१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

कोरोना बिरामीले भरिभराउ बन्यो सेती प्रादेशिक अस्पताल



काठमाडौं । कोरोना संक्रमणको दोस्रो लहर बढेसँगै कैलालीको सेती प्रादेशिक कोभिड–१९ अस्पतालमा ‘कोभिड–१९’का बिरामीको संख्या ह्वात्तै बढेको छ । ५५ बेड क्षमताको सो अस्पतालमा ५२ जना कोरोना संक्रमित भर्ना भएका छन् । अस्पतालको आइसियूमा १५ जना बिरामी राख्ने क्षमता रहेकोमा ११ जना छन् भने भेन्टिलेटरमा ३ जनालाई राखिएको अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । उनका अनुसार अस्पतालका २५ जना बिरामी अक्सिजन सपोर्टमा छन् । संक्रमणको दोस्रो लहर बढेयता अधिकांश बिरामीलाई अक्सिजन, भेन्टिलेटर आवश्यक पर्ने देखिएको छ । यो अस्पतालमा कोरोना संक्रमणबाट निको हुने दर ९४ प्रतिशत छ भने मृत्युदर ३.५ प्रतिशत रहेको अस्पताल प्रशासनले जनाएको छ । करिब करिब पूर्ण क्षमतामा सञ्चालन भएको यो अस्पतालमा नयाँ बिरामी भर्ना गर्नसक्ने अवस्था छैन । संक्रमण दर बढ्दै गएमा नयाँ बिरामीको उपचार कहाँ र कसरी गर्ने भन्नेबारे अन्योल छ ।

गत साउनमा प्रदेश सरकारले बिरामीको खानबस्न र उपचारका लागि भन्दै सेती अस्पताललाई ३४ लाख रकम दिएको सेती प्रादेशिक अस्पताल धनगढीका लेखा अधिकृत मदन महराले बताए । अहिलेसम्म बिरामीको सबै व्यवस्थापन सोही रकमबाट भईरहेको उनले बताए । बिरामीको संख्या बढ्दै जाने हो भने सोही अनुसारमा बजेटको समेत व्यवस्था गर्नुपर्ने उनको भनाइ छ । प्रतिव्यक्ति खाना, फलफूलमा दैनिक ४७५ रुपैयाँ खर्च भईरहेको उनले बताए । उनका अनुसार बिरामीलाई बिहान नास्ता, दुई छाक खाना र दिउँसो फलफूल दिने गरिएको छ । सामान्य खालका बिरामीको उपचारमा दैनिक ३ हजार र जटिल खालका बिरामीको उपचार खर्च ४ हजारभन्दा माथि नै लाग्ने गरेको उनको भनाइ छ ।


प्रतिक्रिया दिनुहोस !