१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

एमाले र माओवादीको एकता तेल नभएको पिना जस्तै : विश्वप्रकाश शर्मा



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दुई कम्युनिस्ट पार्टीको एकता तोरी र कोदोको जस्तो भएको टिप्पणी गरेका छन् । काठमाडौंमा शुक्रबार नेपाल निजामती कर्मचारी युनियन संघको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्दै उनले नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता तोरी र कोदोको जस्तो भएको बताएका हुन् । उनले कोदो र तोरीले भिन्नाभिन्नै विशेषता बोकेको भए पनि एकैठाउँमा राखेर पेल्दा तेल नभई पिना मात्रै निस्कने भएकाले तीन वर्षको अवधिमा सिंहदरबारबाट पिना मात्रै निस्किएको टिप्पणी गरे । त्यही सरकारका मन्त्रीले पनि मौरी र झिँगाको भेद नदेखेको भन्दै मौरी भएर कर्मशील ढंगले सेवा प्रदान गर्न कर्मचारीहरूलाई सुझाब दिए ।

उनले भने, ‘दुईवटैले मुठ्ठी बटारेका छन् । दुईवटैले लालसलाम भनेका छन् । उस्तै–उस्तै लाग्यो । उहाँहरूले एकता गर्नुभयो । त्यो तोरी र कोदोको एकताजस्तो थियो । एउटा समयमा पुगेपछि यसरी नै टुंगिनु थियो । तोरी र कोदो मिलाएर तेल निकाल्न खोज्यो भने तेल निस्किँदैन । पिना मात्रै निस्कन्छ । तीन वर्षमा सिंहदरबारबाट त्यही पिना मात्रै निस्किएको छ ओलीजीको शासनबाट । त्यसैगरी उहाँको मन्त्रीजीले पनि मौरी र झिँगाको भेद देख्नुभएन । म तपाईंहरूलाई आग्रह गर्दछु– चित्त दुखाएर बस्ने काम छैन । बरु जसको दृष्टिदोष छ, तिनलाई बदल्नेछौँ र मौरी भएर यो मुलुकको निर्माण गर्नलाई कर्मचारीतन्त्रले काम गर्नेछौँ भनेर संकल्प लिनुपर्छ ।’


प्रतिक्रिया दिनुहोस !