१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

अब ट्राफिक जरीवाना तिर्न लाइन बस्नुनपर्ने, इसेवाबाटै भुक्तानी गर्न मिल्ने



महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवाना सहज तरिकाले अनलाइनमार्फत भुक्तानी गर्न सक्ने प्रणालीको विस्तार गरेको छ ।

महाशाखाले शुक्रबार फोन पे प्रा.लि. र नेपाल क्लियरिङ हाउस लिमिटेडसँग सम्झौता गरी सेवाग्राहीले आफ्नो बैंक खातामार्फत सीधै जरिवाना तिर्न सक्ने प्रणालीको विस्तार गरेको हो । यसअघि नै सुरुवात भएको अनलाइन भुक्तानीको सेवालाई सबै सेवाग्राहीको पहुँचमा पुर्‍याउने उद्देश्यले महाशाखाले विभिन्न भुक्तानी प्रदायक कम्पनीहरूसँग सम्झौता गर्दै आएको छ ।

सम्झौतापत्रमा महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराई, फोन पेको तर्फबाट दिवसकुमार सापकोटा र नेपाल क्लियरिङ हाउस (कनेक्ट आइपिएस)को तर्फबाट मुन्नी राजभण्डारीले हस्ताक्षर गरे । यससँगै सेवाग्राहीले ४५ वटा बैंक तथा वित्तीय संस्था र सातवटा अनलाइन भुक्तानी सेवा प्रदायक संस्थाबाट सीधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने वरिष्ठ प्रहरी उपरीक्षक भट्टराईले बताए ।

ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टिभिआरएस), नेपाल सरकारको राजस्व व्यवस्थापन सूचना प्रणाली (आरआइएमएस) र सेवा प्रदायक संस्थाहरूबीचमा आबद्ध भई रियल टाइममा सम्बन्धित बैंकको खातामार्फत भुक्तान हुने गरी प्रणाली विकास गरेको जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !