१५ आश्विन २०७९, शनिबार
 |   Sat Oct 1 2022
Logo

एकीकृत जनक्रान्तिको संसदीय व्यवस्थामा नाटकीय अवतरण



कार्ल मार्क्सले भनेका थिए– इतिहास दुई पटक दोहोरिन्छ– पहिलो त्रासदीका रूपमा र दोस्रो प्रहसनका रूपमा । विश्व चर्चित यो भनाइ सर्वहारा वर्गका महान् नेता तथा दार्शनिक कार्ल मार्क्सले द एट्टिन्थ ब्रुमेयर अफ लुइस बोनपार्ट ९सन् १८५२० मा तत्कालीन फ्रान्सका युद्ध नायक नेपोलियन बोनोपार्टको राजनीतिक उत्थान र पतनसँग जोडेर लेखेका थिए । मार्क्सको उक्त भनाइको ओज बुझ्न नेपोलियन बोनापार्टको जीवनीको अध्ययन होइन अहिले १६९ वर्षपछि नेपालको राजनीतिक घटनाक्रम र पात्रहरूका प्रवृत्ति हेरे पुग्छ । यति बेला नेपालको राजनीति अत्यन्तै तरल बनेको छ । विचार, सिद्धान्त र निष्ठाको राजनीतिको ठाउँमा खुराफात, बेइमानी र छलकपटले भरिपूर्ण राजनीतिले जबरजस्त घरजम गरेको छ । नेपालको राजनीतिमा मार्क्सले भनेझैँ नाटकीय ढङ्गले प्रहसन चलिरहेको छ । विद्यमान राज्य सत्ता स्वीकार गर्ने राजनीतिक शक्तिहरुको बीचमा मात्रै प्रहसन होइन, विद्रोही पार्टीको व्यावहार पनि कुनै प्रहसनभन्दा फरक देखिँदैन ।

पहिलो त्रासदी
त्रासदी भनेको ध्वंश र निर्माणको द्वन्द्वात्मक सम्बन्ध पनि हो । त्रासदी ध्वंश मात्र होइन, निर्माणको सुन्दरता पनि हो । नेपालमा महान् दस वर्षे जनयुद्ध भयो । त्यसले निरङ्कुश एकात्मक सामन्ती व्यवस्थाको चिहान खन्यो । जनयुद्धको बलमा दोस्रो जनआन्दोलन सफल पनि भयो । इतिहास नभएकाहरुले जनयुद्धको बलमा आफ्नो गौरवपूर्ण इतिहासको निर्माण गरे । त्यसलाई संस्थागत गर्ने भन्दै संविधान सभाको निर्वाचन भयो तर प्रतिक्रियावादी देशीविदेशी शक्तिहरु मिलेर हलो अड्काएर गोरु चुट्ने भनेझैँ संविधानको निर्माणभन्दा पनि जनयुद्ध र जनआन्दोलनका उपलब्धि खोस्न विभिन्न हतकण्डा अपनाए । त्यसको मुख्य भूमिका खेलिरहेका थिए अहिलेका प्रधानमन्त्री केपी शर्मा ओली । उनले जनयुद्धविरुद्ध आगो ओकले, विशेष गरी इन्डो पश्चिमा शक्ति केन्द्रसँग साँठगाँठ गरे । अन्ततः सापेक्षित रूपमा प्रगतिशील मानिएको संविधान सभा नै विघटन गरियो । जनयुद्ध र जनआन्दोलनका उपलब्धि खोसियो अब विद्रोह गरिन्छ भन्दै तत्कालीन एकीकृत माओवादीबाट वैद्यको नेतृत्वमा पार्टी विभाजन भयो । विभाजनको योजनाकार थिए विप्लव । पछि वैद्य नेतृत्वको माओवादीले पनि क्रान्ति नगर्ने भन्दै आफ्नै नेतृत्वमा पार्टी विभाजन गराए । मार्क्‍सवादले ढुलमुले भनेको सापेक्षित रूपमा कायर मानिने मध्यम वर्गसहितको एकीकृत जनक्रान्ति नामको (सारसङ्ग्रहवादी) कार्यदिशाको खाका बनाए ।

लेखक : करनसिंह बडाल
लेखक : करनसिंह बडाल

दोस्रो प्रहसन
क्रान्तिकारीहरुमा झिनो आशा पलायो तर यो सारसङ्ग्रहवादी कार्यदिशा सफल हुने कुरै थिएन र भएन पनि । त्यसैगरी सशस्त्र (फौजी) र शान्तिपूर्ण (सहरी जनविद्रोह) को ठिमाहा कार्यदिशा एकीकृत जनक्रान्तिका फौजी र राजनीतिक सङ्घर्षहरु लगातार । दर्शन र साङ्गठानिक क्षेत्रमा गम्भीर त्रुटि रहेको एकीकृत जनक्रान्तिको कार्यदिशाको खाका बनाउने असफल साबित हुन थाले । फलस्वरूप पार्टीले राजनीतिक र साङ्गठानिक क्षेत्रमा निक्कै ठूलो क्षति बेहोर्यो । न त पुरानो सङ्गठनको रक्षा गर्न सक्यो, न त नयाँ कार्यकर्ताको उत्पादन (भर्ती) नै गर्न सक्यो । गोलमटोल राजनीतिक तथा फौजी कार्यदिशाले क्षतिबाहेक केही उपलब्धि प्राप्त गर्न सकेन । अन्ततः आफैले ध्वंश पार्ने भनेको राज्यसत्तासँग घुँडा टेकेर तीन बुँदे सम्झौता गर्न पुगे । जसलाई प्रहसनका रूपमा बुझ्न सकिन्छ । यो प्रहसनको क्षणमा ओली जस्ता कम्युनिस्ट नामको बर्को ओडेर पश्चगामी तथा दक्षिणपन्थी जत्थाले उत्सव मनाइरहेको भए पनि त्यसले उनीहरुलाई पनि गिज्याइरहेको छ । साम्यवादको स्थापना गर्न आन्दोलनमा होमिएका ओली आज आफै प्रतिक्रियावादी राज्यसत्ताको संरक्षण गर्ने सफल सिपाही बन्न पुगेका छन् ।

कसरी ७ वर्षमै असफल भयो एकीकृत क्रान्ति ?

दर्शनमा गम्भीर त्रुटि
विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको पहिलो त्रुटि मार्क्सवाद, लेनिनवाद र माओवादको विकास गर्ने नाममा गरिएको निषेधात्मक द्वन्द्ववादको हो । विपरीतहरुको एकत्व र सङ्घर्षको नियमलाई थबाङ महाधिवेशनले पूर्ण रूपमा अस्वीकार गर्यो वा निषेध गर्यो । दुई विपरीतहरुको एकत्व नितान्त यन्त्र वा निर्जीव वस्तुमा मात्र हुने गर्दछ । मानिस वा सङ्गठन भनेको सजीव हो । विपरीतहरुको एकत्व त्यसकारण सङ्गठनमा लागू हुँदैन भनियो । दुई विपरीतहरुको एकत्व समाज विज्ञानको नियम हो र यसलाई सही ढङ्गले सञ्चालन गर्नुपर्छ भन्ने माओको संश्लेषणलाई नजरअन्दाज गरियो । हेगेलले पत्ता लगाएको द्वन्द्ववाद र लेनिनले गरेको द्वन्द्ववादको सारका रूपमा विपरीतहरुको एकता र सङ्घर्षको नियम (एकता सापेक्ष, सर्तबद्ध र अस्थायी हुन्छ भने सङ्घर्ष निरपेक्ष, निःसर्त र स्थायी हुन्छ) भन्ने निचोडलाई निषेध गर्दा त्यसले सङ्गठनमा निरन्तर क्षयीकरण आयो । लेनिनवादी पद्धतिको ठाउँमा निषेधात्मक द्वन्द्ववादी सङ्गठनात्मक विधि अपनाइयो । कतिसम्म भने पार्टीमा आएको क्षयीकरण बचाउन ओली जस्ता दक्षिणपन्थीहरुको अगाडि घुँडा टेक्नुपर्ने बाध्यात्मक अवस्थाको सिर्जना भयो ।

कार्यदिशामा त्रुटि
२०७३ सालमा थबाङमा भएको महाधिवेशनले पार्टीको कार्यदिशा एकीकृत जनक्रान्ति पारित गर्यो । कार्यदिशा निर्माणमा सार्वभौम पक्ष र सम्बन्धित देशका विशिष्टताहरू दुवैको एकत्व आवश्यक हुन्छ भन्ने कुरा सही हो तर विकसित उत्पादक शक्तिको सही ढङ्गले अध्ययन, समाजको वर्ग विश्लेषण र त्यसका आधारमा स्पष्ट फौजी कार्यदिशाको अभाव भएपछि गोलमटोल कार्यदिशाका कारण सङ्गठनमा प्रतिबन्धपछि तीव्र क्षयीकरण आएको सहजै देख्न सकिन्छ । क्रान्तिका सार्वभौम मोडेल मानिने सहरी जनविद्रोह र दीर्घकालीन जनयुद्धको फ्युजनको नयाँ चामत्कारिक अविष्कार एकीकृत जनक्रान्ति भनियो । दुवै सार्वभौम मोडलको वर्णशङ्कर (ठिमाहा) का रूपमा एकीकृत जनक्रान्ति हो भनेर क्षणिक रूपमा पार्टी कार्यकर्तालाई भुलभुलैयामा पार्न सफल भए पनि दीर्घकालीन रूपमा टिकाइराख्न सम्भव थिएन । कार्यकर्ताले एकीकृत जनक्रान्ति सारसङ्ग्रहवाद हो भन्ने निष्कर्षमा पुग्न करिब ७ वर्ष लाग्यो । अन्ततः एकीकृत जनक्रान्ति असफल साबित हुने अन्तिम चरणमा पुगेको छ ।

चीनको क्रान्तिकालमा विश्वमा नगर समाजको उदय सीमित थियो भने रुस साम्राज्यवादी देशमा भर्खरै अक्टोबर क्रान्ति भएको थियो । तत्कालीन समाजमा मध्यम वर्ग शक्तिशाली थिएन । त्यो वर्ग ढुलमुले शासक वर्गकै अङ्ग मानिन्थ्यो भनियो । आज साइबर सेना निर्णायक बन्न खोज्दैछ । सूचना प्रविधि हस्तक्षेपकारी बन्दै गएको लगायतका ७ वटा विशिष्ट विशेषताको व्याख्या गरियो । त्यस्तै भू–परिवेष्ठित, भारतीय अर्थतन्त्रमा परनिर्भर, अर्थतन्त्रका कारण राजनीति र संस्कृतिमा भारतीय नियन्त्रण, दर्जनौँ असमान र अन्यायपूर्ण सन्धि, सम्झौताका कारण नेपालमा देशभक्त धारा प्रबल रहेको एकीकृत जनक्रान्तिको सार थियो । तर क्रान्तिका लागि एकीकृत क्रान्तिले भनेझैँ मध्यम वर्ग तयार भएन । बरु क्रान्तिविरुद्ध नै उभियो । सेना, प्रहरी, डाक्टर, इन्जिनियर र लेक्चरज र मध्यम वर्गका व्यापारीहरुले क्रान्तिविरुद्ध विष ओकले । मार्क्सले मध्यम वर्ग कायर हुन्छ भनेको कुरा नेपालमा पनि सत्य सावित भयो ।

नयाँ जनवाद सम्बन्धमा
पुँजीवादको गर्भमा उसको चिहान खन्ने सर्वहारा वर्गको भ्रूण हुर्किरहेको हुन्छ भन्ने माक्र्स एङ्गेल्सको निष्कर्षभन्दा विशिष्ट वस्तुगत अवस्थाको नितान्त फरक संश्लेषण, पुँजीवादको विकास नभएका चीन, भियतनाम, कोरिया, नेपाल, भारतजस्ता देशहरूमा सर्वहारा वर्गको नेतृत्व र मजदुर किसानको सहभागितामा हुने हुनाले त्यसले सामाजवादको ढोका खोल्छ । त्यस प्रकारको व्यवस्थालाई ‘नयाँ जनवाद’ भन्ने माओको संश्लेषणलाई नाघेर सीधै समाजवादी क्रान्तिमा जानुपर्छ भन्ने अवैज्ञानिक तर्क थबाङले पारित गर्यो । महाधिवेशनमा सहभागी प्रतिनिधिहरुले ताली बजाए । त्रुटिले निम्त्याउन सक्ने सम्भावित जोखिमका विषयमा प्रतिनिधिहरुले आँकलन नै गर्न सकेनन् ।

