१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

नेपाल समूहले बहिष्कार गर्यो कर्णाली प्रदेश संसदीय दलको बैठक



सुर्खेत । नेकपा एमालेको माधवकुमार नेपाल समूहले कर्णाली प्रदेश संसदीय दलको बैठक बहिष्कार गरेको छ । बुधबार एमाले संसदीय दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको दलको बैठक नेपाल समूहले बहिष्कार गरेको हो । बैठकमा सभामुखसहित संसदीय दलका २० सदस्यमध्ये केपी ओली समूहका १० सांसद उपस्थित रहेको दलका नेता कँडेलले जानकारी दिए । तर नेपाल समूहका ९ जना सांसद भने उपस्थित भएनन् । दलको बैठकबारे जानकारी भएपनि आफूहरु नेपाल समूहले काठमाडौंमा आयोजना गरेको राष्ट्रिय कार्यकर्ता भेलामा सहभागी हुन गएको सांसद सुशील थापाले बताए । तर दलका नेता यामलाल कँडेलको अध्यक्षतामा बसेको बुधबारको बैठकले भने संसदीय दलको बैठकमा अनुपस्थित ९ जना नेपाल समूहका सांसदलाई लिखित स्पष्टीकरण माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस !