१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

गम्भीर मोडमा अमेरिका-रुस सम्बन्ध, वासिङ्टनमा रहेका राजदूतलाई रुसले फिर्ता बोलायो



काठमाडौं । रुसले वासिङ्टनमा रहेका आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ। अमेरिकासँगको सम्बन्ध अँध्यारो गल्लीको अवस्थामा पुगेको भन्दै रुसी सरकारले अनाटोली एन्टोनोभलाई मस्को बोलाएको हो। अमेरिकी चुनावमा रुसले दखल दिएको आरोपकाबीच राष्ट्रपति जो बाइडनले भ्लादिमिर पुटिनले त्यसको मूल्य चुकाउनु पर्ने भनेपछि मस्कोले यस कदम चालेको हो। एबीसी न्यूजसँगको एउटा अन्तर्वार्तामा अमेरिकी राष्ट्रपतिले रुसले अमेरिकी चुनावी अभियानलाई कमजोर पार्ने प्रयास गरेको निष्कर्ष निकालेको एउटा अमेरिकी गुप्तचर प्रतिवेदनबारे प्रतिक्रिया जनाएका थिए । बाइडनले त्यसक्रममा पुटिन एउटा क्षति पुर्‍याउने व्यक्ति अर्थात् किलर रहेको आफूलाई लागेको बताएका थिए। जसमा पुटिनले चुनावी हस्तक्षेपका लागि अनुमति दिएको जनाइएको छ।

उक्त प्रतिवेदनमा बाइडनलाई बदनाम गर्न र डोनल्ड ट्रम्पलाई प्रोत्साहन गर्नेगरी थुप्रै उपायहरू अपनाएको उल्लेख छ। ती उपायहरूमा मतदान प्रणालीप्रतिको विश्वास कमजोर गराउने र अमेरिकामा विभाजनलाई थप चर्काउने सम्मका रहेको जनाइएको छ। उक्त प्रतिवेदनको निष्कर्षमा रुस वा अन्य कुनै देशले मतदान वा मतगणना प्रभावित पारेको कुनै प्रमाण नभएको जनाइएको छ। उक्त प्रतिवेदनको निष्कर्षका आधारमा अमेरिकाले अर्को सातासम्ममा रुसमाथि थप प्रतिबन्धहरू लगाउने ठानिएको छ। आफ्ना राजदूतलाई स्वदेश बोलाइएको बारे रुसी विदेश मन्त्रालयले भनेको छ, हाम्रा लागि सबैभन्दा महत्वपूर्ण कुरा भनेको कठिन मोडबाट गइरहेको रुस अमेरिका सम्बन्धलाई सच्याउने बाटो पहिचान गर्नु हो। वास्तविकताका आधारमा भन्नुपर्दा वासिङ्टनले त्यसलाई एउटा अँध्यारो गल्लीमा ल्याइदिएको छ । बाइडनले एबीसीसँगको अन्तर्वार्तामा गत ज्यानुअरीमा पुटिनसँग भएको वार्तामै चुनावी दखलका बिषयमा सम्भावित जबाफबारे चेतावनी दिएको बताएका छन्।

बीबीसीबाट ।


प्रतिक्रिया दिनुहोस !