Wednesday, March 19, 2025

ट्रेन्डिङ :

प्रधानमन्त्री र सभामुखबीच ७ महिनापछि भेटवार्ता

spot_img
spot_img

काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नीप्रसाद सापकोटाबीच सात महिनापछि भेटवार्ता भएको छ। औपचारिक कार्यक्रमहरुमा ‘हाइ–हेलो’मै सीमित रहँदै आएको दुई निकायका प्रमुखबीच आइतबार बालुवाटारमा एक्ला–एक्लै साढे दुई घण्टाभन्दा बढी कुराकानी भएको हो। बालुवाटार स्रोतका अनुसार बिहान ११ बजेदेखि साढे एक बजे पछिसम्म कुराकानी भएको हो। प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच यसअघि भदौको दोस्रो हप्ता बालुवाटारमा कुराकानी भएको थियो।

प्रधानमन्त्री र सभामुख बीचको भेट र कुराकानी नियमित जस्तै हुनुपर्ने भएपनि साविकको नेकपामा बढेको अन्तरकलहको असर उनीहरुको सम्बन्धमा पनि परेको थियो। नेकपा विवादका कारण पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रधानमन्त्री ओलीबीचको सम्बन्ध बिग्रिएसँगै प्रचण्ड निकट मानिने सभामुख सापकोटा र ओलीबीच पनि दूरी बढेको थियो। सापकोटा र ओलीको सम्बन्ध सार्वजनिक रुपमै तल्लो स्तरसम्मको गालीगलौज र आरोप प्रत्यारोपसम्म पुगेको थियो। सभामुखका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार उनीहरुबीच पुनःस्थापित सदन संचालनको विषयमा कुराकानी भएको हो। न्यौपानेले भने, ‘प्रधानमन्त्री र सभामुखबीच सात महिनापछि कुराकानी भएको हो। दुईजनाबीच खुलेरै कुराकानी भएको छ।’ प्रधानमन्त्री ओलीले गत पुस ५ गते प्रतिनिधसभा विघटन गरेपछि सम्बन्धमा थप दरार आएको थियो। विघटित संसद सर्वोच्च अदालतको फैसलाबाट फागुन ११ गते पुनःस्थापित भएको थियो। पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठक फागुन २३ गते बसेको थियो।

पुनःस्थापित संसद नियमित काममा फर्किनुपर्ने भएता पनि प्रधानमन्त्री र सरकारको असन्तुष्टिका कारण सदनको काम कारबाही सहज रुपमा अघि बढ्न सकेको छैन। पहिलो बैठकमा पेश हुनुपर्ने सदनमा पुगेका सात वटा अध्यादेश अझै पेश हुन सकेका छैनन्। प्रधानमन्त्री ओलीले सदनमा अध्यादेश पेश गर्न नदिइएको आरोप लगाउँदै आएका छन्। प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भएको आइतबारको छलफलपछि संसद नियमित काममा फर्किन सक्ने अपेक्षा गरिएको छ। न्यौपानेले भने, ‘आज भएको भेटवार्तापछि सदन नियमित काममा फर्कनसक्छ।’

spot_img
spot_img

Leave a Reply

spot_img

ताजा समाचार

spot_img

चर्चित समाचार

spot_img

हेर्न छुटाउनु भयो कि ?