नयाँ जनवादी व्यवस्था समाजवाट समाजवादी व्यवस्थामा फड्को मार्ने सङ्क्रमणकालीन व्यवस्था हो । त्यस प्रकारको सङ्क्रमणकाल कति लामो हुन्छ भन्ने विषयमा थबाङ महाधिवेशनले ल्यु साओचीको उदाहरण दिँदै नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने नभनेर नयाँ जनवाद हुँदै वैज्ञानिक समाजवादमा प्रवेश गर्ने भनियो । त्यसले नयाँ जनवादी क्रान्ति भन्दा पनि वैज्ञानिक समाजवादमा सीधै फड्को हान्ने कल्पना गर्यो । जसले राजनीतिक रूपमा एकीकृत जनक्रान्तिलाई कुहिराकोे कागको हालतमा पुर्याउन सघायो । माओवादलाई मार्गनिर्देशक सिद्धान्त मान्ने नेकपाले आठौँ महाधिवेशनबाट माओवादकै बर्खिलाप हुने गरी डकुमेन्ट पास गर्यो । कयौँ कमजोरीका बाबजुद सो महाधिवेशनले उत्तर साम्राज्यवादजस्ता केही नयाँ बहसको भने अवश्य उठान गरेको थियो ।

निष्कर्ष
एकीकृत जनक्रान्ति भनेको मध्यम दूरीको क्रान्ति भनियो तर मध्यम दूरीमै त्यसको ठीक उल्टो संसदीय राजनीतिमा नाटकीय ढङ्गले अवतरण भयो । राज्यसत्ताविरुद्ध घनिभूत तयारी तीव्र हमला भनियो तर परिणाम ठीक उल्टो सङ्गठन र सङ्घर्षमा फितलो तयारी, तीव्र क्षयीकरण देखियो । राजनीतिक उपलब्धि होइन, असफलता र क्षति मात्रै हात पर्यो । ध्वंश गर्ने भनिएको राज्यसत्तासँग अन्ततः आत्मसमर्पण गरेर संसदीय राजनीतिमा अवतरण गर्नुपर्ने अवस्थामा नेतृत्व नै आइपुग्यो । सङ्गठनमा लेनिनवादी पद्धति अवलम्बन गर्ने भनियो तर व्यवहारतः निषेधात्मक द्वन्द्ववादको अभ्यास गरियो । एकीकृत जनक्रान्तिको फौजी कार्यदिशा भनियो तर पार्टीको फौजी सङ्घर्ष छापामार शैलीमा अगाडि बढाइयो । यी तमाम दार्शनिक, राजनीतिक, सङ्गठनात्मक तथा फौजी कार्यदिशामा भएको त्रुटिले एकीकृत जनक्रान्ति असफल सिद्ध भएको छ । तसर्थ माओले भने झैँ, तपाईंसँग सही विचार र कार्यदिशा छ भने नभएका चिज प्राप्त हुन्छन् । विचार गलत भयो भने भएका चिजहरु पनि गुम्नेछन् भन्ने कुराको नेपालमा पनि पुष्टि हुन पुगेको छ । राजनीतिक कार्यदिशा समाज अथवा देशको विद्यमान अर्थ राजनीतिक (सामाजिक सम्बन्धहरु) को अन्तरविरोध हल गर्ने खालको हुनुपर्दछ । एङ्गेल्सले भनेझैँ जुन राजनीति जनताको दैनिकीसँग जोडिने अर्थात् आर्थिक जीवन अर्थात् उत्पादनसँग जोडिने हुनु पर्दछ । त्यो नै वास्तविक राजनीति हो । अब देशमा नयाँ खालको क्रान्तिको खाँचो परेको छ । विगतमा भएका कमी कमजोरीलाई सच्याएर सबैले अघि बढ्नु जरुरी छ । विगतका आफ्ना कमजोरीको निर्मम समीक्षा गरेर सबै क्रान्तिकारीहरु अघि बढ्पर्ने बेला आइसकेको छ ।


प्रतिक्रिया दिनुहोस !


%d bloggers like this: