Sunday, March 16, 2025

ट्रेन्डिङ :

पदाधिकारीविहीन भयो लोकसेवा आयोग, कर्मचारी छनोट प्रक्रिया प्रभावित

spot_img
spot_img

मंगलबारबाट लोकसेवा आयोगका पदाधिकारीहरूको कार्यकाल सकिएको छ । त्योसँगै सरकारी तथा अर्धसरकारी कार्यालयहरूमा कर्मचारी छनोट प्रक्रियामा प्रत्यक्ष प्रभाव परेको छ । पदाधिकारी नहुँदा पदपूर्तिको नयाँ विज्ञापन, परीक्षा सञ्चालन र नतिजा प्रकाशनको प्रक्रिया रोकिन्छ ।

विज्ञापन प्रकाशन, कच्चा प्रश्नपत्र तयारी, परिमार्जन, परीक्षा, उत्तरपुस्तिका परीक्षण र अन्तर्वार्ताका लागि विज्ञ छनोट गर्नुपर्ने प्रावधान छ । छनोट गर्ने अधिकार आयोगको पदाधिकारी बैठकलाई मात्रै छ । नयाँ पदाधिकारी नियुक्त नभइन्जेल यी सबै काम ठप्प हुने भएको छ ।

आयोगमा पदाधिकारी नहुँदा आन्तरिक र खुला प्रतिस्पर्धा, सुरक्षा निकाय तथा संगठित संस्थानतर्फका परीक्षा, उत्तरपुस्तिका परीक्षण र नतिजा प्रकाशन प्रभावित भएको छ ।

आयोगले यस वर्ष विभिन्न पदका दुई हजार पाँच सय १७ सिटका लागि विज्ञापन आह्वान गरेको थियो । जसमा सहसचिव, उपसचिव, शाखा अधिकृत, नायब सुब्बा र खरिदार तथा स्वास्थ्य सेवा समूहका ११औँ, नवौँ, आठौँ, सातौँ र पाँचौँ तहका पद रहेका छन । तर, यी विज्ञापनको परीक्षा अब अनिश्चित भएको छ ।

नेपाल प्रहरीतर्फ सहायक निरीक्षक र प्रहरी जवान, नेपाली सेनातर्फ लेखा, जमदार, पुजारी र हुद्दा, राष्ट्रिय वाणिज्य बैंक, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र, बिमा समिति, दुग्ध विकास संस्थान, नेपाल आयल निगम, नेपाल धितोपत्र बोर्डलगायतका परीक्षा सकिएको छ, तर नतिजा प्रकाशन हुन बाँकी छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, बढुवा समितिले सहसचिव, उपसचिव र शाखा अधिकृतमा बढुवा सिफारिसको काम भ्याएको छ । तर, अदालतमा रिट दायर भई विचाराधीन रहेका बढुवा भने फैसला नआउन्जेल बाँकी नै रहने सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता वसन्त अधिकारीले बताए ।

आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार गत वर्ष कोभिड– १९ का कारण धेरैजसो विज्ञापनका परीक्षा सञ्चालन हुन सकेनन् । गत वर्ष चार हजार सात सय ५४ सिटका लागि विज्ञापन आह्वान भएकामा चार लाख ५१ हजार पाँच सय २५ ले दरखास्त दिएका थिए । तर, अधिकांशको परीक्षा हुन नसक्दा तीन सय चारजना मात्र प्रक्रियाबाट छनोट भए । बाँकी पदहरूका लागि यो वर्ष परीक्षा भएका छन् । तीमध्ये एक हजार पाँच सय ७८ पदको नतिजा आउन बाँकी छ ।

त्यसमा शाखा अधिकृतमा सात सय ७१, कम्प्युटर इन्जिनियरमा ३२, नायब सुब्बामा पाँच सय ४८, विभिन्न उपसमूहका इन्जिनियर एक सय ५५, नासुसरह कृषि र पशु समूहतर्फ ५३ र स्वास्थ्य समूहका विभिन्न पदमा १९ सिटका लागि विज्ञापन आह्वान भएको थियो ।

आयोगका अनुसार गत वर्ष नै विज्ञापन प्रकाशन भए पनि कोभिड– १९ का कारण स्थगित भएका परीक्षामध्ये न्याय, प्रशासन र व्यवस्थापिका संसद् सेवाको संयुक्त र एकीकृत परीक्षा प्रणालीअन्तर्गत खरिदार पदको दोस्रो चरणको परीक्षा हुन बाँकी छ ।

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?