अपहरणको आरोपमा आफ्नै काका पक्राउ



जनकपुरधाम- गत माघ २० गते सिराहाबाट अपहरित बालकको उनकै काकाले अपहरण गरेको खुलेको छ । सिराहा सदरमुकाम सिराहा नगरपालिका-१ डुम्बाखाता बस्ने प्रदीप यादवका २ वर्षीय छोरा प्रियांसु गत माघ २० गते आफ्नै घरबाट हराएका थिए । प्रहरीले भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खाजेडी भन्ने स्थानबाट बालकको सकुशल उद्धार गरेको हो । बालक अपहरणको आरोपमा प्रहरीले बालककै काकालाई नियन्त्रणमा लिएको छ । अनुसन्धानको क्रममा बालककको अपहरणमा उनकै काका संलग्न रहेको खुलेपछि काकासहित दुई जनालाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

सिराहा प्रहरीका प्रबक्ता शालिग्राम शर्माले बालकको अपहरणमा उनको काका कुलदीप यादवसहित दुई जनाको संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरिएको हो । कुलदीपकै योजना बमोजिम सिराहा नगरपालिका १५ सुखचैनाका २३ वर्षीय भरोसी यादवले बालकको अपहरण गरेर भारत पुर्‍याएको खुलेको शर्माले बताए । दुवै जनालाई पक्राउ गरी प्रहरीले सोमबार सार्वजनिक गरेको छ । प्रहरीका अनुसार कुलदीपको बालकको बुबा प्रदीपसँग मनमुटाब रहेको थियो । सोही रिसइबी साँध्न बच्चाको अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ । रिसइबी साँध्दै फिरौती वापत केही रकम पनि हत्याउने योजना अनुसार बालकको अपहरण गरेको खुलेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !