१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहोरा जेल चलान हुने



रामेछाप : जिल्लाको लिखु तामाकोसी गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ तिल्पुङका वडाध्यक्ष सुवास बोहोरा जेल चलान हुने भएका छन् । उपाध्यक्ष दाहाल र वडाध्यक्ष बोहोरालाई काठमाडौं जिल्ला अदालतले बिहीबार कैद फैसला सुनाएको हो । जिल्ला अदालत काठमाडौंका जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलासले गाउँपालिकाकी उपाध्यक्ष दाहाललाई र पौडेल दुवैलाई एक–एक वर्ष कैद र १० हजार जरिवाना तोकेको छ ।

२०७६ साल साउन २३ गते काठमाडौंको बौद्धमा लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्कासँग सोही गाउँपालिका वडा नम्बर ७ तिल्पुङका लोप्साङ लामा र अमृत तामाङले दुई करोड रुपैयाँ चन्दा माग गरेका थिए । पालिकाका अध्यक्ष खड्कासँग चन्दा रकम माग गर्न मुख्य नाइकेका रूपमा सोही गाउँपालिकाकी उपाध्यक्ष दीपशिखा दाहाल र वडा नम्बर ७ का वडाध्यक्ष सुवास बोहोराले लोप्साङ लामा र अमृत तामाङलाई प्रयोग गरेका थिए ।

उनीहरूले माग गरेअनुसारको चन्दा रकम नदिएको खण्डमा पालिकाका अध्यक्ष खड्का र उनका परिवारका सदस्यहरूलाई समेत मार्नेसम्मको धम्की दिन लगाउने मुख्य योजनाकारका रूपमा लिखु गाउँपालिकाकी उपाध्यक्ष दाहाल र तिल्पुङका वडाध्यक्ष बोहोराको प्रत्यक्ष संलग्नता रहेको सबुत प्रमाणका आधारमा जिल्ला अदालत काठमाडौंले उनीहरूलाई कैद र जरिवाना दुवै सजाय हुने गरी फैसला सुनाएको हो । उनीहरू दुवैजना नेकपा एमालेबाट निर्वाचित पदाधिकारी हुन् । सो घटनामा प्रत्यक्ष संलग्न भएका लिखु तामाकोसी गाउँपालिका वडा नम्बर ७ का ९मिलन० भनिने लोप्साङ लामालाई ६ वर्ष कैद र ६० हजार रुपैयाँ जरिवाना र अर्का अमृत तामाङलाई ३ वर्ष कैद र ३० हजार रुपैयाँ जरिवाना हुने फैसला जिल्ला अदालतले गरेको हो ।


प्रतिक्रिया दिनुहोस !