कोरोना संक्रमणको जोखिमलाई रोक्न स्वास्थ्य मन्त्रालयले भारतबाट नेपाल प्रवेश गर्ने नाकामा निगरानी बढाउनुपर्ने कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) लाई सुझाव दिएको छ । मन्त्रालयले विहिबार आठबुँदे निर्णयसहितको सुझाव पत्र सीसीएमसीलाई पठाएको हो ।
भारत, बेलायत, जर्मनी, फ्रान्स लगायत युरोपेली मुलुकमा बढेको भाइरस संक्रमणको जोखिम नेपालमा समेत बढेको पत्रमा जनाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आन्तरिक र अन्तर्राष्ट्रिय आगमन तथा प्रस्थान कक्षमा निगरानी बढाइ स्वास्थ्य परिक्षणमा सक्रियता बढाउन मन्त्रालयले सुझाव दिएको छ ।
संक्रमण बढ्ने सम्भावना भएकाले मन्त्रालयले पूर्वतयारी योजना बनाउने पत्रमा उल्लेख छ । सञ्चालनमा रहेका नेपाल-भारत सीमानाकालाई पुनरावलोकन गर्न र संक्रमण दर उच्च हुन पुगेका नाका घटाउनेतर्फ गृह मन्त्रालयले आवश्यक गृहकार्य गर्न पनि सुझाइएको छ ।
नाका स्वास्थ्य परीक्षणका मापदण्ड पूर्णरुपमा कार्यान्वयन गर्न लगाउने, शंकास्पद व्यक्तिको एन्टिजेन परिक्षण गर्ने, संक्रमितलाई होम आइसोलेसनमा लैजान जिल्ला संकट व्यवस्थापन केन्द्रलाई निर्देशन दिने निर्णय पनि मन्त्रालयले गरेको छ ।