१२ श्रावण २०८१, शनिबार | Sat Jul 27 2024

Logo

उपनिर्वाचनका लागि ५ राजनीतिक दल दर्ता, एमालेले पायो सूर्य चिन्ह



काठमाडौं : वागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका लागि पाँच राजनीतिक दल दर्ता भएका छन् । जेठ ६ गतेका लागि तय गरिएको उपनिर्वाचनका लागि पाँच दल दर्ता भएको निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनका लागि एमाले,काँग्रेस,माओवादी केन्द्र,राप्रपा र नेमकिपाले दल दर्ता गराएका हुन् । आयोगले बिहीबार राजनीतिक दल दर्ता टुंग्याउँदै निर्वाचन चिह्न, क्रम निर्धारण तथा मतदाता नामावलीका विषयमा समेत निर्णय गरेको छ । आयोगका अनुसार नेकपा (एमाले) लाई सूर्य चिन्ह प्रदान गर्दै पहिलो नम्बरमा दर्ता गरिएको छ । कांग्रेसले रूख चिह्न सहित दोस्रो नम्बरमा दर्ता गरेको छ ।

तेस्रो नम्बरमा दर्ता भएको नेकपा (माओवादी केन्द्र) ले गोलाकारभित्र हँसिया हथौडा चिन्ह पाएको छ । त्यस्तै चौथो नम्बरमा दर्ता भएको राष्ट्रिय प्रजातन्त्र पार्टीलाई हलो चिन्ह दिइएको छ । पाँचौं नम्बरमा दर्ता भएको नेपाल मजदुर किसान पार्टीलाई मादल चिन्ह आयोगले प्रदान गरेको छ। प्रदेशसभा सदस्य ११० जना र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख, उपप्रमुख २३८ जना गरी जम्मा ३४८ जना मतदाता रहने आयोगले जनाएको छ । वर्तमान गृहमन्त्री रामबहादुर थापालाई नेकपा माओवादी केन्द्रले निलम्बन गरेपछि रिक्त राष्ट्रियसभा सदस्यको एक पदमा उपनिर्वाचन हुन लागेको हो ।


प्रतिक्रिया दिनुहोस !