१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

आफ्नै छात्रामाथि प्रिन्सिपलको यौन दुर्व्यवहार, एक महिनादेखि घटना गुपचुप पारेको खुलासा



विराटनगर : मोरङको बेलबारी नगरपालिका–२ लालभित्तीमा रहेको शिक्षा सन्देश म्यानेजमेन्ट कलेजका प्रिन्सिपलले छात्रामाथि गरेको यौन दुर्व्यवहारलाई ‘गुपचुप’ पारिएको घटना बाहिर आएको छ । शैक्षिक भ्रमणमा काठमाडौं लगेर प्रिन्सिपल राजेश खत्रीले कक्षा १२ मा अध्ययनरत १६ वर्षीया छात्रामाथि यौन दुर्व्यवहार गरेको घटना झन्डै एक महिनादेखि ‘गुपचुप’ राखिएको हो । काठमाडौंबाट फर्किएर कलेजमा पुगेपछि पनि नेपाली कांग्रेस बेलबारी नगर समितिका सचिवसमेत रहेका खत्रीले पुनः दुर्व्यवहार गरेको पीडितको भनाइ छ । कलेज सञ्चालक र गाउँकै अगुवाको धम्की एवं दबाबका कारण लामो समयसम्म पीडित पक्ष न्याय पाउनबाट बञ्चित भइरहेको पाइएको छ । सामसुम पार्ने प्रयासस्वरूप घटनालाई गोप्य राख्न दबाब दिएपछि न्याय पाउन नसक्दा पीडित परिवार झन् तनाव झेलिरहेको छ । कलेज सञ्चालक समितिका अध्यक्ष लक्ष्मण थापा, उपाध्यक्ष खगेन्द्रप्रसाद न्यौपाने तथा शिक्षकहरु र गाउँकै अगुवाको दबाबमा पीडित पक्ष कानुनी कारबाहीमा जान नसकिरहेको स्थानीय बासिन्दाले बताए । उनीहरूका अनुसार पीडित पक्षलाई विभिन्न डरत्रास देखाउने र धम्की दिने काम भइरहेको छ ।

कक्षा १२ को होटल म्यानेजमेन्ट विषयमा अध्ययनरत ३६ जना विद्यार्थीलाई कलेजले प्रति विद्यार्थी नौ हजार रुपैयाँ उठाएर गत चैत ११ गते शैक्षिक भ्रमणका लागि काठमाडौं लगेको थियो । कलेजकै को १ क ३३३७ नम्बरको बसमा लगेर गौशालास्थित होटल मन्दाकिनीमा राख्दै विभिन्न ठाउँमा भ्रमण गराइ प्रयोगात्मक अभ्यासमा पनि सहभागी गराइएको एक विद्यार्थीले बताए । भ्रमणमा कलेजका अनुशासन इन्चार्ज रोशन परियार र शिद्धार्थ घिमिरे विद्यार्थीसँग बसमै काठमाडौं गए पनि प्रिन्सिपल खत्री भने थिएनन् ।

काठमाडौंमै भेटिएका उनले चैत १३ गते छात्रामाथि यौन दुर्व्यवहार गरेको पीडित छात्रासँगै भ्रमणमा गएकी उनकी साथीले बताइन् । उनका अनुसार दिउँसो स्वयम्भू घुमेर फर्किने क्रममा लडेर छात्राको खुट्टामा हिँड्नै नहुने गरी समस्या भएको थियो । ‘स्वयम्भूबाट फर्किएपछि सबै विद्यार्थी वौद्धतिर भ्रमणमा जाने कार्यक्रम थियो । साथी जानसक्ने अवस्थामा नभएकाले दुखेको खुट्टा मालिस गरिदिएर हामी चैँ गयौँ,’ उनले भनिन्, ‘प्रिन्सिपल पनि हामीसँग जानु भएन । तर फर्किएर आएपछि मलाई प्रिन्सिपलले यौन दुर्व्यवहार गर्नुभयो भनेर साथीले सुनाइन् ।’

उनका अनुसार होटलमै सुतिरहेका बेला ढोका खोल्न लगाउँदै कोठभित्र छिरेर प्रिन्सिपल खत्रीले यौन दुर्व्यवहार गरेका हुन् । ‘कोठाभित्र छिरेपछि दुखेको खुट्टा सुमसुम्याएर शरीरका संवेदनशील अंग चलाउँदै अँगालो हालेर मोबाइलमा सेल्फी खिच्न खोजेको पाइयो,’ उनले भनिन्, ‘मोबाइलको ‘स्टोरेज फुल’ भएकाले फोटो खिच्न नपाएपछि हातमा समातेर प्रिन्सिपलले ऐना अगाडि लग्दै उचाई नापौँ भनेरसँगै उभ्याउनु भएछ ।’ उनका अनुसार संवेदनशील अंगमा हात लगाउँदै गाला टँसाउन थालेसँगै प्रतिकार गरेपछि प्रिन्सिपल खत्री यो कुरा कसैलाई नभन्नु भन्दै निस्किएर गएको साथीले सुनाएकी छन् ।

पीडित छात्राले घटना भएकै दिन सबै कुरा घुमफिरमा फर्किएका साथीहरुलाई सुनाएकी थिइन् । त्यतिबेलै प्रश्न गर्दा प्रिन्सिपल खत्रीले गल्ती भएको भन्दै कुरा बाहिर नल्याउन दबाब दिएको अरु विद्यार्थीले बताए । पीडित छात्राले साथीहरुमार्फत राति १२ बजेतिर फोन गरेर अभिभावकलाई घटनाको जानकारी गराइन् । भ्रमणमा गएको टोली पनि १५ गते बिहान आइपुग्यो । त्यसपछि कलेज प्रशासनले बोलाएको छलफलमा पनि खत्रीले उल्टै कोठाभित्र लगेर दुव्र्यवहार गरेको पीडित छात्राका बाबुले बताए । कलेजले शैक्षिक भ्रमणमा लग्ने भनेपछि जान दिँदा छोरी उल्टै जघन्य अपराधबाट पीडित बनेर फर्किनुपर्ने अवस्था आएकाले केही सोच्नै सक्ने अवस्थामा नरहेको उनको गुनासो छ ।

उनले गल्ती स्वीकार गर्दै माफी मागेको अडियो रेकर्ड पनि सार्वजनिक भएको छ । रेकर्डमा छात्रा बसेको कोठामा आफू गएर गल्ती गरेको भन्दै खत्रीले यसलाई ठूलो घटना नबनाइदिन बारम्बार आग्रह गरेको सुन्न सकिन्छ । कसैलाई सुनाएमा र कतै उजुरी गरेमा राम्रो नहुने चेतावनीपूर्ण धम्की कलेज प्रशासन, स्थानीय अगुवा र राजनैतिक दलका नेताबाट आइरहँदा आफूहरु झन् अप्ठेरोमा परेको गुनासो उनको छ ।

सञ्चालक समितिको बैठकले प्रिन्सिपल खत्री र अनुशासन प्रमुख परियारलाई कागज गरेरै बर्खास्त गरिएको कलेज प्रशासनले जनाएको छ । तर कागजमा यौन दुर्व्यवहारको विषय उल्लेख गरिएको छैन । शैक्षिक संस्थाको प्रतिष्ठामा आँच आउने गरी नैतिकहीन आचारण देखाएर अनुशासनहीन काम गरेको र उक्त कुरा स्वीकार पनि गरिसकेका कारण प्रिन्सिपल खत्री तथा घटना ढाकछोप गरेको भन्दै अनुशासन प्रमुख परियारलाई बर्खास्त गरिएको कागजमा उल्लेख छ ।

पीडित परिवार न्याय माग्दै र प्रिन्सिपल तथा घटना ढाकछोप गर्नेलाई कारबाहीको माग गर्दै बुधबार इलाका प्रहरी कार्यालय बेलबारी पुगेको थियो । प्रहरीले किटानी जाहेरी दिनू कारबाही हुन्छ भनेपछि फर्किएर घरतिर गएको पीडित परिवारलाई घटना मिलाउन खोज्नेहरुले प्रहरी कार्यालयमा जान दिएका छैनन् । बेलबारीका प्रहरी निरीक्षक सरोज खनालले घटनाका बारेमा कुनै जानकारी नआएको बताए ।


प्रतिक्रिया दिनुहोस !