१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

यतीले गर्यो काठमाडौं–वनारस प्रुभिङ फ्लाइट, अन्तर्राष्ट्रिय उडानको अनुमति कुर्दै



यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानका लागि प्रुभिङ फ्लाइट गरेको छ । विगत २३ वर्षदेखि उडान सेवा गर्दै आएको यतीले बुधबार काठमाडौं–वनारस–काठमाडौंको परीक्षण उडान (प्रुभिङ फ्लाइट) सम्पन्न गरेको हो ।

दक्षिण पूर्वी एसिया र दक्षिण एसियाका मुलुकहरूमा चार्टर÷नन् सेड्युल फ्लाइट गर्ने उद्देश्यले नेपाल नागरिक उड्डयन प्राधिकरणमा केही महिनाअघि यतीले निवेदन दिएसँगै अन्तर्राष्ट्रिय उडानका लागि प्राधिकरणबाट गरीएको चरणबद्ध प्रक्रियाअन्तर्गत यो उडान गरिएको यती एयरलाइन्सका प्रमुख सुरक्षा अधिकृत तथा प्रवक्ता सुदर्शन बर्तौलाले जानकारी दिए ।

यस सँगै प्राधिकरणबाट यतीले अन्तर्राष्ट्रिय उडानको लागि प्राप्त गर्ने अनुमति अन्तिम चरणमा पुगेको छ । आजको उडानको प्रतिवेदन सँगै केही दिनभित्र यती एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको एओसी प्राप्त गर्ने जनाएको छ ।

यो परीक्षण उडान एयरलाइन्सका वरिष्ठ चालक रमोदकुमार श्रेष्ठ तथा प्रमोद पौडेल सहितको उडान दलले गरेका थिए । नाइनएन (एमएन कल साइन भएको एटिआर–७२ विमानले  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौँबाट विहान १०ः०७ बजे लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय हवाई अड्डा वाराणसी, भारत का लागी उडान भरेर बेलुका ५ः४८ मा पुनः काठमाडौँमा अवतरण गरेको थियो  ।

उक्त परीक्षण उडानमा प्राधिकरण तथा एयरलाइन्सका अफिसियलहरूको सहभागिता रहेको प्रवक्ता बर्तौलाले जानकारी दिए । उनले नयाँ बन्ने क्षेत्रीय विमानस्थललाई नजिकका अन्तर्राष्ट्रिय गन्तव्यलाई जोड्न र धार्मिक पर्यटनलाई भित्र्याउने उद्देश्यका साथ अन्तर्राष्ट्रिय उडान भर्न लागेको बताए ।
यतीले आगामी दिनमा मध्यम दूरीमा उडान गर्नका लागि मध्यम सिट जहाज भित्र्याउने लक्ष्यसमेत राखेको छ ।

यती एयरलाइन्स र यती गुप्रले ट्राभल एजेन्सी, ट्रेकिङ कम्पनी र होटलमार्फत स्वदेशी तथा विदेशी पर्यटनलाई सेवा प्रदान गर्दै नेपालको पर्यटन क्षेत्रमा योगदान दिँदै आएको र आगामी दिनमा चार्टर उडान मार्फत थप पर्यटक भित्र्याउने लक्ष्य राखेको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !