६ बैशाख २०८१, बिहीबार
 |   Thu Apr 18 2024
Logo

वीर र ट्रमा सेन्टरमा अनियमितताः जनताको स्वास्थ्यप्रति सरकार नै उदासीन, गरिबको स्वास्थ्यमाथि खेलवाड



काठमाडौं– वीर अस्पताल र ट्रमा सेन्टरमा भएको अनियमितता छानबिनका लागि खटिएको सरकारी समितिलाई अलमलमा पारिएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको उक्त समितिले अहिलेसम्म कुनै काम नगरेको बताइएको छ। १५ दिनको समय दिएर छानबिनका लागि खटाइएको समितिले एउटा बैठक समेत नगरेको बताइएको छ।

उक्त समिति गठन भएको १५ दिन पुगिसकेको छ। सर्वोच्च अदालतका आदेश विपरित तथा विभिन्न खरिदलगायतमा व्यापक भ्रष्टाचार भएपछि स्वास्थ्य मन्त्रालयले समिति गठन गरी छानबिन सुरु गरेको जनाएको थियो। तर त्यसलाई कर्मकाण्डी बनाउन खोजिएको छ। मन्त्रालयले प्रमुख जनस्वास्थ्य प्रशासक रीता भण्डारीको संयोजकत्वमा चार सदस्यीय समिति गठन गरेको थियो। समितिमा उपसचिव दिपक घिमिरे, शाखा अधिकृत दिपक रिजाल र जुना खड्का खत्री सदस्य छन्।

वीर अस्पतालको सम्पूर्ण चलअचल सम्पत्ति प्रतिष्ठानको हुने ब्यवस्थाअनुसार सर्वोच्च अदालतले १४ माघ ०७४ मा फैसला गरे पनि त्यस विपरित केही पदाधिकारीले पदीय दुरुपयोग गरेपछि छानबिनका लागि मन्त्रालयले समिति गठन गरेको थियो। ट्रमा सेन्टर प्रतिष्ठान अन्तर्गत वीर अस्पताल इमरजेंसी तथा ट्रमा सेन्टर भनि आदेश दिए पनि उपकुलपति डा. गणेश गुरूङले आफूखुसी निर्देशक र सयौं कर्मचारी लाखौं रकम लिएर भर्ती गरेको उजुरी परेको थियो।

निमित्त निर्देशक डा. सन्तोष पौडेल जुनियर भए पनि राजनैतिक आडमा उक्त पद हत्याएको उजुरीमा उल्लेख थियो। डा. पौडेलले आफ्नो फाइल गायव बनाएको, ट्रमा सेन्टरमा करोडौको उपकरणहरु मर्मत नगरी थन्काएर कमिशनका लागि नयाँ किन्न लागेको पनि उजुरीमा उल्लेख थियो। हाल सिटी स्याक्यन, ऐक्सरे, डिजिटल ऐक्सरे, इन्ट्र अप सिटी, डिएसए, फोलोस्कोपी, भेन्टिलेटर र प्रतिष्ठानले दिएको एम्वुलेन्स थन्काएर ए ग्रेडको ऐम्वुलेन्स भनी नयाँ खरिद गरे पनि सामानहरु गायव गरिएको उजुरीमा उल्लेख छ।

डा. पौडेल, डा. गौरव ढकालको मिलेमतोमा ट्रमा सेन्टरमा सिटी, एमआरआई गर्न आउने बिरामीलाई नीजि अस्पताल पठाउने र त्यहाँबाट कमिसन लिने गरेको उजुरी मन्त्रालयमा पुगेको थियो। कतिपय खरिदमा उनीहरूसँगै नर्सिंग निर्देशक सोचना सापकोटाले आफूनिकट व्यापारीलाई टेन्डर पर्ने गरी सामानको लगत तयार गर्ने गरेको मन्त्रालयमा पेस गरिएको उजुरीमा उल्लेख थियो। उता अस्पतालमा भर्ना भई अपरेशन गर्नु पर्ने बिरामीलाई आवश्यक औषधि, इम्पान्टहरू त्रिपुरेश्वरको ब्यापारी बोलाएर बेड बेडमा र अपरेशन कोठा अगाडि नै ब्यापार गरी कमिशन लिने गरेको पनि उल्लेख थियो।

राष्ट्रिय सतर्कता केन्द्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि प्रधानमन्त्री कार्यालयसम्म भ्रष्टाचार र अनियमितताको बारेमा उजुरी परेको थियो। केही गिरोहहरुको मिलोमतोमा शिक्षाध्यक्ष डा. सुबोध अधिकारी, डिन डा. पियुष दाहाल, ट्रमा निमित्त निर्देशक डा. पौडेलले अस्पतालको प्रशासनिक क्षेत्र बर्बाद पारेको बताइन्छ।

अस्पतालको खरिद एकाईमा समेत करोडौको अनियमितता भएको छ। खरीद प्रमुख भगवती थपलिया, सुव्वा श्याम बिक, निर्देशक डा. केदार सेन्चुरीले एक पैसामा ट्रलि, ह्विलचियर, बिपि सेट वेट मेसिनलगायत टेन्डर स्वीकृत गरी नमगाएको बरु अर्को नाममा फर्म खोली लाखौं रूपैंया महङ्गोमा किनेको बताइएको छ। यस्तै, बीस करोड पर्ने क्यान्सर बिरामी लाई सेकाउने मेसिन ४६ करोडमा किनेर कमिशन खाएको बताइन्छ।


प्रतिक्रिया दिनुहोस !