१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

प्रधानमन्त्रीबाट राजीनामा नदिने बरु हरेक अप्ठ्यारो विरुद्ध घुँडा धसेर लड्ने ओलीको तयारी



काठमाडौं : बुधवारको बालुवाटार बैठकमा अध्यक्ष एवम् प्रधानमन्त्री ओलीले राजीनामा नदिने विषयमा बृफिङ गरेको र सम्भावित घटनाहरूबारे पनि ओलीले प्रष्ट्याएको स्रोत बताउँछ । प्रधानमन्त्री पदबाट राजीनामा नदिने, बरू सम्भावित घटनाहरुको सामना गर्दै जाने निष्कर्ष ओलीले बैठकमा सुनाएका थिए ।

‘संसद् विघटनपछि कामचलाउ प्रधानमन्त्री बनेपनी अहिले कार्यकारी प्रधानमन्त्री बनेको ओलीको दाबी थियो ।

सर्वोच्चको फैसला र निर्वाचन आयोगले गरेको निर्णयले ओली पुस ५ अगाडिकै जस्तो शक्तिशाली प्रधानमन्त्री बनेको र ओली समूहका नेताको तर्क छ ।

सो समूहले प्रधानमन्त्रीबाट ओलीले राजीनामा नदिने मात्रै नभएर पार्टी संसदीय दलको बैठक समेत नबोलाउने निर्णय गरेको छ । आयोगले दल विभाजनको मान्यता नदिएकाले प्रधानमन्त्रीबाट हटाउनुअघि दलको नेता फेर्नुपर्ने ओली समूहका नेताहरुको तर्क छ । र, दलको बैठक नै नबोलाउने तयारी छ ।

दलको नेता फेर्ने गरी निवेदन आए पनि दलको बैठक नबोलाउने योजना ओली समूहको रहेको छ ।

दलको नेता ओली र उपनेता सुवास नेम्वाङ एकैतिर भएकाले प्रचण्ड–माधव समूहबाट निवेदन आए पनि बैठक नबोलाउनेबारे बालुवाटार बैठकमा प्रष्ट नै पारिएको थियोे । अर्थात्, संसदीय दलको बैठक राखेर बहुमतबाट हटाए पनि नमान्ने यो समूहको तयारी छ । अविश्वासको प्रस्ताव सिधै संसद् सचिवालयमा दर्ता भएर संसदमा पुगे पनि त्यसलाई असफल बनाउने रणनीति बनाएको छ । विहीबार पूर्वनिर्धारित स्थायी कमिटी बैठक नबस्ने जानकारीसँगै ओलीले आफ्ना पक्ष र अन्यतिरका सांसदहरुसँग सघन वार्ता गर्न निर्देशन दिइसकेका छन् ।

स्रोतका अनुसार, नेपाली काँग्रेस, जनता समाजवादी र प्रचण्ड–माधव समूहतर्फका सांसदहरुसँग समेत छलफल गरेर अविश्वासको प्रस्ताव असफल पार्ने योजनामा ओली छन् ।

त्यस्तै आयोगले दल विभाजनको मान्यता नदिएको अवस्थामा संसद्मा अविश्वासको प्रस्ताव पेश भए ओलीले नेकपा सांसदहरुलाई ह्वीप लगाउनेसम्मको तयारी गरेका छन् । दलको नेताको ह्वीप नमानेमा कार्वाहीको विषय बनाउनेसम्मको तयारीमा ओली छन् ।

अर्थात्, तीनै पद (अध्यक्ष, दलको नेता र प्रधानमन्त्री) बाट राजीनामा नदिने र अर्को समूहले चाल्ने हरेक अप्ठ्यारो विरुद्ध लड्न ओली मनोवैज्ञानिक रुपमै तयार बनेको उनी निकट नेताहरु बताउँछन् ।


प्रतिक्रिया दिनुहोस !