१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपालबाट भारतमा ट्यांकरबाटै इन्धन तस्करी



काठमाडौं : पछिल्लो समयमा नेपालबाट भारतमा ट्यांकरबाटै तेल तस्करी भइरहेको पाइएको छ। यसरी ट्यांकरमै इन्धन तस्करी हुनुको मुख्य कारण नेपालमा भन्दा भारतमा महँगो मूल्य पर्नु हो। इन्धन व्यवसायीका अनुसार नेपालमा भन्दा भारतमा डिजल प्रतिलिटर २५ रुपैयाँ महँगामा बिक्री हुने गरेको छ। यही लोभमा तस्करी मौलाएको हो। विराटनगरमा डिजल लोड गरी भारततर्फ जान लागेको ट्यांकर नियन्त्रणमा लिएसँगै भारतबाट आयात भएको इन्धन भारततिरै तस्करी हुने गरेको रहस्य बाहिर आएको छ।

शनिबार इन्धन लिनका लागि भारत जाने तयारीमा रहेको १ ख ५९१२ नम्बरको ट्याङ्कर जाँच गर्दा दुई हजार ६ सय ६० लिटर डिजल फेला परेको थियो। ट्याङ्करको दुई नम्बर च्याम्बरमा आधा लोड गरिएको अवस्थामा डिजेल भेटिएपछि नेपाल आयल निगम प्रदेश १ कार्यालय विराटनगरले मोरङ प्रहरीलाई खबर गरेको थियो। भारत अररिया जिल्ला मिरगन्जका चालक र सह–चालक २६ वर्षीय मोहमद सजाद र २१ वर्षीय इमरोज आलमलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गर्दा उनीहरूले डिजल तस्करी गरी भारत लैजाने तयारी गरेको खुलेको प्रहरीले जनाएको छ।

निगमले विराटनगर र बरौनीमा मात्रै लक खोल्ने चाबी रहेको बताउँदै आएको छ। तर बीच बाटोमा तेल अनलोड हुने भएका कारण चोरीमा गिरोह नै सक्रिय रहेको प्रहरीको आशंका छ। भारतमा इन्धन महँगो भएका कारण निगमले भारत जाने खाली ट्याङ्करमा पनि लक लगाउने गरेको थियो। शनिबार लक लगाउने क्रममा डिजेल लोड गरेको अवस्थामा भेटिएको नेपाल आयल निगम प्रदेश १ विराटनगरका प्रमुख नकुल भण्डारीले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !